काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन तोकिएको मितिमा जसरी पनि गराउनुपर्नेमा सहभागीले जोड दिएका छन् ।
अनेरास्ववियु पशुपति क्याम्पस कमिटीले आज ‘अबको स्ववियु निर्वाचन’ विषयक बहस कार्यक्रममा उनीहरुले विगत ७ वर्षदेखि स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलनको धराशायी बन्दै गएकाले तोकिएको मितिमा चुनाव हुनुपर्नेमा जोड दिएका हुन् ।
एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कोही जित्ने वा हार्नेभन्दा पनि विद्यार्थी आन्दोलन जोगाउनका लागि स्ववियु निर्वाचन आवश्यक भएको बताए । उनले स्ववियु निर्वाचनमा जित्नेभन्दा हार्नेले लोकतन्त्र जोगाउने भएकाले निर्वाचन जसरी पनि गर्नुपर्ने बताए ।
उनले अहिलेको विद्यमान कानुन अवलम्बन गरेर होस् वा कानुन संशोधन गरेर भए पनि निर्वाचन गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा त्रिविका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले विद्यार्थी सङ्गठन यसपटक स्ववियु निर्वाचन गर्न तयार देखिएको निर्वाचन हुने बताए । उनले आगामी फागनु १४ गते जसरी पनि निर्वाचन हुने बताए ।
त्रिविले आगामी फागुन १४ गते स्ववियु निर्वाचनको मिति घोषणा गरिसकेको छ । “गत वर्ष पनि हामीले निर्वाचन गर्न अभ्यास गरेका थियौँ । तर सम्भव भएन”, उनले भने–“यसपटक हामीले विद्यार्थी सङ्गठनसँग पटकपटक छलफल गरेका छौँ ।”








