न्युयोर्क, २२ असोज । कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोषलाई शान्तिका लागि गरेको प्रयासस्वरुप नोवेल शान्ति पुरस्कार दिइएकामा संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले बधाई ज्ञापन गरेका छन् ।
महासचिव वानले भनेका छन्– “यो पुरस्कारका लागि बधाईका पात्र कोलम्बियाका सबै नागरिक छन् र शान्तिको चाहनामा करिब पनि पाँच दशकसम्म तड्पिएर रहेका जनता विशेषगरी बधाईका पात्र हुन् ।”
उहाँले यो पुरस्कारले शान्तिको पहलमा लाग्न विश्वका कैयौँ द्वन्द्वग्रस्त मुलुकलाई पनि उत्साह प्रदान गरेको हुनुपर्छ भनेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
उनले कोलम्बियामा शान्तिका लागि अरु पनि धेरै काम गर्न बाँकी रहेको र त्यसका लागि विद्रोही, सरकार र त्यहाँका नागरिक पनि अझै सक्रिय र सजग हुनुपर्नेमा जोड दिएका छन् ।
साथै महासचिव वानले शान्ति प्रक्रियाको आगामी कार्यलाई पनि तदारुकताका साथ सम्पन्न गर्न कोलम्बियाका सबै नागरिकमा शुभकामना पनि दिएका छन्।
कोलम्बियामा गएको करिब ५४ वर्षदेखि हिंसा जारी रहेको छ । सो हिंसामा परी कम्तीमा पनि दुई लाख ६० हजार नागरिकको ज्यान गएको छ ।
साथै सो हिंसामा परी कम्तीमा पनि ४५ हजार नागरिक बेपत्ता भएका छन् । उनीहरुका बारेमा पनि खोजिनीति गर्नुपर्ने माग नागरिकको रहेको छ ।
यति ठूलो मानवीय क्षति भएको युद्धको अन्त्यका लागि भएको युद्धविरामपछि सम्पन्न शान्ति सम्झौतामा उनीहरुलाई उन्मुक्ति दिनेगरी भएको भन्दै त्यहाँका नागरिकले विरोध गरेका हुन् ।








