भदाै १०, नेपित । अल्पसंख्यक रोहिंग्या समुदायलाई न्याय दिलाउने बताउँदै सशस्त्र गतिविधि गरिरहेको समूहले म्यानमारको पश्चिम तटीय प्रान्त रखिनेमा शुक्रबारदेखि भड्किएको हिंसामा परी ८९ जना मारिएका छन् । मारीने मध्ये १२ जना सुरक्षाकर्मी रहेका छन् । बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको म्यानमारमा मुस्लिम धर्म मान्ने रोहिंग्या समुदायमाथि लामो समयदेखि अत्याचार भएकाले उक्त हिंसा सुरूभएको स्थानीय संचार माध्यमहरूले जनाएका छन् ।
रोहिंग्या समुदायका मानिसहरू ठूलो संख्यामा बंगलादेशतर्फ भाग्न थालेका छन् भने उक्त समुदायका कयाैँ मानिसहरू वर्षाै देखि बंगलादेश, भारत, थाइल्यान्ड, इन्डोनेसियालगायत मुलुकमा शरणार्थी जीवन बिताइरहेका छन् ।
रखिनेको सशस्त्र गतिविधि गत वर्षदेखि मात्र सुरू भएको हो । हिंसा नियन्त्रणमा लिन सेनाले प्रभावित क्षेत्रमा घेराबन्दी गरेको छ । रखिने समुदायका लडाकुहरुले राइफल र घरेलु विस्फोटक पदार्थको प्रयोग गरी २० वटा प्रहरी चौकीहरुमा आक्रमण गरेका थिए । हिंसामा बंगाली आतंकवादीको सहभागी भएको म्यानमार सेनाको अारोप छ ।








