काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा आह्वान गरिएको कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको बैठकमा तीन वटा प्रस्तावमाथि गम्भीर छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको शीर्ष नेताहरूको बैठकमा दाहालले संशोधन प्रस्ताव, स्थानीय निर्वाचनको मिति र स्थानीय तहको सीमाङ्कन कसरी टुङ्ग्याउन सकिन्छ भनेर विषय प्रवेश गराएका हुन् । उनको प्रस्तावमाथि छलफल भए पनि मधेसी मोर्चाले कुनै विषयमा ठोस सहमति दिएन ।
बैठकका बारेमा जानकारी दिँदै राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले प्रधानमन्त्रीबाट तीन वटा विषय आएको बताए ।
‘प्रधानमन्त्रीज्यूले तीन वटा प्रस्ताव बैठकमा पेश गर्नुभयो’, उनले भने, ‘संविधान संशोधन विधेयक अगाडि बढाउने । निर्वाचनका विषयमा एउटै धारणा बनाएर मिति तोक्ने तथा स्थानीय तहको सीमाङ्कनको कुरा कसरी टुङ्ग्याउने ? भन्ने विषय आएका थिए ।’
ती विषयहरूमा सबै नेताहरूले धारणा राखे पनि कुनै पनि एजेन्डामा सहमति हुन नसकेको महासचिव झाले बताए । उनले भने, ‘मधेसी मोर्चाले परिमार्जनसहित संविधान संशोधन भयो भने निर्वाचनमा हामीलाई कुनै आपत्ति छैन भनेको छ । निर्वाचनमा जान हामी पनि तयार छौँ । संशोधन नहुँदासम्म मधेसी मोर्चा निर्वाचन मिति तोक्न तयार छैन । स्थानीय तहको सीमाङ्कन पनि मान्य छैन भन्यौँ ।’
प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक विनाकुनै निष्कर्ष सक्किएको छ । प्रधानमन्त्री दाहालसहित कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठकफेरि बस्ने गरी सक्किएको हो ।
बैठकमा प्रधानमन्त्री दाहालका साथै कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेता प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता रामबहादुर थापा, मधेसी मोर्चाका नेताहरू उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, केशव झालगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।








