अनेसासको ४३ औँ स्थापना दिवसका अवसरमा आसाममा कविता र गजल प्रशिक्षण

inlsआसाम, असम नेपाली साहित्य सभा केन्द्रीय समितिको तत्त्वावधान तथा सम्बन्धित जिल्ला समितिहरुको आयोजनामा पूर्वोत्तर भारतको आसाम राज्यका सात जिल्लामा कविता र गजल लेखनसम्बन्धी बृहत् प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

अनेसासको ४३ औँ स्थापना दिवसका अवसरमा आयोजित दुईहप्ते उक्त प्रशिक्षणमा नेपालबाट आमन्त्रित कवि देवी नेपाल र गजलकार सुरेश सुवेदीले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । चिराङ जिल्लाको काजोल गाउँमा सिक्किम विश्वविद्यालयका नेपाली विभाग प्रमुख डा कविता लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा असम नेपाली साहित्य सभाबाट प्रकाशित ‘गजलः सिद्धान्त र विकासयात्रा’ नामक पुस्तकको विमोचन पनि भयो ।

मूल प्रशिक्षक देवी नेपालको ‘नेपाली गजलः एक सङ्क्षिप्त चर्चा’ विषयको कार्यपत्रको प्रस्तुतिबाट प्रारम्भ भएको उक्त प्रशिक्षण निकासी, ओदालगडी, समारदलनी, बोकाखात, मार्घेरिटा, हवाइपुर र गुवाहाटी गरी सात जिल्लामा सम्पन्न भएको हो । प्रशिक्षणबाट सात सय प्रशिक्षार्थी लाभान्वित भएको र तीमध्ये करिब तीन सय नयाँ पुस्ताका साहित्का जन्मिन सक्ने विश्वास अनेसासका अध्यक्ष डम्बर दाहालले व्यक्त गरे ।

प्रशिक्षकद्वय नेपाल र सुवेदीले नेपाली कविता, गीत र गजलमा प्रयोग हुने सम्पूर्ण लय र सैद्धान्तिक पक्षका बारेमा जानकारी प्रदान गरी प्रयोगात्मक कक्षामा प्रवेश गर्ने र प्रशिक्षार्थीले दिएका शब्द सङ्कलन गरी त्यहीँ कविता निर्माण गरिदिने शैलीले गर्दा प्रशिक्षण सुरु भएको दुई घन्टामा नै कहिल्यै कविता नलेखेको व्यक्तिले समेत कविता लेखेको अनेसासका केन्द्रीय उपाध्यक्ष प्रा भवानीप्रसाद शर्माले बताए ।

अबका छ महिनाभित्र कम्तीमा एक एक सय नवीन स्रष्टालाई समावेश गरी ‘असमेली नेपाली बाल साहित्य’ र ‘असमेली नेपाली गजल’ कृति प्रकाशन गरिने जानकारी अनेसासका मूल सचिव डा चिन्तामणि शर्माले दिए ।

ती कार्यक्रममा असमेली नेपाली साहित्यकार डा खेमराज नेपाल, डा. देवकीदेवी तिमल्सिना, रेवतीमोहन तिम्सिना, गोमा शर्मा, नव सापकोटालगायतको सहभागिता थियो । गुवाहाटीमा आयोजित समापन समारोहमा वरिष्ठ उपन्यासकार लीलबहादुर क्षेत्रीले आजभन्दा चालीस वर्ष अगाडि यस्तो अवसर पाएको भए आफू पनि कवि बन्ने रहेछु भन्ने विचार प्रकट गरे भने भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय उपाध्यक्ष कृष्ण भुजेलले प्रशिक्षकहरुमा रहेको प्रशिक्षण शैलीले जो कोहीलाई पनि कवि तथा गजलकार बनाउन सक्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित शिर्षकहरु