सर्वोच्च अदालतले साझा यातायातका अध्यक्ष तथा हिमाल मिडियाका प्रकाशक कनकमणी दीक्षितलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ ।
सर्वोच्चको आदेश लगत्तै थुनामुक्त भएका दिक्षित पुनः उपचारका लागि वीर अस्पताल पुगेका छन्। विशेष अदालतले १० दिन थुनामा राखेर अनुसन्धन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएपछि सो बिरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।
कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदिश शर्मा पौडेलको संयुक्त इजलासले आज अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारको हिरासतमा रहेका दीक्षितलाई थुनामा राख्नुको आधार र कारण नखुलेको भन्दै मुक्त गर्न आदेश दिएको हो । बन्दी प्रत्यक्षीकरण सम्बन्धि रिटमाथि आज सुनुवाई गर्दै सर्वोच्चले बिशेष अदालतले थुनामा राखी अनुसन्धान गर्न यसअघि दिएको आदेश समेत खारेज गरिदिएको छ । बिशेषले दिएको १० दिनको समयावधि समेत आजै सकिएको छ ।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘सो मुद्दामा कारवाही गर्न आवश्यक देखिएमा निवेदिकाको पतिको नाउँमा कानून बमोजिम म्याद जारी गरी झिकाई साधारण तारेखमा राखी मुद्दाको कारवाही अगाडी बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाउमा परमादेशको आदेश समेत जारी गरिदिएको छ ।’
गत वैशाख १५ गते दीक्षितकी श्रीमती शान्ताले सर्बोच्चमा बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट दर्ता गराएपछि सर्वोच्चले दीक्षितलाई आज अदालतमा उपस्थित गराउन भनेको थियो । दीक्षितको पक्षमा बरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दहाल, शतिसकृष्ण खरेललगायत ४० जना अधिवक्ताले बहस गरेका थिए । अख्तियारका तर्फबाट बरिष्ठ अधिबक्ता सुरेन्द्र महतो, बाबुराम कुँवर, युवराज संग्रौला लगायत ७ जनाले बहस गरेका थिए ।
साझा यातायातका अध्यक्ष दीक्षितले पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउदै अख्तियारले उनलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको हो । हिरासतमा रहँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि दीक्षित अख्तियारको निगरानीमा वीर अस्पतालमा उपचाररत थिए ।









