काठमाडौं, १७ वैशाख –बहुप्रतीक्षित दक्षिण भारतीय चलचित्र ‘बाहुबली २’ ले पहिलो दिनमै १२१ करोड कमाएको छ । भारतीय चलचित्रको इतिहासमा साउथ इण्डियन चलचित्रले बलिउडका ठूला स्टारका चलचित्रललाई उछिन्दै लाइफ टाइम गर्ने व्यापार गरेको यो पहिलो घटना हो ।
एकैपटक भारतका करिब ८ हजार हलमा चलेको यो चलचित्रको व्यापारले नयाँ रेकर्ड राखेको छ । बलिउडका ३ खानका चलचित्रले ३ दिनमा सय करोड हाराहारीमा व्यापार गरेका थिए । तर, बाहुबली २ ले शुक्रबार प्रदर्शनको पहिलो दिनमै सय करोडको आँकडा पार गरिदिएको छ । यो चलचित्रले पहिलो दिन भारतीय बक्स अफिसमा १ सय २१ करोडको व्यापार गरेको छ ।
निर्देशक एसएस राजमौली निर्देशन गरेको यो चलचित्रले हिन्दी भर्सनमा ४१ करोड, तेलुगु, तामिल र मलायालम भाषामा ८० करोडको व्यापार गरेको छ । चलचित्रमा प्रभास, अनुष्का सेट्टी लगायतका कलाकारले अभिनय गरेका छन् । यो चलचित्रले बलिउडका ३ खानले यस अगाडि बनाएको सबै रेकर्डलाई तोडेको छ ।








