अनेरास्ववियुको राष्ट्रिय सम्मेलन, नेताहरू प्रतिष्ठाको लडाइँमा

‘मिनी महाधिवेशन’ प्रतिष्ठाको विषय
akhil-1-660x330फागुन ३ । काठमाडौं,एमाले नेताहरूले अनेरास्ववियुको २२औँ राष्ट्रिय सम्मेलनलाई पार्टीको दशौँ महाधिवेशनसँग जोडेर प्रतिष्ठाको विषय बनाएका छन् । अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल खेमाका नेताहरूले अखिलमा जित्न सके पार्टीको आगामी महाधिवेशनमा आफ्नो पक्षले सहजै जित्न सक्ने औपचारिक घोषणा नै गरेका छन् ।
तीन दिन लम्बियो, खर्च बढेर एक करोड
तीन दिनका लागि पूर्वघोषित सम्मेलन कम्तीमा तीनदेखि चार दिन लम्बिने भएको छ । शनिबार सकिनुपर्ने सम्मेलनको आइतबारसम्म निर्वाचन प्रक्रियासमेत अघि बढेको छैन । शनिबार मात्रै दुई सय विवादित प्रतिनिधिको टुंगो लगाइएको छ ।
महाधिवेशनको समयावधि कम्तीमा तीन दिन लम्बिँदा खर्च एक करोड नाघ्ने अनेरास्ववियुले जनाएको छ । यसअघि आवास र खानाका लागि कम्तीमा ६० लाख खर्च हुने अनुमान गरिएको थियो ।
एमालेको नवौ महाधिवेशनको झल्को
अध्यक्ष ओली तथा वरिष्ठ नेता झलनाथ खनाल र नेपाल तथा महासचिव ईश्वर पोखरेललगायतका नेता भने दुवै समूहको भेलामा देखिएका छैनन् । तर, पृष्ठभूमिमा चार नेताको संरक्षणमै सम्मेलन लम्बिएको स्रोतको भनाइ छ । पार्टी नेताहरू नवौँ महाधिवेशनकै शैलीमा विद्यार्थीका भेलामा सक्रिय छन् ।
अनेरास्ववियुका पूर्वअध्यक्षसमेत रहेका सचिव योगेश भट्टराई, पूर्वमहासचिव तथा पार्टी उपमहासचिव घनश्याम भुसाललगायतले दीपक गौतम नेतृत्वको समूह तथा पूर्वअध्यक्ष तथा पार्टी स्थायी समिति सदस्य शंकर पोखरेल, पोलिटब्युरो सदस्य भानुभक्त ढकाल एमालेको महाधिवेशन झल्को दिने गरी नवीना लामाको पक्षमा खटिएका छन् ।
दशौँ महाधिवेशन जित्न गौतमलाई जिताऔँ : भट्टराई
१९ महिनाको अवधिमा अध्यक्ष केपी ओलीले एकपटक पनि राम्रोसँग केन्द्रीय कमिटी बैठक नराखेर पार्टी अस्त–व्यस्त बनाए । त्यसैले ओलीको विकल्प खोज्नैपर्ने अवस्था आइसक्यो । दशौँ महाधिवेशनमा हाम्रो नीतिअनुसारको नेतृत्व जिताउन पनि अखिलको यो महाधिवेशनमा गौतमको टिमले जित्नैपर्छ ।
नवीनाले जित्दा जबज पक्षधरको विजय : पोखरेल
पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको रक्षा र प्रयोगका लागि नवीनाको टिमलाई शिरदेखि तिरसम्म जिताउनैपर्छ । यो टिमले नजित्दा जनताको बहुदलीय जनवादले हार्छ ।
यलम्बरमा नवीना समूहको भेला
नवीना समूहले यलम्बर पार्टी प्यालेसमा शनिबार र आइतबार दुईपटक भेला आयोजना गरेको छ । पूर्व विद्यार्थी नेता शंकर पोखरेलको प्रमुख आतिथ्यमा दुईपटक आयोजित भेलामध्ये अघिल्लो भेलाले पदाधिकारीको उम्मेदवार घोषणा गरेको थियो भने पछिल्लो भेलामा सांस्कृतिक कार्यक्रम आयोजना गर्‍यो । भेलामा पोखरेलसहित पूर्वमहासचिव ढकालले पार्टीको मार्गदर्शक सिद्धान्त जबज बचाएर यसको सही प्रयोगका लागि नवीना ‘टिम’लाई जिताउन निर्देशन दिए ।
क्वालिटीमा गौतम समूहको भेला
गौतम समूहले क्वालिटी बैंक्वेट बुद्धनगरमा आइतबार भेला आयोजना गरी पदाधिकारीको उम्मेदवार सार्वजनिक गरेको छ । भेलामा पूर्व विद्यार्थी नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई, राजेन्द्र राई, ठाकुर गैरे, रामकुमारी झाँक्रीलगायतले नवौँ महाधिवेशनबाट स्थापित पार्टीको विचार स्थापित गर्दै दशौँ महाधिवेशनमा नीतिअनुरूपको पार्टी नेतृत्व निर्माणका लागि गौतम समूहलाई जिताउन निर्देशन दिए । उनीहरूले भेलामा पार्टीको नेतृत्व गर्न अध्यक्ष केपी ओली पूर्ण असफल भइसकेको भन्दै विकल्प खोज्नुपर्ने वेला आइसकेको घोषणासमेत गरे ।
एक दिन पर सर्‍यो उम्मेदवारी दर्ता
अध्यक्षमण्डलले आइतबार बेलुकीसम्म उम्मेदवारी दर्ता गर्ने तयारी गरे पनि दुवै पक्षले गुटबन्दी चर्काउँदै निर्वाचन प्रक्रियालाई सहयोग नगरेपछि उम्मेदवारी दर्ता सोमबारका लागि सरेको छ । ‘गुटबन्दी देखिएको छ, तर महत्त्व नदिईकन हामीले निष्पक्ष ढंगले चुनावी प्रक्रिया अघि बढाइसकेका छौँ,’ अध्यक्षमण्डलका अध्यक्ष गोकर्ण विष्टले भने । मतदाता नामावली भने आइतबार राति प्रकाशित भएको छ । विष्टले मंगलबार नेतृत्वको निर्वाचन गर्नेगरी प्रक्रिया अघि बढेको जानकारी दिए ।
उम्मेदवारको अन्तिम सूची तयार हुँदै
लामा र गौतम दुवै समूहबाट पदाधिकारीहरूको नाम सार्वजनिक भइसकेको छ । तर, केन्द्रीय सचिवालय, केन्द्रीय सदस्यदेखि राष्ट्रिय पार्षद सदस्यसम्म समूहगत रूपमै लिस्ट तयार पार्न दुवै समूहले अन्तिम कसरत गरिरहेको छ । लामा समूहमा नेता भानुभक्त ढकालको नेतृत्वमा सूची तयार भइरहेको छ भने गौतम समूहको लिस्ट नेता राजेन्द्र राई र ठाकुर गैरेलगायतले तयार पारिरहेका छन् ।
दुवै पक्षले एकैपटक आफ्ना पक्षका उम्मेदवार सूची दर्ता गराउने गरी गृहकार्य गरिरहेका छन् । १५ सय ४३ प्रतिनिधिमध्ये दुवै पक्षमा करिब ६ सय आकांक्षी छन् । लामा समूहले सहजै पदाधिकारी टुंगो लगाए पनि गौतम समूहमा धेरै सचिवालय सदस्य रहेकाले चित्त बुझाउन हम्मे परेको छ । दुवै पक्षले एकदेखि सय मतको अन्तरमा जित्ने दाबी गरेकाले प्रतिस्पर्धा तीव्र देखिएको छ ।
नवीना समूहमा खुलेका नेता
नवीना समूहमा पूर्व विद्यार्थी नेताहरू शंकर पोखरेल, भानुभक्त ढकाल, हिक्मत कार्की, खिमलाल भट्टराई, रूपनारायण श्रेष्ठ, महेश बस्नेत, रवीन्द्र अधिकारी, माधव ढुंगेल, केशव पाण्डे, किशोरविक्रम मल्ललगायत छन् ।
गौतम समूहमा खुलेका नेता
गौतम समूहमा पूर्व विद्यार्थी नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई, टंक कार्की, तुलबहादुर गुरुङ, राजेन्द्रककुमार राई, जगन्नाथ खतिवडा, अरुण नेपाल, ठाकुर गैरे, रामकुमारी झाँक्री, रचना खड्कालगायत छन् ।नयाँ पत्रिका

सम्बन्धित शिर्षकहरु