सन्यासी विनोद खन्ना

७० वर्षको उमेरमा निधन भएका लोकप्रिय बलिउड अभिनेता विनोद खन्ना लामो समय देखि ब्लड क्यान्सर पीडित थिए । लाखौँ प्रशंसक कमाएका खन्नाले सफलताको शिखरमा पुग्दै गर्दा सन्यास लिएका थिए जतिबेला अमिताभ बच्चन र खन्नाको जोडी बलिउडमा खूब जमेको थियो । यदि उनले सन्न्यास नलिएका भए उनी पनि अमिताभजस्तै बलिउडका महानायक हुन्थे भन्ने धारणा बलिउड फ्यानहरुको छ ।

अध्यात्मप्रति बाल्यकालदेखि नै उनि गहिरो लगाव राख्थे । सात-आठ वर्षको उमेरदेखिनै साधुहरूसँग हिँड्ने उनी रजनीश ओशोप्रति प्रभावित भएका थिए त्यसैले पुणे आश्रममा पुगिरहन्थे । आफ्ना कतिपय फिल्मको सुटिङ सेड्युलसमेत उनी पुणेमै राख्ने गर्थे । सन् १९७५ मा घरबार, करिअर सबै छोडेर ओशोको भक्त बन्ने उनको निर्णयले बलिउडका साथसाथै यसका फ्यानहरलाई पनि अचम्मित तुल्यायो । उनले आफ्ना सयौँ जोर सुट, कपडा, जुत्तालगायत अन्य सामान दान दिए ।उनको यो निर्णय संगै उनी लगभग चार-पाँच वर्षजति फिल्मी संसारबाट टाढा भए र ओशोका अत्यन्त निकट बन्न पुगे । आश्रममा उनलाई ‘सेक्सी सन्न्यासी’ भन्ने गरिन्थ्यो ।

सुरुमा उनले गेरु रङको पहिरन लगाए, लामो समयसम्म पुणे आश्रममा बसेपछि आश्रमले निर्धारित गरेको कलेजी पहिरन लगाए । यतिबेला सम्म उनि ओशोको निकट भैसकेका थिए ।त्यसपछि उनी ओशोसँग अमेरिका गए । त्यहाँ उनले आश्रममा जुठा भाँडा माझ्ने र शौचालय सफा गर्ने समेत गरे । उनी ओशोको व्यक्तिगत बगैँचामा माली बने । अमेरिकी सरकारले ओशोको आश्रम बन्द गराएपछि उनी भारत फर्किए ।

कुनै बेला परिवारलाई समय दिन उनि आइतवार काम गर्दैनथे । यसो गर्ने उनी शशि कपुरपछि दोस्रो कलाकार थिए । उनले सन्यासी लिएसंगै बलिउडको शिखरमा पुग्ने अवसर त गुमाए, आफ्नो पारिवारिक जीवन समेत अस्थव्यस्थ बनाए । सन्यासी  जीवनबाट रहर पुगेपछि विनोद फेरि सांसारिक जीवनमा फर्किए पनि त्यतिबेलासम्म उनकी श्रीमतीले सम्बन्ध विच्छेद गर्ने निर्णय गरिसकेकी थिइन् । सन् १९८७ मा ‘इन्साफ’ फिल्मबाट उनी पुन बलिउडमा प्रवेष गरेका थिए ।

सम्बन्धित शिर्षकहरु