पुस २१ ।सप्तरी, हतियारधारी समूहले सोमबार साँझ नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असइ)को गोली हानेर हत्या गरेको छ ।
भारतसँग सीमा जोडिएको सप्तरीको नर्घो गाविसको झौहरा चोकनजिकै साँझ करिब ६ बजे ४० वर्षीय असइ रमेश सुब्बामाथि गोली हानिएको थियो । मोटरसाइकलमा रहेका हतियारधारीले सुब्बामाथि दुईवटा गोली प्रहार गरेका थिए । उपचारका लागि तत्कालै सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालका अनुसार झौहरा चोकनजिकै रहेको झुटकी प्रहरी चौकी झुटकी जाने क्रममा हतियारधारीले असइ सुब्बामाथि गोली हानेका थिए । उनको छाती र तिघ्रामा दुईवटा गोली लागेको थियो ।
झापाको भद्रपुर नगरपालिका–१० का स्थायी बासिन्दा सुब्बा ६ महिनाअघि मात्र सरुवा भई सप्तरी आएको प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।
घटनापछि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका सशस्त्र प्रहरी उपरीक्षक दमन थापासहितका सुरक्षा प्रमुख अञ्चल अस्पताल पुगेका थिए । अस्पतालमै भेटिएका सगरमाथा अञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमबहादुर सिंहले घटनाको अनुसन्धान भइरहेको बताए । घटनापछि प्रहरी प्रमुख एसपी ढकालको नेतृत्वमा प्रहरीका छुट्टाछुट्टै टोलीले सर्च अप्रेसन सुरु गरेको छ । घटना भएको क्षेत्रमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बेस क्याम्पसमेत रहेको छ ।
गोइतले लिए जिम्मा
यसैबीच, घटनाको जिम्मेवारी मधेसमा सशस्त्र गतिविधि गरिरहेको अखिल तराई मुक्ति मोर्चाले लिएको छ । मोर्चाका केन्द्रीय संयोजक जयकृष्ण गोइतले टेलिफोन गरी राज्यलाई चेतावनीस्वरूप गोली प्रहार गरिएको दाबी गरे । छुट्टै तराई राष्ट्रको माग गर्दै लामो समयदेखि सशस्त्र गतिविधि गर्दै आएको भए पनि गोइत नेतृत्वको मोर्चा पछिल्लो समय निष्क्रिय देखिएको थियो । नयाँ पत्रिका।








