जनकपुरमा चाँडै योग शिविर गर्ने रामदेवको वाचा

महेन्द्रनगर  १२ मङ्सिर । मित्रराष्ट्र भारतका प्रख्यात योगगुरु बाबा रामदेवले चाँडै नै जनकपुरधाममा साताव्यापी योग शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे
का छन् ।

शनिबार दिउँसो १२  बजेदेखि हजारौँको सङ्ख्यामा बाबा रामदेवलाई स्वागत गर्न जनकपुरको ऐतिहासिक तिरहुतिया गाछीमा भेला भएका स्थानीयलाई सम्बोधन गर्दै उनले जनकपुरधाम आएर जानकी मन्दिरमा दर्शन गर्न नसकेकोमा दुःख व्यक्तगर्दै चाँडै नै पुनः जनकपुर आई साताव्यापी योग शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

योगगुरु रामदेवले जनकपुरले आफूलाई लोभ्याएको भन्दै यो भूमिलाई योगकेन्द्रका रुपमा विकास गर्न सरोकारवालालाई आग्रहसमेत गरे ।

दिउँसो १२ बजे नै आउने सूचना सम्प्रेषण भएकाले बिहान १० बजेदेखि नै भेला भएको भीडमा साँझ ५ बजे मात्रै आइपुगेका उहाँले स्थानीयको उत्साह देखेर आफू खुसीले गद्गद् भएको बताए । ‘जनकपुर साँच्चिकै महान छ ’ भन्दै अहिलेलाई धेरै समय दिन नसकेपनि चाँडै फेरि जनकपुर आउने र पाँच दिवसीय योग शिविर चलाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

जनकपुरमा बाबा रामदेवलाई पतञ्जली योगकेन्द्र, धनुषाका अध्यक्ष सुरेश यादवले योगकेन्द्रका तर्फबाट र जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवशङ्कर साह ‘हिरा’ ले जनकपुरवासीकातर्फबाट नागरिक अभिनन्दन गरेका थिए । कार्यक्रममा काँग्रेसकी सांसद मोक्ताकुमारी यादव र राष्ट्रिय मधेस समाजवादी पार्टीका सांसद दिनेश साह लगायत विभिन्न दलका नेता र उद्योगी सहभागी थिए ।

नेपाली सेनाको हेलिकोप्टर चढेर आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण, उद्योगपति उपेन्द्र महतो लगायतको टोलीसहित आएका रामदेवले जनकपुरको कार्यक्रममा करिब २० मिनेट मात्र समय दिए।

साँझका बेला अँध्यारो हुँदै गएको र जनकपुरबाट उडेपछि स्वामी रामदेव सिमरामा पुग्नुपर्ने तथा आचार्य बालकृष्ण राजधानी पुग्नुपर्ने कारण देखाउँदै शिविरस्थलमा पुगेको २० मिनेट नपुग्दै फर्किए ।

योगगुरु रामदेव जनकपुरको जानकी मन्दिरमा दर्शन तथा पूजापाठ गर्नुका साथै जानकी नगरस्थित योग शिविरको उद्घाटन गर्ने तथा तिरहुतिया गाछीमा आयोजित नागरिक अभिनन्दनमा सहभागी हुने कार्यक्रम थियो, तर उनी ढिला आइपुगेकाले जानकी दर्शन तथा योग शिविर उद्घाटन कार्यक्रममा सहभागी भएनन् ।

सम्बन्धित शिर्षकहरु