‘संविधान कार्यान्वयनका लागि दलहरुबीच एकताको खाँचो छ’

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले संविधान कार्यान्वयनका लागि दलहरुबीच एकताको खाँचो रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बुधबार गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले संविधान कार्यान्वयनका लागि संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका खेल्ने स्पष्ट पारे ।

उनले नेकपा (एमाले)ले न्यायाधीश नियुक्तिमा दलगत स्वार्थ राखेर काम गरेको भन्दै आपत्तिसमेत जनाए । उनले भने – “आफू अनुकूल भए सुनुवाइ समिति राम्रो र आफू अनुकूल नभए नराम्रो भन्ने कतिको न्यायसङ्गत कुरा हो ।” उनले भूकम्पपछिको पुनःनिर्माण कार्यमा सरकारले ढिलाइ गरेको आरोपसमेत लगाए।

एमाले नेता प्रदीप ज्ञवालीले संविधान कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलहरुबीच एकताको खाँचो औँल्याउँदै प्रादेशिक सीमा निर्धारण, स्थानीय निकाय निर्वाचन, कानुन निर्माण गर्ने काममा ढिलाइ भइसकेको बताए ।

नेता ज्ञवालीले सर्वोच्च अदालतमा मुद्दाका चाङ लागेको भन्दै न्यायाधीश नियुक्तिका लागि बन्ने सुनुवाइ समिति निर्माणमा काँग्रेस जस्तो जिम्मेवार पार्टी बाधक बन्न नहुने बताए । उनले राष्ट्रिय सहमतिको सरकार बन्ने परिस्थितिबाहेक यही सरकार २०७४ माघसम्म रहने दाबीसमेत गर्नुभयो । उनले भने, “यो सरकारलाई ढाल्न पुष्प कमल दाहालभन्दा शेरबहादुर देउवा लागेका हुन् ।”

नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले परिणाममुखी वार्ताका लागि वातावरण सिर्जना गरिए आफूहरु वार्तामा बस्न तयार रहेको स्पष्ट पारे । मुलुकको आधा जनशक्तिलाई चित्त नबुझेको संविधान कार्यान्वयन गर्न छाडेर न्यायाधीश नियुक्तिमा वर्तमान सरकार हतारिएको आरोप उनले लगाए ।

उनले न्यायाधीश जस्तो सम्मानित पदमा पार्टीहरुबीच भागबन्डा गर्दा देशमा अस्थिर निम्तिने बताए । रासस

सम्बन्धित शिर्षकहरु