काठमाडौँ, २६ वैशाख – स्थानीय तहको निर्वाचन सात दिनभित्र पसिसकेको छ । उमेदवारहरूमा चुनावी चटारो वैशाखको गर्मी भन्दा चर्को छ । २० वर्षपछि स्थानीयस्तरमा छाएको चुनावी धूपले खडेरीग्रस्त गाउँको राजनीतिमा आशाका पालुवा पलाउने त भइहाल्यो । उमेदवारहरूमा पनि खुसीको बेग्लै रौनक छाएको छ । त्यसो त उमेदवार र नेता–कार्यकर्ताहरू अहिले जनताको घर–दैलोमा भोट माग्न व्यस्त छन् । २० वर्षपछि स्थानीय चुनाव हुन लागेकाले प्रचारशैली पनि पुरातन धारबाट खासै माथि उठ्न नसकेको प्रतीत हुन्छ ।
माइकिङ, घर–दैलो अबिर–केसरीले चुनाव चिह्न बनाउने नाचगान गरेर भोट माग्ने पुरानै ढर्रा हुन् । सूचना र प्रविधिमा आएको बहुआयामिक परिर्वतनले चुनावी प्रचारलाई शैलीलाई धेरै प्रभावित पार्न सकेको देखिँदैन । एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगश भट्टराइको कुरा मान्ने हो भने उमेदवारहरू अझै पूर्ण प्रविधिमा आश्रित भइहाल्ने अवस्था छैनन् । हामी संक्रमणको फेज’मै छौँ उनले स्वीकारे पुरानो प्रचारशैलीलाई छोडी हाल्ने अवस्था पनि छैन नयाँमा पूर्ण रूपमा आश्रित हुन सक्ने अवस्था पनि छैन । सम्पूर्ण मतदाता प्रविधिसँग जोडिइनसकेकाले पुरातन प्रचारशैलीलाई नै अवलम्बन गर्नुपरेको उनको भनाइ थियो । भित्तेलेखन र पोष्टर टाँस्न निर्वाचन आयोगले नै निषेध गरेकाले गाउँ–सहर कुरूप हुन पाएनन् । तथापि त्यसको ठाउँ तुलन व्यानरले ओगटेका छन् । त्यस्तै सामाजिक सञ्जाल (फेसबुक, ट्विटर) का भित्तो रंगिएका छन् प्रचार सामग्री टाँसिएका छन् । त्यतिमात्र होइन कतिपय नेता र उमेदवारका फेसबुक पेजहरू ‘स्पोन्सर’ गरिएका छन् । र त्यहाँ उनीहरूले आफ्ना प्रतिवद्धताहरू एक पछि अर्को गर्दै पोष्ट गरेका छन् । पछिल्लो समयमा सामाजिक सञ्जाल बढी प्रभावकारी भएको छ । अधिकांश युवा सामाजिक सञ्जालमा पहुँच राख्छन् उनीहरूलाई लक्षित गरेर उमेदवार तथा पार्टीले फेसबुक, ट्विटर, युट्युव च्यानल प्रयोगमा जोड दिएको हो भट्टराईले स्पष्टिकरण दिए ।
एमालेको फेसबुक लाइभ
एमालेको सामाजिक सञ्जालमा उपस्थिति राम्रै छ । ३० लाख संगठित सदस्य दाबी गर्ने एमालेको फेसबुक लाइक ९५ हजार छ । र एमालेले पेज प्रायोजन गरिएको छ । स्थानीय निर्वाचनलाई लक्षित गरेर एमालेले हरेक दिन फेसबुक लाइभ गर्न थालेको छ । आइतबार प्रदीप ज्ञवालीले फेसबुक कुराकानीमार्फत पार्टीको घोषणापत्र र चुनावी तालमेलका विषयमा प्रकाश पार्नुभयो सोमबार घनश्याम भुसाल लाइभमा आउनुहुनेछ भट्टराई जानकारी दिए । फेसबुक लाइभमार्फत हरेकदिन ५० हजार युवलाई जोड्ने एमाले लक्ष्य छ । त्यस्तै युट्युव च्यानलमा पनि एमालेको उपस्थिति राम्रै छ । चुनावलाई लक्षित गरेर बद्रि पंगेनीले गाएको मै पनि एमाले सही पनि एमाले बोलको गीत युट्युवमा ६ लाख पटक हेरिएको छ भने काग्रेस र माओवादी केन्द्रको चुनावी गीत क्रमशः एक÷एक लाख पटक हेरिएको छ ।
कांग्रेस पनि कम छैन
घोषणापत्रलाई इन्फोग्राफ्स बनाएर प्रस्तुत गर्ने र सामाजिक सञ्जालमा पार्टीका प्रतिवद्धता सार्वजनिक गर्न कांग्रेस पनि पछि परेको छैन । अधिकांश उमेदवारका फेसबुक खाता छ । कतिपयले ‘स्पोन्सर’ नै गरेका छन् । र निर्वाचनलाई लक्षित गरि स्थापना गरिएको मिडिया डेस्क र सचिवालय प्रविधि मैत्री रहेको कांग्रेसको दाबी छ । उमेदवारहरूले आफ्ना प्रतिवद्धता संकल्पपत्रका रूपमा सामाजिक सञ्जालमा सेयर गरिरहेको र त्यसको उल्लेख्य प्रभाव परेको कांग्रेस नेता रमेश लेखक बताउँछन् । उनी भन्छन्, “सामाजिक सञ्जालको प्रयोगमा हामीले जोड दिएका छौँ । सामाजिक सञ्जालमा पनि नेपाली कांग्रेसको पक्षमा उत्साहजनक अवस्था देखिएको छ । जनमत र जनलहर देखिएको छ । यसबाट कांग्रेस उत्साहित छ ।
माओवादी केन्द्रको नारा काम गर्नेलाई चुनौ, गफ गर्नेलाइ सुनौँ
सत्तारूढ दल माओवादी केन्द्रको उपस्थिति पनि सामाजिक सञ्जालमा उल्लेख्य नै छ । ऊर्जामन्त्री जनार्दन शर्माको नेतृत्त्वमा लोडसेडिङ हटेको विषयलाई उनीहरूले प्रमुख रूपमा उठाएका छन् । त्यस्तै आर्थिक वृद्धि, न्यून मूल्यवृद्धि, वैदेशिक लगानी १४ खर्ब, संविधान कार्यान्वयन, स्थानीय निर्वाचनआदि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा भएको भन्दै तीन विषयलाई सामाजिक सञ्जालमा बहसको विषय बनाएका छन् । र एमालेको राष्ट्रवाद र विशेष गरेर जनआन्दोलनताका शान्तिपूर्ण जनआन्दोलनद्वारा गणतन्त्र स्थपना गर्ने कुरा बयलगाडा चढेर अमेरिका जानुजस्तो भएको भन्ने एमाले अध्यक्ष ओलीको भनाइलाई माओवादी केन्द्रका कार्यकर्ताले भिडियो बनाएर प्रचार गरिरहेका छन् । र सामाजिक सञ्जालमा त्यो बढी लाइक सेयर भएका छन् ।
राप्रपा पनि फेसबुक लाइभमा
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि शनिबारदेखि फेसबुक लाइभमार्फत अन्तक्र्रिया गर्दै आएको छ । पार्टी अध्यक्ष कमल थापा नै प्रत्यक्ष कुराकानीमा आउने कार्यक्रम हरेक दिन साँझ ६–७ सम्म हुने पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । हामी कोहीभन्दा कम छैनौँ फेसबुक, ट्विर, युट्युवमा पार्टीको उपस्थिति प्रभावशाली छ । त्यस्तै राप्रपा नेतृ रेखा थापाका ३२ लाख फ्यान फलोअर भएको पेज त्यस्तै कोमल वली र पार्टी अध्यक्ष कमल थापा स्वयम्को फेसबुक र ट्विटर एकाउन्ट राप्रपाको प्रचारको थलो बनेका छन् । हामी दैनिक पार्टीका गतिबिधि चुनावको घोषणापत्र र अन्य प्रचारका सामग्रीहरू फेसबुक ट्विटरमा पोष्ट गर्छौं । त्यसले प्रचारमा महत्त्वपूर्ण सहयोग पु¥याएका छन् । त्यस्तै राप्रपाले घोषणापत्र सार्वजनिक समारोह पनि उच्च प्रविधियुक्त (हाइटेक) बनाएको थियो । र अहिले घोषणापत्रमा उल्लेख गरिएको बुँदा समेटिएको इन्फोग्राफ्स बनाएर सामाजिक सञ्जालमा अपलोड गरिएको श्रेष्ठको भनाइ छ ।








