बैतडी,बझाङको कफलसेरीका नन्ता बोहरा र मङ्गली बोहराले आफ्नो बाबुलाई दागबत्ती दिएका छन । सुदूरपश्चिममै पहिलो पटक उनीहरुले पुरानो परम्परालाई त्याग्दै बाबुलाई शुक्रबार दागबत्ती दिएका हुन् ।
कफलसेरी–७ जाजल्लीका अन्नु जाग्रीको बिहीबार ६५ वर्षको उमेरमा मृत्यु भएको थियो । जाग्रीका चार छोरीमध्ये जेठी र माइली छोरीले दागबत्ती दिएको स्थानीयले बताएका छन ।सुदूरपश्चिममा महिलाले मृत शरीरलाई नछुने परम्परा कायम रहँदै आएको छ ।
महिलाहरूले शवलाई नछुने, मलामी तथा चितासम्म जानु हुन्न भन्ने परम्परा कायम रहँदै आएको भएपनि अब त्यो अन्त्य भएको नागरिक समाजका अगुवा धर्मजङ्गबहादुर सिंहले बताउनु भयो ।
बाबुलाई दागबत्ती दिने नन्ता र मङ्गली दुवै महिला विवाहित हुन् ।
आफ्ना बुबाको दागबत्ती छोरीले दिएपनि किरिया भने मृतकका कान्छो भाइको छोरा कर्णबहादुर जाग्रीले गर्नु हुने भएको मृतककी श्रीमती जयनादेवी जाग्रीले जानकारी दिनु भयो ।
मृतकका चारवटी छोरी भएको र छोरा नभएपछि छोरासरह छोरीले नै दागबत्ती दिएको उहाले बताउनु भयो ।








