काठमाडौँ, नयाँ शक्ति पार्टी नेपालले स्थानीय तह निर्वाचनमा निर्वाचन चिन्ह नपाए आफुहरु आन्दोलनमा जान पनि तयार रहने बताएको छ ।
पार्टीका संयोजक डा बाबुराम भट्टराईले आईतवार प्रमुख आयुक्त डा अयोधीप्रसाद यादव र आयुक्तलाई भेटेर दलको आधिकारिक चुनाव चिन्हबाटै निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गर्नु भएको हो ।
भेटघट कार्यक्रममा संयोजक भट्टराईले निर्वाचन चिन्ह नपाएसम्म आफूहरु आन्दोलनमा गएरै छोड्ने चेतावनी दिनु भयो ।
भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. भट्टराईले भन्नुभयो,लोकतन्त्रमा राजनीतिक दलले चुनाव चिन्ह नै नपाउने यो अप्रिय नीयम कुनै पनि दलको लागि असह्य भएको भन्दै यसको समाधान खोज्न आयोग समक्ष आएको जानकारी दिनु भयो ।
निर्वाचनमा चुनाव चिन्ह प्रदान गर्नेसम्बन्धी बनेको ऐन संविधान विपरीत भएको उहाँको आरोप थियो ।
“निर्वाचन चिन्हका बारेमा सरकारलाई दबाब दिन सोमबार सङ्घर्षका कार्यक्रम घोषणा गरिँदैछ, अध्यादेश वा अरु कुनै तरिकाले भए पनि ऐन संशोधन हुनैपर्दछ,” डा भट्टराईले भन्नुभयो । निर्वाचनमा चुनाव चिन्ह पाउनुपर्ने राजनीतिक दलको अधिकार हो भन्दै उहाँले आयोग पदाधिकारीले पनि निर्वाचन चिन्ह दिन नपाएकामा आफूहरुलाई अप्रिय लागे पनि कानुनी बन्धन बुझिदिन आग्रह गरेको बताउनुभयो ।
संशोधन विधेयक वा अरु कुनै तरिकाबाट भए पनि निर्वाचन चिन्ह प्राप्त गर्न पाउने अधिकारको सुनिश्चितताको व्यवस्था गर्न आग्रह गर्दै संयोजक भट्टराईले नयाँ शक्ति जस्तै ७५ जिल्लामा दर्ता रहेका अरु चार राजनीतिक दलले पनि चुनाव चिन्ह नपाएको जानकारी दिनुभयो ।
मधेसी मोर्चाको मागलाई सम्बोधन गर्ने सन्दर्भमा चुनाव चिन्हको विषय पनि एकैपटक सम्बोधन गरेर एकै चरणमा निर्वाचन गर्नुपर्नेमा त्यसो गर्न नसकेकामा सरकारबाट त्रुटी भएको उहाँको भनाइ थियो । नयाँ शक्तिसहितका ६८ राजनीतिक दल स्थानीय तह निर्वाचनमा चुनाव चिन्हको माग गर्दै आन्दोलनरत छन् ।







