काठमाडौँ, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली कांग्रसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको भौतिक शरीर नरहे पनि नेपाली राजनीतिमा उनका योगदान युगौँसम्म अविस्मरणीय रहनेछ ।
संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराला गणतन्त्र नेपालको छैटौं प्रधानमन्त्री थिए। कोइराला करिब २० महिना मुलुकको कार्यकारी प्रमुख भएका थिए। गएराति १२ः५० बजे आफ्नै निवास महाराजगन्जमा ज्वरो र निमोनियाका कारण कोइरालाको निधन भएको थियो ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न रही उनी कांग्रेसको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यबाहक सभापति हुँदै १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।
लामो समयदेखि अर्बुद क्यान्सर रोगको उपचाररत ७६ वर्षीय अविवाहित कोइराला पार्टीको १३औँ महाधिवेशन तयारी र नेतृत्वमा अन्तिम समयसम्म जुटिरहेका थिए। उनलाई पुनः पार्टी सभापतिका प्रत्यासीका रुपमा समेत हेरिएको थियो । पार्टीमा तीन प्रमुख नेता आफू, शेरबहादुर देउवा, रामचन्द्र पौडेल मध्येका प्रमुख कोइरालाको निधनले कांग्रेसमा अपूरणीय क्षति पुगेको छ । उनको निधनसँगै महाधिवेशनका सम्पूर्ण कार्यक्रम हाललाई स्थगन भएको छ ।
सहमति, सहकार्य र मेलमिलापका अगुवा
त्यागी र निष्ठावान् नेताका रुपमा स्थापित तथा सादा जीवन एवम् उच्च विचारका धनी कोइराला राजनीतिमा निरन्तर सहमति, सहकार्य, मेलमिलाप र एकताका आधारमा सबै समस्याको छिनोफानो हुनुपर्ने भन्ने मान्यतामा दृढ थिए ।
पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म १९९६ साउन २८ गते मोरङको विराटनगरमा भएको थियो । उनको पुख्र्यौली थलो सिन्धुलीको दुम्जा हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने कृष्णप्रसाद कोइरालादेखि जोडिने पारिवारिक शृङ्खलामा सुशील पनि एक छन् । उनका छ भाइ र तीन दिदीबहिनी छन् ।
दोस्रो संविधानसभामा ठूलो कांग्रेस पार्टी भएपछि कोइराला २०७० माघ २७ गते प्रधानमन्त्री निर्वाचित भएका थिए । संविधान जारी भएपछि प्रमुख तीन राजनीतिक दलको सहमतिअनुसार उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।
निर्वासन र कारागार यात्रा
राजनीतिका क्रममा डेढ दशक निर्वासन जीवन व्यतित गर्नुभएका कोइराला विसं २०३० तिर सशस्त्र क्रान्तिका क्रममा निर्वासनबाटै पक्राउ परेका थिए । पक्राउपछि उनलाई दिल्ली कारागारमा राखिएको थियो । कारागारमा रहँदा उहाँले अत्यन्त क्रूर र अमानवीय यातना भोग्नुपरेको थियो ।
छ वर्ष जेल जीवन र निर्वासनपछि २०३६ सालको जनमत सङ्ग्रहका समयमा बहुदलका पक्षमा जनमत तयार गर्न स्वदेश फर्किएर उनी सभापति विश्वेश्वरप्रसाद कोइराला र नेता गिरिजाप्रसाद कोइरालाका साथमा बहुदलको प्रचारमा देश दौडाहामा लागे । जननायक विश्वेश्वरप्रसादको निधनपछि पार्टी कामका लागि उहाँ युरोपेली मुलुकमा खटिएका थिए।
युरोपबाट स्वदेश फर्किएर उनी पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनमा होमिए । विसं २०४६ को प्रथम जनआन्दोलनमा पनि उनको सक्रिय भूमिका थियो । विसं २०४८ को संसदीय निर्वाचनमा उहाँ बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भएका थिए । उसबेला मन्त्री पदका लागि आग्रह गरिँदा उनले सार्वजनिक पदभन्दा पार्टीलाई प्राथमिकता राखेर पार्टीकै काममा खटिएका थिए ।
विसं २०५६ को संसदीय निर्वाचनमा उनी पुनः बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भए । विसं ०६२÷६३ को जनआन्दोलनमा उहाँले अहम् भूमिका निर्वाह गरे ।
विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा उनी बाँकेबाट पराजित भए । त्यसपछि विसं २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उनी बाँके र चितवनबाट सभासद्मा विजयी भएका हुन् ।
कुशल सङ्गठक
पार्टीभित्र सन्त, भद्र र निष्ठावान् नेताका रुपमा परिचित नेता कोइराला पार्टी सङ्गठनभित्र कुशल सङ्गठक पनि थिए ।
बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील उनी २००७ सालको जहानियाँ राणा शासन अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी भएका थिए। विसं २०१० देखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा कांग्रेस केन्द्रीय सदस्य भएका थिए । विसं ०४२ को सत्याग्रहदेखि ०४६ र ०६२÷६३ को आन्दोलनमा उनले सक्रिय सहभागिता जनाएका थिए।
पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका सुशीलले सहमति, सहकार्य र मेलमिलापको मार्गबाट हिँडेर मुलुकलाई नयाँ संविधान दिने प्रण पूरा गरी सरकारको नेतृत्व हस्तान्तरण गरेका थिए ।
जहानियाँ राणा शासनको विरुद्धमा आन्दोलनको अगुवाइ गर्नुभएका कांग्रेसका संस्थापक नेता तारिणीप्रसाद कोइरालाको जीवनलाई उनले नजिकबाट हेरेका थिए। सभापति कोइरालाले विसं २०१२ मा सदस्यता लिई पार्टी काममा होमिनुभएको थियो । जननायक विश्वेश्वरप्रसाद कोइरालाको हातबाट उनले पार्टी सदस्यता लिएका थिए।
विसं २०१७ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वको सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ गरेपछि उनी भारत निर्वासनमा गएका थिए।
“राजनीतिकर्मीको सबैभन्दा ठूलो गुण र शक्ति इमान्दारिता नै हो” भन्ने कोइराला पञ्चायत व्यवस्थाको विरुद्धको आन्दोलनमा निरन्तर लागे । पार्टीले तत्कालीन रुपमा घोषणा गरेको सशस्त्र आन्दोलनमा उनले स्वर्गीय नेता गिरिजाप्रसादको साथमा रहेर काम गरे।
सार्कस्तरमा कोइराला
कोइरालाकै प्रधानमन्त्रीत्वकालमा गत ०७१ मङ्सिरमा काठमाडौँमा सम्पन्न १८औँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको शिखर सम्मेलनमा कोइरालाले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच सौहार्दता बढाउन भूमिका निर्वाह गरेका थिए ।
कोइराला ‘सोसलिस्ट इन्टरनेसनल’को उपाध्यक्षसमेत बनेका थिए ।
बिपीदेखि गिरिजाप्रसादसम्म नजिक
नेता कोइरालाले विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद जस्ता नेतासँग निकट रही काम गरे । उनले पत्रकारका रुपमा काम गर्नुभएको थियो । उनी पार्टीको मुखपत्र ‘तरुण’ पत्रिकाको सम्पादकसमेत थिए । प्रजातान्त्रिक समाजवादका बारेमा उनले लेखेका रचनाले पार्टी वैचारिक रुपमा निर्देशित गरेको थियो ।
उनका रचना पार्टीका तत्कालीन शीर्ष नेताहरू विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले समेत अध्ययन गरेका थिए ।








