ललितपुर, १५ वैशाख–बिहिबारदेखि रातो मच्छिन्द्रनाथको जात्रा शुरु भएको छ । नेपालकै सबैभन्दा लामो जात्राका रुपमा लिइने यस जात्राको शुरुवात्सँगै ललितपुरमा रौनकता छाएको छ । मच्छिन्द्रनाथको मूर्तिलाई ललितपुरको कटुवाल दहमा विशेष पूजा गरी चाँदीको कलशमा राखेर पाटनको तबहालमा ल्याइएको छ ।साँझ करिब सात बजेतिर मूर्तिको रथारोहण गरिएको थियो । रथारोहणसँगै दुई महिना लामो यो जात्राको सुरु भएको छ । वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरिसकेपछि अक्षय तृतियाका दिन गौदानसहितको शान्ति स्वस्तिपश्चात् चौथी तिथिमा रथयात्रा आरम्भ गरिन्छ । रथलाई पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ ।
किंवदन्ती अनुसार लिच्छवि राजा नरेन्द्रदेवका पालामा गुरु गोरखनाथले नवनागको आसन बनाइ बसेकाले बाह्र वर्षसम्म पानी नपरी अनिकाल लाग्यो । अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक वन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजासमेत भारतको कामरूप कामाख्या गइ ‘वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएको मानिन्छ । मच्छिन्द्रनाथ देखेपछि गोरखनाथ गुरुको दर्शनका लागि जानेक्रममा नवनाग मुक्त भई वर्षा भएको विश्वास छ ।
यही बेलादेखि लिच्छवी राजा नरेन्द्रदेवले लोककल्याणका लागि पाटनका विभिन्न सीपका नेवार समुदायको सामूहिक प्रयासमा ३२ हात लामो रथ निर्माण गर्न लगाएका थिए ।








