काठमाडौं, २२ वैशाख– बहुचर्चित ओबर सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा तीन मन्त्री बेइजिङ जाने भएका छन् । मे १४ र १५ मा बेइजिङमा हुन लागेको वान बेल्ट वान रोड (ओबर) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा आपसी हित र समृद्धिका विषयमा समेत छलफल हुनेछ । उपप्रधान तथा अर्थमन्त्री महराको नेतृत्वमासूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की र भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखकसहितको टोलीलाई बेइजिङ पठाउने बिहीबारको मन्त्रिपरिषद्ले निर्णय गरेको हो । ‘वान बेल्ट वान रोड’ (ओबर) सम्मेलनमा यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओबरसम्बन्धी सम्मेलनअघि नै चीनसँग सम्झौता गर्ने बताएका थिए ।
ओबर संसारकै ठूलो आर्थिक करिडोर र भौतिक पूर्वाधार निर्माण परियोजना भएकाले यसबाट ६६ देश लाभ लिने चीनले जनाएको छ । रेल–वे, समुन्द्री मार्ग लगायतका पूर्वाधार निर्माण, व्यापारिक अन्तरसम्बन्धसहितको परियोजनामा यसमा पर्दछन् । सो सम्मेलनमा भाग लिन २८ देशका नेता र १ सय १० देशका प्रतिनिधि सहभागी हुने चीनले जनाएको छ ।








