असार २० । काठमाडौं, नेपालमा साहित्य सिर्जना तथा भाषानुवादका क्षेत्रमा विशिष्टता हासिल गर्न अझै धेरै चुनौती रहेको भन्दै पाठकलाई पढुँपढुँ लाग्ने बनाउन साहित्यकार तथा भाषानुवादकले कठोर मेहनत र परिश्रम गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले आइतबार आयोजना गरेको ‘नोबेल पुरस्कार प्राप्त साहित्यमा अनुवादको भूमिका र महत्व तथा साहित्यमा अनुवाद परम्परा र नयाँ दिशा’ विषयको अन्तक्र्रियामा उनीहरुले छिमेकी मुलुक चीन र भारतको तुलनामा नेपाली साहित्यको विश्व बजारमा प्रतिस्पर्धा यथार्थभन्दा बाहिर रहेको बताए ।
सो अवसरमा नेपालमा साहित्यक क्षेत्रमा अनुवाद गर्ने परम्परा ७०० वर्ष पुरानो रहेको र हालसम्म २८० पुस्तक अनुवाद भएको जानकारी दिइयो । कविताको क्षेत्रमा अलि धेरै पुस्तक अनुवाद भए पनि नाट्य क्षेत्रका पुस्तक निक्कै कम मात्र अनुवाद भएको र निबन्धको क्षेत्रका पुस्तकको अनुवाद चौँथौस्तरमा रहेको छ ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालमा नेवारी, मैथली, भोजपुरी, तामाङ आदि मातृभाषामा लेखिएका थुप्रै पुस्तक उत्कृष्ट कृति रहेको बताउँदै तिनीहरुको अन्तरभाषिक भाषानुवाद गर्नेतर्फ प्रतिष्ठानले कार्यनीति बनाई चाँडै कार्यक्रम सुरु गर्ने जानकारी दिए। सिक्किमका वरिष्ठ साहित्यकार सिपी गिरीले कुनै पनि साहित्यले अरु भाषीले पढ्ने भाषा अनुवादको आवश्यकता रहेको बताउँदै नेपाली पुस्तक भारतमा अनुवादका लागि पठाएमा २२ भाषामा अनुवाद गरी प्रकाशन गर्ने व्यवस्था रहेको जानकारी दिए ।
सो अवसरमा प्रा डा कृष्णचन्द्र शर्मा, डा बलराम गिरी, डा यमबहादुर क्षेत्रीलगायतले साहित्य र अनुवादको विविध पक्षमाथि प्रकाश पारेका थिए ।








