सुशीलदाको क्याबिनेटमा काम गर्दा

mahesh-basnet1_1माघ २९ । काठमाडौं, संविधानसभाको दोस्रो निर्वाचनपछि कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बन्यो । सरकारमा एमाले पनि सहभागी भयो । त्यही सरकारमा मलाई पार्टीले पनि उद्योगमन्त्रीको जिम्मेवारी दियो । लामो समयदेखि स्वच्छ छवि भएका, निष्ठा र सादगी जीवनका प्रतीकका रूपमा चित्रित सुशील कोइराला नेतृत्वको क्याबिनेटमा म पनि सहभागी हुन पाउनु एउटा अवसर पनि थियो । उहाँसँग राजनीतिका धेरै गुण सिक्न पाउनेमा म विश्वस्त थिएँ ।

संयोग, त्यो सुशीलदा प्रधानमन्त्री भएको पहिलोपटक थियो । म पनि पहिलोपटक मन्त्री पदको जिम्मेवारीमा थिएँ । त्यसैले, ममा एउटा फरक अनुभूति थियो, उत्साह थियो । उद्योगको क्षेत्रमा नयाँ काम गर्नुपर्छ र नीतिगत सुधार गर्नुपर्छ भन्ने थियो । तर, त्यसका लागि मेरो मात्र भूमिका हुने थिएन, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयको पनि सहज सहयोगको आवश्यकता थियो ।

मैले मन्त्री पदको शपथ लिएलगत्तै उहाँले मलाई राष्ट्रपति रामवरण यादवकै अगाडि भन्नुभयो, ‘तपार्इं युवा मान्छे, ठूलो अवसर पाउनुभएको छ । पार्टी अध्यक्ष केपी ओलीज्यूले ठूलो विश्वास गर्नुभएको छ । तपाईंले काम गरेर जिम्मेवारी पूरा गर्नुहोला, महेशजी ।’ यो कुरा उहाँले सिरियस्ली भन्नुभएको थियो । मेरा लागि त्यो पनि एउटा उत्साह थियो ।
पछि क्याबिनेटमा मैले लगेका प्रस्तावमा उहाँले समर्थन पनि जनाउनुभयो । प्रस्ताव नयाँ भएकाले पनि हुन सक्छ, उहाँ त्यसलाई गम्भीर भएर लिनुहुन्थ्यो ।

१२ वैशाखको भूकम्पपछि सरकारले राहत बाँड्ने, जस्तापाता बाँड्ने विषयमा क्याबिनेटमा छलफल भयो । त्यतिवेला सुशील कोइरालाले ‘यो जिम्मेवारी उद्योग मन्त्रालयलाई दिनुपर्छ, मन्त्री पनि, सचिव पनि राम्रा छन्’ भन्नुभयो ।
क्याबिनेटमा केही कुरामा एमालेको मत बुझ्नुपर्दा गृहमन्त्री वामदेव गौतम भन्नुहुन्थ्यो, ‘कि कसो हो महेशजी ?’ एउटा सानो मन्त्री भएकाले म धेरै कुरा गर्दिनथेँ । तर, यस्ता विषयमा निर्णय गर्दा म पार्टी अध्यक्ष केपी कमरेडलाई फोन गर्थेँ र उहाँको धारणा पनि क्याबिनेटमा राखिदिन्थेँ । मैले यस्तो गर्ने भएकाले सुशीलदामा परेको रहेछ– एमाले अध्यक्षको कुरा ल्याउने महेशले हो । त्यसैले पनि होला, कहिलेकाहीँ कुनै विषयमा विवाद हुँदा उहाँ भन्नुहुन्थ्यो, ‘यो कुरामा सम्झाउनुपर्ने भयो, महेशजी ।’

मलाई अत्यन्त धेरै विश्वास र प्रोत्साहन गर्दा–गर्दा पनि उहाँका केही कमजोरी अवश्य थिए । क्याबिनेटमा उहाँ धेरै बोल्नुहुन्थेन । र, कहिलेकाहीँ उहाँलाई भेट्न पनि समय मिलाउन अत्यन्त गाह्रो हुन्थ्यो । एउटै क्याबिनेटको मन्त्रीले भेट्न खोज्दा पनि प्रधानमन्त्रीको समय नमिलेका प्रसंग पनि नभएका होइनन् ।

उहाँले पार्टीलाई अत्यन्त सूक्ष्म कुरामा पनि ध्यान दिनुहुन्थ्यो । यो कुराको प्रतीत क्याबिनेटमै पनि हुन्थ्यो । जस्तो, कुनै राजनीतिक नियुक्तिका प्रसंग आउँदा उहाँ भन्नुहुन्थ्यो, ‘त्यसमा कुनै न कुनै पदमा कांग्रेसलाई पनि राखिदिनुस् है ।’ पार्टी ‘स्टाब्लिस’ गर्ने कुरामा उहाँको यस्तो सूक्ष्म चासो हुन्थ्यो ।

उहाँ विदेश भ्रमण गर्ने, सरकारी पैसामा घुम्ने मन्त्रीहरूलाई त्यस्तो नगरे हुन्थ्यो, भन्नुहुन्थ्यो । मैले पनि मेरो कार्यकालभरि सरकारी पैसामा न त कतै घुम्न गएँ, न त्यतिवेला बिरामी हुँदा उपचारमा सरकारी रकम खर्च गरेँ । यो प्रसंग उहाँले क्याबिनेटमै पनि उठाउनुभएको थियो । उहाँ मितव्ययी भएको भन्दै मलाई थप हौसला दिनुहुन्थ्यो । उहाँसँग एउटै क्याबिनेटमा काम गर्न पाउँदा मैले धेरै सिकेँ र उहाँको व्यवहारले सन्तुष्ट पनि भएँ ।-नयाँ पत्रिका

सम्बन्धित शिर्षकहरु