पोखरा, ६ भदौ । मिस तमुस्योको शान, मौलिक संस्कृतिको पहिचान भन्ने नाराका साथ नेपाल तमु विद्यार्थी छौंज धीं कास्कीले आयोजना गर्दै आइरहेको मिस तमुस्यो नेपालको पाँचौँ संस्करणको एक महिने प्रशिक्षण पोखरामा सुरु भएको छ ।
प्रशिक्षणमा कास्की, स्याङ्जा, लमजुङ, पर्वत, गोरखा, झापा, चितवनलगायतका जिल्लाका २० प्रतिस्पर्धी सहभागी छन् ।
प्रशिक्षणमा व्यक्तित्व विकास, भाषा, संस्कार संस्कृतिलगायतका विभिन्न विधाका विज्ञबाट प्रशिक्षण दिइने नेपाल तमु विद्यार्थी छौंज धीं कास्कीका अध्यक्ष एवम् मिस तमुस्यो नेपालका मूल आयोजक समिति संयोजक धनु तमुले जानकारी दिए।
असोज ८ गते पोखरा सभागृहमा फाइनल हुने मिस तमुस्यो प्रतियोगिताका विजेताले नगद रु ५० हजारसहित एक हप्ते हङकङ यात्राको अवसर प्राप्त गर्ने उल्लेख गरिएको छ ।
प्रतियोगितामा उपविजेता एवम् फस्ट रनर अपले नगद रु ३० हजार, सेकेण्ड रनर अपले नगद रु २० हजारसहित विभिन्न पुरस्कारका साथै अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।








