काठमाडौं । काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्ने मेलम्ची खानेपानी आयोजनाको १८ किलोमिटर लामो सुरुङ् खन्ने काम सकिएको छ ।
गत बिहीबारसम्म अयोजनाको कुल २७.५ किलोमिटरमध्ये १७.७ किलोमिटर सुरुङ खन्ने काम सकिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका अनुसार अब ९.८ किलोमिटर सुरुङ खन्न बाँकी छ । आगामी आर्थिक वर्षको वैशाखसम्म सुरुङ खन्ने काम सकिने समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराई बताउँछन् । उनका अनुसार पानी प्रशोधन केन्द्र निर्माण र पाइप विच्छ्याउने काम सम्पन्न गरी ०७४ असोजसम्म मेलम्चीको पानी काठमाडौंबासीको धारामा ल्याउने लक्ष्य छ । उनले आगामी १५ महिनामा मेलम्चीको काम सम्पन्न हुने छ ।
हाल सुरु खन्ने काम इटालियन ठेकेदार इटालीयन को–अपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी) ले गरिरहेको छ । उसले मात्र ११ किलोमिटर सुरुङ खनेको छ । २०७० साउन १ गते इटालियन कम्पनीसँग सुरुङ् खन्ने ठेक्का सम्झौता गरेको थियो । ७ अर्ब ७० करोडमा समिति र सीएमसीबीच ठेक्का सम्झौता भएको हो । बाँकी ६ किलोमिटर सुरुङ चाइना रेल्वे १५ व्युरो कर्पोरेशनले गरेपछि उसले एकपक्षीय रुपमा ठेक्का तोडेको थियो ।
अहिले काठमाडौंको सुन्दरीजलमा दैनिक साढे ८ लाख लिटर पानी प्रशोधन गर्ने केन्द्रको निर्माण भइरहेको छ । झण्डै ५ अर्ब रुपैयाँ लागतमा सो प्रशोधन केन्द्रको निर्माण भइरहेको छ । यस्तै थप अर्को प्रशोधन केन्द्र निर्माणको तयारी भइरहेको समितिले बताएको छ । वि.स. २०७३ बैशाखमा सुरुङको काम सक्ने गरी समिति र ठेकेदार सीएमसीबीच २०७० साउन १ गते सीएमसीसँग ठेक्का सम्झौता भएको थियो । मेलम्चीको रिबर्मादेखि राजधानीको सुन्दरीजलसम्मको साढे २७ किलोमिटर लामो सुरुङ्को काम सम्पन्न गरी गत वैशाखदेखि मेलम्चीको पानी ल्याउने लक्ष्य पुरा नभएपछि समय पुनः थप गरेर आगामी ०७४ असोजसम्म मेलम्चीको पानी राजधानी ल्याउने सरकारको लक्ष्य छ ।
ठेकेदारले निर्धारित समय अगावै काम सम्पन्न गरे दैनिक ०.०५ प्रतिशतका दरले प्रोत्साहन रकम पाउने र नसके सोही दरमा जरिवाना तिर्नुपर्ने सम्झौतामा उल्लेख छ । उसले ६ महिना अघि काम सम्पन्न गरे । १ अर्ब रुपैयाँ प्रोत्साहन रकम पाउने सम्भावना हुँदाहँुदै काम नगरेर उसले यो रकम गुमाएको छ । सन् २०१६ सेप्टेम्बर २९ तारिखभित्र काम सकेमा ठेकेदारले वोनस पाउने सम्भावना थियो । निर्धारित समयमा काम सम्पन्न गरे प्रोत्साहन रकम पाउने सम्भावना रहेको भट्टराईको भनाई छ ।
पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड र क्रमशः याङ्गी र लार्के खोलाबाट पनि सोही परिमाण गरि जम्मा ५१ करोड लिटर पानी राजधानी आपुर्ती गर्ने सरकारको योजना छ । तर, शुरुको लक्ष्यअनुसार २००७ भित्र आयोजना सम्पन्न गर्ने भनिएपनि समयसीमा दुई पटकसम्म लम्ब्याई सकिएको छ । पछिल्लोपटक सन् २०१३ र हाल २०१६ भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य तोकिएकोमा फेरी परिवर्तन भएर सन् २०१७ को मध्यमा पुगेको छ ।
यसमा एसियाली विकास बैंक (एडीबी) १३ करोड ७० लाख, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को १ करोड ८० लाख, जापान बैंक फर इन्टरनेश्नल कोअपरेशन( जेबिक) को ४ करोड ७५ लाख, तेल उत्पादक मुलुकहरुको संगठन (ओपेक) को १ करोड ३७ लाख, नरर्डिक फण्ड (एनडिएफ) को १ करोड ४ लाख र नेपाल सरकारको ९ करोड ६ लाख ४० हजार अमेरिकी डलर लगानी हुने गरी संरचना तयार गरिएको छ ।








