काठमाडौं, जेठ २६— दोस्रो चरणको निर्वाचन नजिकै गर्दा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ता धमाधम पक्राउ परीरहेका छन् । नेकपा केन्द्रीय कार्यालयका सचिव भेषराजका अनुसार देशभरबाट झन्डै दुई सयको हाराहारीमा नेता–कार्यकर्तालाई पक्राउ गरिएको छ ।
स्थानीय तह निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको उनीहरूलाई सरकारले निर्वाचन बिथोल्न सक्ने आशंकामा जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न थालेको बताइको छ । पक्राउ परेका नेता–कार्यकर्तालाई सार्वजनिक अपराध र सजाय ऐन २०२७ का आधारमा हिरासतमा राखिएको छ । धरौटी बुझाएपनी पुनः पक्राउ गर्ने, एउटा जिल्लाबाट अर्को जिल्लामा सारेर फेरि मुद्दा लगाउने गरिएको नेकपाको गुनासो छ ।
सरकारको यस कदमको मानवअधिकारकर्मीले पनी विरोध गरीरहेका छन् । मानवअधिकारकर्मीका अनुुसार स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, राजनीतिक आस्था राख्न पाउने मौलिक अधिकारको हनन हुने गरी सरकारले विप्लव नेतृत्वको नेकपाका नेता–कार्यकर्तामाथि अन्याय गरेको छ ।
नेकपाका राप्ती ब्युरो इन्चार्ज केशवबहादुर बाठा, बन्धु चन्द, चन्द्रबहादुर खड्का २४ जेठमा पक्राउ परेका थिए । प्युठानको तिरामबाट उनीहरूलाई पक्राउ गरिएको नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा विरहीले बताउनुभयो । ‘घरमा पार्टीका नेताहरूसँग छलफल गरेर बसिरहेका वेला उहाँहरूलाई धरपकड गरेर प्रक्राउ गरिएको छ शर्माले बताएनुभयो । सोही स्थानबाट १४ जनालाई प्रक्राउ गरिएको नेकपाले जनाएको छ ।
हालसम्म बर्दिया, रुकुम, काभ्रे, चितवन, सिन्धुली, महोत्तरी, दैलेख, ललितपुर, कास्की, नवलपरासी, काठमाडौं, दोलखा, दाङ, सल्यान, धादिङ, नुवाकोट, सुनसरी, मोरङ, जुम्ला, पर्वत, तनहुँ, बाग्लुङ र म्याग्दीबाट आफ्ना नेता–कार्यकर्ता पक्राउ गरिएको नेकपाको केन्द्रीय कार्यालयले जनाएको छ ।








