काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले अफगानिस्तान घटनाको छानविन र विश्लेषणपछि सरकारले सो मुलुकलाई रोजगारीको लागि खुला कि बन्द गर्ने भन्ने विषयमा उचित निर्णय गर्ने बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले नेपाल सरकारले सम्बन्धित मुलुकको आर्थिक अवस्था, मानवअधिकारको अवस्था र सुरक्षाको अवस्था हेरेर मात्रै रोजगारकोलागि खुला गर्ने गरेकोले जानकारी दिँदै अफगानिस्तानमा घटेको घटना नेपालीलाई नै लक्षित भएको पाइए त्यही अनुसार रोजगारीकोलागि बन्द हुन सक्ने सम्भावना समेत ब्यक्त गरे ।
साक्षात्कारमा उनले भने, “एक दुई घटना हुँदैमा बन्द गर्ने र खुला गर्ने भन्ने कुरा हुँदैन । अफगानिस्तानमा नेपाली नागरिकमाथि भएको आक्रमणको अध्ययन गरेपछि नेपालीलाई नै लक्षित गरेर आक्रमण भएको पाइएमा त्यसको विश्लेषणपछि मात्रै सरकारले थप निर्णय गर्ने छ ।”
भुर्तेलले अफगानिस्तानमा आतंकबादी आक्रमणमा मारिएका १२ नेपालीको शव र घाइतेहरुलाई ल्याउन सरकारले आज विशेष चार्टर विमान पठाउने जानकारी दिए ।
आज विहान बसेको बैठकले त्यस्तो निर्णय गरेको र सोही अनुसार आज राती नेपाल एयरलाइन्सको एक विमान अफगानिस्तान जाने र भोलीसम्ममा सबैलाई स्वदेश ल्याइपुर्याउने उनले बताए ।
भुर्तेलले घटनामा घाइते भएकाको उपचारमा कुनै कसर बाँकी नराख्न परराष्ट्रमन्त्री कमल थापाले आफ्ना अफगानी समकक्षीसँग कुराकानी गरिरहेको जानकारी दिँदै दुई गम्भीर घाइतेलाई नयाँ दिल्ली ल्याएर उपचार गराउने गरी तयारी भइरहेको जानकारी दिए ।
भुर्तेलले अहिलेसम्म अफगानिस्तानमा सस्थागत रुपमा त्यहाँको सुरक्षित मानिएको ग्रिन जोन एरियामा बाहेक नेपाली कामदार नपठाएको जानकारी दिँदै मृतक र घाइतेहरु संस्थागत प्रक्रियाबाट गएको भए उनीहरुले कानून अनुसारको जीवन विमा र क्षतिपूर्ति रकम पाउने बताए ।
उनले भने, “वैशाख अगि गएका रहेछन भने मृतकका परिवारले बिमाबाट ५ लाख र वैदेशिक रोजगार प्रवद्र्धन बार्डबाट ३ लाख रुपैयाँ त्यस्तै वैशाख पछि गएका रहेछन भने बिमाबाट १० लाख र बोर्डबाट ५ लाख रुपैया क्षतिपूर्ति पाउने छन ।” उनले क्षतिपूर्तिको रकम पाउन ढिलाई हुने गरेको गुनासोको आधारमा अब सम्बन्धित जिल्लामै सहज रुपमा पाउने गरी ऐन संसोधनको तयारी भईरहेको जानकारी दिए ।
भुर्तेलले मुलुकका विकास खर्च जति हुन्छ त्यती रोजगारीको सृजना हुने र त्यसले वैदेशिक रोजगारीमा जानेको संख्यामा कमि ल्याउने भएकोले विकासमा खर्च गर्ने गरी राज्यले काम गर्नुपर्ने अवस्था भएको धारणा समेत राखे ।
वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्न पुडासैनीले अफगानिस्तानको ग्रिन जोन एरियासहित ११० मुलुकलाई सरकारले बैदेशिक रोजगारीको लागि खुला गरेको जानकारी दिँदै अफगानिस्तानमा सस्थागत रुपमा पाकिस्तानको नेपाली दूतावासले स्वीकृति दिएपछि मात्रै नेपालबाट श्रम स्विकृति दिने गरेको बताए ।
उनले अहिलेसम्म अफगानिस्तानमा रोजगारीकोलागि सस्थागत रुपमा ३३ सय २३ र व्यक्तीगत तवरमा ५२ सय ९१ जनाले श्रम स्वीकृति पाएको तथ्याङ्क प्रस्तुत गर्दै श्रम स्वीकृति नलिई पनि गएको हुन सक्ने आशंका ब्यक्त गरे ।
पुडासैनीले अफगानिस्तानको घटना संवेदनशील रहेकोले त्यसको अध्ययन गर्ने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै अध्ययप्रतिवेदनको विश्लेषणपछि मात्रै थप कुनै निर्णय हुने स्पष्ट पारे ।
उनले प्रयाप्त स्रोत साधन नभएकोले अफगानिस्तानसहितका मुलुकमा श्रमसहचारी राख्न नसकिएको उल्लेख गर्दै अब वैदेशिक रोजगारीको विषयमा जिल्लामै चेतना फैलाएर सम्भावित दुर्घटनाबारे सचेत गराउने योजनामा आफूहरु रहेको बताए ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले आफूहरुले सरकारले तोकेको मापदण्ड बाहेक आफूहरुले इराक र अफगानिस्तानलगायतका मुलुकमा कामदार नपठाएको दावी गर्दै सुरक्षाको पूर्ण प्रत्याभुत नभएसम्म यस्ता जोखिमपूर्ण मुलुकहरुमा नेपाली कामदार पठाउन नहुने धारणा राखे ।
अफगानिस्तानसहितका प्रतिबन्धित मुलुकमा सस्थागत रुपमा नभई मानवतस्करहरुले विभिन्न बाटोबाट नेपाली कामदार पठाएको दावी गर्दै उनीहरुलाई कारवाही गराउन आफूहरु सरकारलाई जस्तो सुकै सहयोग गर्न समेत तयार रहेको बताए ।
उनले ऐन फितलो भएकोले यस्तो कार्य हुने गरेकोले कडा ऐन ल्याउनु पर्ने आवश्यकता आँैल्याए ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष प्रज्ञान न्यौपानेले वैदेशिक रोजगारी सम्बन्धी कानुन र खुल्ला सीमानाका कारण सरकारले प्रतिबन्ध लगाएको मुलुकमा समेत विभिन्न दलालहरुमार्फत अबैद्य बाटोबाट नेपाली कामदारहरु जाने गरेको दावी गर्दै अनौपचारिक जानकारी अनुसार सरकारले प्रतिबन्ध लगाएको इराकमा ५० हजार नेपाली नागरिक रहेको बताए ।
उनले अफगानिस्तानमा भारत, श्रीलंका र दुबइको बाटो हुँदै मानवतस्करहरुले रोजगारीकोलागि लाने गरेको बताउँदै अफगानिस्तानमा १० देखि १५ हजार यस्ता नेपाल कामदार भएको अनुमान गरे ।
न्यौपानेले यस्तो कार्य बाहिरका दलालहरुले गर्ने गरेको दावी गर्दै नेपालले वैदेशिक रोजगारीमा महिला नपाठाएको ४ वर्ष भएपछि हजारौ महिला विभिन्न बाटोबाट गइरहेको बताए ।
उनले भने, “हामीले मानव तस्कर सम्बन्धी भएको जानकारी दिइरहेका छौँ । हामीले यस्ता जोखिमपूर्ण क्षेत्रमा कामदार पठाएका छैनौँ । पठाएको भेटिए जिम्मेवारी लिन तयार छौँ ।”








