टर्कीमा सैनिक ‘कु’ प्रयासपछि भएको झडपमा एक सय एकसठ्ठी जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते

_90414233_c335cea9-8030-4216-a1c3-91a1ca3d977cअंकरा । टर्कीका प्रधानमन्त्री विनाली यिल्दिरिमले मुलुकमा भएको सैनिक विद्रोह ‘कु’ को प्रयास हुँदा भएको झडपमा मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको शनिबार बताएका छन् ।

घटनामा एक हजार ४४० जना घाइते भएका छन् भने सरकारले दुई हजार ८३९ सैनिक अधिकारीलाई विद्रोहमा संलग्नता रहेको आरोपमा सुरक्षा नियन्त्रणमा लिएको प्रधानमन्त्री यिल्दिरिमले बताएका छन् ।

विद्रोह प्रयासमा संलग्न दुई हजार ८३९ सेनालाई नियन्त्रणमा लिइएको छ भने थप केही सेनालाई विद्रोह प्रयासमा सघाएको आरोपमा सुरक्षा नियन्त्रणमा लिने क्रम अझै जारी छ ।

यसैबीच शुक्रबारकोे ‘कु’ प्रयास नियन्त्रणभित्र आइसकेको बताउँदै यस घटनाबारे छलफलका लागि शनिबार दिउँसो आकस्मिक रुपमा संसदीय बैठक बोलाइएको छ ।

प्रधानमन्त्रीले इस्लामिक धर्मनेता फेतुल्लाह गुलेनलाई सहयोग गर्ने कुनै पनि मुलुक टर्कीको असल मित्र हुन नसक्ने बताएका छन् ।

गुलेनका समर्थकले सैनिक विद्रोह गराउने प्रयास गरेको टर्कीका सरकारी अधिकारीले बताएका छन् ।

गुलेन संयुक्त राज्य अमेरिकामा आफ्नै इच्छाले केही वर्षदेखि निर्वासनमा रहँदै आएका छन् ।

यसैबीच टर्कीको सैनिक विद्रोहपछि आठ जना सैनिक अधिकारीलाई लिएर उत्तरी ग्रिसको अलेक्ज्रान्ड्रोपोलीमा शनिबार अवतरण भएको हेलिकप्टरलाई प्रक्रिया पु¥याएर टर्की फर्काइने ग्रिक सरकारका प्रवक्ता ओल्गा गेरोमासिलिसले बताएका छन् ।

ग्रिस सरकारले अन्तर्राष्ट्रिय कानुनअनुसार विमान फिर्ता गर्ने तर आफ्नो देश राजनीतिक शरणार्थीका रुपमा पुगेका सेनालाई प्रजातन्त्र तथा संवैधानिक नियम उल्लङ्घन गरेको भनी आरोप लागेका कारण अनुसन्धानका लागि हिरासतमा लिइने बताएको छ ।

हेलिकप्टरसहित ग्रिक भूमिमा पुगेका आठ जनामध्ये तीन जना सैनिक मेजर, तीन सैनिक लेफ्टिनेन्ट, दुई जना सैनिक सर्जेन्ट रहेका छन् र उनीहरुले राजनीतिक शरणका लागि ग्रिससँग अनुरोध गरेका बताइएको छ । रासस÷एएफपी

सम्बन्धित शिर्षकहरु