जेठ १५ । काठमाडौँ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवस २०७३ का अवसरमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने वीर सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
गणतन्त्र दिवसका अवसरमा सन्देश दिँदै उनले नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलतापछि काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको उल्लेख गरेका छन् ।
मुलुक नयाँ युग प्रारम्भको ऐतिहासिक मोडमा अगाडि बढिरहेको बताउँदै उनले नेपाली जनताको छ दशक लामो सङ्घर्ष र बलिदानपछि आफ्ना प्रतिनिधिमार्फत संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक संविधान निर्माण भएको बताएका छन् ।
संविधानको कार्यान्वयन र गणतन्त्र संस्थागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरेका छन्।








