पाचँ सय बढी अभिभावक एकै ठाउँमा भेला हुँदा

अस्ट्रेलिया, अस्ट्रेलियामा पाँचसय बढी अभिभावकहरू एकै स्थानमा भेला हुँदा त्यहाँको माहौल एकाएक अर्कै बन्न पुगेको छ । एनआरएन अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिको आयोजनामा सिड्नीमा एकै पटक ५ सय भन्दा बढी अभिभावकहरुको जमघट भएको हो ।

स्थानीय कटाई नेशनल पार्क र वाईजमेन फेरी घुम्नेगरी शनिबार आयोजना गरेको कार्यक्रममा उपस्थित भएका अभिभावकहरुले पहिलो पटक आफूजस्तै र आफ्नै उमेर समूहका साथी दौंतरी यति ठूलो संख्यामा भेट्न पाएको पुलकित मात्र भएनन् गीत, नाच, भजन मात्र होइन क्यारिकेचर र रमाइला चुट्किला सुनेर समेत ताली बजाए ।
एनआरएन संरक्षक ईन्द्रा वनले यस किसिमको बृहद अभिभावक भेटघाट आयोजना अष्ट्रेलियामा मात्र नभएर विश्वमै पहिलो पटक भएको भन्दै अन्य देशहरुले समेत निरन्तरता दिनुपर्ने विचार व्यक्त गरिन् । उनले भनिन्, ‘एनआरएन न्यूसाउथवेल्सले यो एतिहासि कामको थालनी गरेको छ यो आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ । अष्ट्रेलियाबाट नै नेपाल फेष्टिभलको सुरुवात भयो जसलाई विश्वका एनआरएनले अहिले पछ्याइरहेको उनको भनाई थियो ।

वास्तवमा अष्ट्रेलियामा अभिभावकहरु आफ्ना सन्तानको प्रगति हेर्न उनीहरुको पढाई सकिएपछिको दिक्षान्तमा आउँछन् अथवा छोराछोरीले सन्तान जन्माएपछि उनीहरुको हेरचाह र स्याहार गर्न आउँछन् । यसरी आउँदा यहाँको जीवनशैली अनुसार उनीहरु भिज्न धेरै समय लाग्छ। नेपाली अभिभावकहरूलाई अष्ट्रेलियाको वातावरणसँग समायोजित गराउन कार्यक्रम आयोजना भएको आयोजकले दाबी गरेका छन् ।

‘यति धेरै संख्यामा नेपालबाट आएका अभिभावकहरु एकै ठाउँमा भेट्नु त सपना जस्तै हुन्थ्यो,’  एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेले भने ।  पोखरेलले सकेसम्म सबैलाई समेट्ने कोसिस गरिएपनि अझै केही अभिभावकहरु छुट्नुभएको र उहाँहरुको लागि फेरि अरु कार्यक्रम ल्याउने बताए ।

उक्त अवसरमा गरिएको औपचारिक कार्यक्रममा एनआरएन न्यूसाउथवेल्सका सचिव भूपाल सिटौलाले स्वागत गरेका थिए भने प्रमुख अतिथि एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल थिए । कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले अभिभावकहरुको चाहना बमोजिम एनआरएन न्यूसाउथवेल्सले गरेको कार्यक्रमबाट उत्साही बनेको बताए ।

सम्बन्धित शिर्षकहरु