काठमाडौँ । भूकम्पले क्षतिग्रस्त बनेको लामिडाँडा– तिम्बु ४३ किमी सडकको स्तरोन्नति हुने भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको सामान ओसार्न पहुँचमार्गका रुपमा प्रयोग भइरहेको यो सडक जीर्ण बन्दा आयोजनाको काम प्रभावित हुँदै आएको छ । सडक स्तरोन्नतिका लागि एसियाली विकास बैंकले सहयोग गर्ने बचन दिएको मेलाम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए।
“बैंकले आयोजनालाई नै सडक स्तरोन्नतिका लागि भनेको थियो, सडक विभागले नै सडकको काम गर्नुपर्छ भनेका छौँ”–उनले भने ।
विभागले लामिडाँडा–तिम्बु ४३ किमी सडकको प्रारम्भिक अध्ययन गरी सहयोगका लागि बैंकसँग प्रस्ताव अघि बढाएको छ । विभागका उपमहानिर्देशक केशवकुमार शर्मा सडक स्तरोन्नतिका लागि रु एक अर्ब ५० करोड लाग्ने विवरण पेस गरिएको बताउँछन् ।
“बैंकसँग कुरा भइरहेकाले छिटो सम्झौता गरी काम सुरु गर्ने तयारीमा लागेका छौँ”–उनले भने। “व्यवस्थापिका संसद्को सोमबारको बैठकमा सांसदले आयोजनाको पहुँचमार्ग छिटो स्तरोन्नति गर्न सरकारसँग माग गरेका थिए ।








