काठमाडौँ । नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रमले हामीले अभ्यास गरेको लोकतन्त्रलाई स्थानीय तहसम्म बलियो तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
व्यवस्थापिका–संसद्मा आज भएको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उनले भने,“छिटो स्थानीय निकायको निर्वाचन गरेर लोकतन्त्रलाई गाउँस्तर र जनस्तरमा पुर्याउने लक्ष्य लिएको नीति तथा कार्यक्रमको स्वागत र समर्थन गर्दछु ।
नेपालको समृद्धिको आधार कृषि भएकाले यस क्षेत्रलाई रुपान्तरण गर्ने ढङ्गबाट नीति तथा कार्यक्रम आएको बताउँदै नेता खनालले भने, पुनःनिर्माणको काम द्रुत रुपले अघि बढाउनुपर्छ, त्यो जनताको माग हो, सबै दृष्टिकोणबाट नीति तथा कार्यक्रम ठीक ढङ्गले आएको छ, समाजवादको लक्ष्य हासिल गर्ने ढङ्गबाट अहिलेका लागि तीनखम्बे अर्थतन्त्रका आधारमा दिशामा उन्मुख हुन जरुरी छ ।”
नीति र कार्यक्रममा अहिलको अवस्थामा राष्ट्रिय सहमति निर्माणको विषयलाई अघि सारिएको बताउँदै उनले भने, ‘चीन र भारतसँगको सम्बन्ध आपसी हित र समानताको आधारमा अघि बढाउँदा मात्र नेपालको हितमा हुने भन्ने कुरामा सबैले मनन गरेर अघि बढ्न आवश्यक छ ।








