माघ १८ । काठमाडौं, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विखण्डन र हिंसामार्फत गणतन्त्रको अन्त्य गर्ने दिशामा मुलुकलाई अघि लगिँदै गरेको उल्लेख गर्दै यसमा सचेत रही नीति तय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
आइतबार बिहान र साँझ दुईपटक बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई सम्भावित भारत भ्रमणका क्रममा मुलुकको राष्ट्रियता, एकता र अखण्डतालाई सर्वोपरि राख्नसमेत आग्रह गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा समितिका संयोजक दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘डिजाइन एकतिरबाट मात्र होइन, धेरैतिरबाट आएको छ । डिजाइनको मुख्य उद्देश्य गणतन्त्रको अन्त्य रहेको स्पष्ट छ ।’ सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगलाई प्रभावकारी ढंगले अघि बढाउन सरकारसँग आग्रह गर्दै दाहालले भने, ‘द्वन्द्वकालीन मुद्दा ब्युँत्याउँदै नेताहरू समाप्त गर्न खोजिँदैछ । त्यसतर्फ सरकारको सजगता अपरिहार्य छ ।’
सरकारले राष्ट्रियता बचाउका लागि अघि बढ्नुपर्ने उल्लेख गर्दै दाहालले नेपालको विखण्डनका लागि धेरैतिरबाट प्रयास भइरहेको बताए । ‘मुलुकको विखण्डन र हिंसाका विषयमा सरकार गम्भीर हुनैपर्यो’, दाहालले भने । राष्ट्रियताका विषयमा प्रमुख प्रतिपक्षी कांग्रेससँग निकट हुनसमेत दाहालले सरकारलाई आग्रह गरेको स्रोतले बतायो ।
एमाओवादी महासचिव कृष्णबहादुर महराले प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणका समयमा नेपालको बृहत् हित र एकतालाई ध्यान दिन संयन्त्रले निर्देशन दिएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले सम्भावित भारत भ्रमण मुलुकका राजनीतिक दल र सम्बद्ध पक्षसँग बृहत् परामर्शमा नेपालको एकीकृत धारणाका साथ गर्नुहुन्छ ।’ अन्नपूर्ण पोष्ट दैनिक ।








