पूर्वसांसद ढुङ्गेलको अन्तिम दाहसंस्कार

काठमाडौँ ४ चैत । नेपाली कांग्रेसका महासमिति सदस्य एवम् पूर्वसांसद रामहरि ढुङ्गेलको आज पशुपति आर्यघाटमा अन्तिम दाहसंकार गरिएको छ ।

ढुङ्गेलको पार्थिव शरीरलाई उनका साहिला भाई विष्णुप्रसाद ढुङ्गेलले दागबत्ती दिएको कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

उनका अनुसार स्व ढुङ्गेलको शव शिक्षण अस्पतालमा परीक्षण गरी दिउँसो ३:०० बजेदेखि ४:३० बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

त्यहाँ पार्टी सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतले पार्टीको चारतारे झन्डा ओडाएर सम्मान गरेका थिए। उनीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला लगायतका नेता आर्यघाट पुगेका थिए ।

राजधानीको डिल्लीबजारस्थित आफ्नै निवासमा सुतिरहेकै अवस्थामा ढुङ्गेलको गएराती निधन भएको थियो । पूर्वकृषिसहायकमन्त्रीसमेत रहेका ५८ वर्षीय ढुङ्गेल अविवाहित थिए । उनी २०५६ को आम निर्वाचनमा रामेछाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

सम्बन्धित शिर्षकहरु