ब्रिसवेन, अष्ट्रेलिया। अष्ट्रेलियामा बसोवास गरिरहेका पहिलो पुस्ताका नेपालीहरुका माझ भाषा संस्कृती र मौलिकताका विषयहरु पेचिला हुँदै गएका छन्। विदेश बसाईको रस्साकस्सीमा आफ्नो पहिचान र संस्कृति यहाँका दोस्रो पुस्ताका नेपालीहरुलाई हस्तान्तरण गर्न कठिन हुँदैछ। पारिवारिक व्यस्तताका कारण सानो उमेरदेखिनै आफ्ना नानीहरुलाई शिशु स्याहार केन्द्रहरुमा पठाउनु बाध्यता जस्तै भएको छ। त्यहाँबाट सुरु भएको उनिहरुको अंग्रेजी बोल्ने क्रमलाई घरमा पनि अभिभावकहरुले निरन्तरता दिँदा नेपाली भाषा बोलीचालीमा नै समस्या हुने गरेको अभिभावकहरुको गुनासो छ। आफ्ना नानीहरु नेपाली नबोल्ने र नेपाली बुझेपनि फर्काउन मन नगर्ने वा नजान्ने समस्याले बोलीचालीमा मात्र नभएर हाम्रो सामाजीक संरचनामा नै असर परेको यहाँका अभिभावकहरुको भोगाइ छ।
आफ्ना नानीहरुलाई भाषा र संस्कृतीको उचित प्रशिक्षण नदिँदा आफु र आफ्ना नानीहरुको पारिवारिक दुरि पनि बढ्दै जाने नेपालीज एसोसिएसन अफ क्विन्स्ल्यान्ड (NAQ) का अध्यक्ष गोविन्द बरालको अनुभव छ। यहाँको जीवनशैली अत्यन्तै एकात्मक छ, उनिहरु यहाँ नै हुर्कन्छन् र यहाँको संस्कारमा रमाउँछन् तर हामीले हाम्रो संस्कार र संस्कृतिलाई माया मार्न सक्दैनौं। अनि जब उनिहरु वयस्क हुँदै जान्छन् हामीले हस्तान्तरण गर्न नसकेको संस्कृतिको बोझ बोकेर हिंड्न उनिहरुलाई झन्झटीलो हुन्छ। त्यसैले पनि आफ्ना नानीहरुलाई नेपाली संस्कार र संस्कृतिको हस्तान्तरण सानै उमेरदेखि गर्न जरुरी छ – बराल भन्नुहुन्छ।
यसै विषयलाई ध्यानमा राखेर नेपाली भाषा र संस्कृतिको पुस्तान्तरणमा सहयोग गर्ने उद्देश्यले क्विन्स्ल्यान्डमा बसोवास गर्दै आएका नेपालीहरुकै जेठो संगठन (NAQ)ले विभिन्न समयमा बालमैत्री कार्यक्रमहरुको आयोजना गर्दै आएको छ। यसै अन्तर्गत यहि जनवरि २१ तारिखका दिन ब्रिसवेनको स्प्रिङहिल पार्कमा नेपाली बालबालीकाका लागी नेपाली समुदायका बालबालीकाका बिचमा संपर्क बढाउने र आफ्ना प्रतिभाहरु देखाउन हौसला प्रदान गर्ने उद्देश्यले नेपालीज चिल्ड्रेन फन डे सम्पन्न भएको छ। कार्यक्रम मा बाल बालिका हरु jumping castle, Face Painting, kids soccer game आदि क्रियाकलापमा रमाएका थिए भने २० जना भन्दा बढी बालबालीकाहरुले नृत्य, गायन, बाद्यबादन, मार्शल आर्ट लगाएतका प्रतिभा देखाएका थिए ।
यसैगरी यहि फेब्रुवरी ५ तारिखका दिन नेपाली बालबालीकालाई शिशु स्याहार केन्द्रबाटनै नेपाली भाषा र संस्कृतीको विषयमा ज्ञान दिने र भाषा प्रशिक्षण गर्ने हेतुले ब्रिसवेन स्थित हिथउडको kids Magic शिशु स्याहार केन्द्रमा नेपाली पाठशालाको स्थापना गरियो। प्रत्येक आईतवार विहान आठ बजेदेखि १२ बजेसम्म नेपाली भाषा, नृत्य तथा अन्य सांस्कृतिक विषयमा जानकारी दिने उद्देश्यका साथ नेपाली पाठशालाको विधिवत सुरुवात गरिएको हो। नेपाली पाठशाला, NAQ ब्रिसवेनको उत्तरी भेगमा बस्ने नेपालीहरुका लागी संचालनमा रहि आएको भएतापनि दक्षिण ब्रिसवेनमा बसोवास गर्दै आएका नेपालीहरुका लागी असहज भएकाले सहजताकालागी यसको शाखा विस्तार गरिएको हो। नेपाली पाठशाला हिथवुडका अध्यक्ष सुवास रेग्मी बालबालीकाको संस्कृतीक चेतना वृद्धि गर्न र यसको स्थापनाको उद्देश्यमा सफल हुनेमा विश्वस्त हुनुहुन्छ। करिब १६ जना बालबालीकाले सहभागीता रहने यस वर्षको कार्यक्रमहरुका बारेमा समुदायलाई क्रमश जानकारी गराउँदै लगिने अध्यक्ष रेग्मीले बताउनुभयो। सोहि अवसरमा पाठशाला संचालनका लागी अार्थिक सहयोग जुटाउनका लागी हिथउड पार्कमा बार्बेक्युको पनि आयोजना गरिएको थियो। बार्बेक्यूमा यहाँ ब्रिसबेन घुम्न आउनुभएका अभिभावकहरुको पनि उल्लेख्य सहभागिता थियो।







