काठमाडौँ । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलहरुले आगामी बजेट अधिवेशनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारमा बोलाएको बैठकमा दलका नेताहरुले संसद्लाई प्रभावकारी बनाउने, भूकम्पपछिको पुनःनिर्माण वर्षा अगावै सक्ने र मधेस समस्याका विषयमा संयुक्त गठबन्धनले उठाएका जायज माग सम्बोधन गरेर अघि बढ्न सुझाव दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रभावकारी काम गर्न नसक्दा यस वर्षको वर्षात्मा पनि पीडितले ओत नपाउने सङ्केत देखिएको बताए ।
“पुनःनिर्माणका लागि जम्मा भएको सहयोग परिचालन गरेर क्षति भएका संरचना बनाउन ढिला भएको छ, सरकार अझै स्वयम्सेवक परिचालनको रट लगाएर पुनःनिर्माणलाई ओझेलमा पार्दैछ, दलका तर्फबाट पुनःनिर्माणका लागि आवश्यकता अनुसार स्वयम्सेवक परिचालन गर्न हामी तयार छौँ”–उनले भने । बजेट आउनुपूर्व घनीभूत छलफल गरेर आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउन पनि सभापति देउवाले सरकारसँग माग गरे ।
एकीकृत नेकपा (माओवादी)का महासचिव कृष्णबहादुर महराले आगामी संसद् अधिवेशन र भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी बनाउने तथा मधेसमा आन्दोलनरत दलसँग वार्ताका विषयमा छलफल भएको जानकारी दिए ।
“यी विषयमा सुझाव सङ्कलन गर्न प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो, नियमावली बनाउन सबै दलको सहमति आवश्यक भएकाले छलफलबाट निष्कर्षमा पुग्न उहाँले दलहरुलाई आग्रह गर्नुभयो”–उनले भने ।
काँग्रेस केन्द्रीय सदस्य महेश आचार्यले भूकम्पबाट प्रभावित जनताका लागि स्वयम्सेवक परिचालन समस्याको सानो रुप भएकाले यसका लागि कार्यविधि निर्माण गरिनुपर्ने माग राखिएको बताए ।
“मधेस समस्या समाधानका लागि सरकारले अग्रसरता नलिएको जस्तो देखियो, प्रधानमन्त्रीलाई यसका लागि नेतृत्व लिन अनुरोध गरेका छौँ, सरकारमा रहेकै दलले मधेस समस्या समाधानका लागि सरकार अग्रसर हुन नसकेको विचार राखिरहेका बेला सकारात्मक कुरालाई सहयोग गर्छौँ भन्ने विचार राखेका छौँ”–उनले भने ।
पुनःनिर्माणका लागि जम्मा भएको अनुदानको चार प्रतिशत पनि खर्च हुन नसकेकाले त्यसतर्फ सत्तारुढ दलको ध्यानाकर्षण गराइएको नेता आचार्यले जानकारी दिए ।








