पुस १९ । काठमाडौं, भरतमोहन अधिकारी उमेरले ७९ वर्षमा हिँडिरहेका छन् । झन्डै पाँच दशकसम्म पार्टीको नीति–निर्माणको तहमा रहेर राजनीति गरेका अधिकारी अहिले पनि एमालेका तर्फबाट सांसद छन् । ०४८ देखि एकपटकबाहेक निरन्तर सांसद बनेका, चारपटक अर्थमन्त्री र दुईपटक उपप्रधानमन्त्री बन्ने सौभाग्य पाएका उनलाई लाभको पद लिएको हिसाबले भाग्यशाली नेता नै भन्नुपर्छ । तर, उनी आफूलाई दुस्खी नेता ठान्छन्, जिन्दगीमा चाहेर पनि गर्न नपाएका–नसकेका केही कामका कारण । राजनीतिबाट समेत ‘रिटायर्ड’ जिन्दगी जिइरहेका अधिकारीले नयाँ पत्रिकाका प्रवीण देवकोटासँग आफ्नो राजनीतिक जीवनका केही दु:ख बिसाए:
राजनीतिमा लाग्ने सबैलाई मेरोजस्तो अवसर नआउन सक्छ । इमानदारीसाथ भन्छु, कमै व्यक्तिले पाउने पदीय लाभ मैले पाएकै हुँ । तर, केही कुराले म आफ्नो राजनीतिक जीवनबाट दु:खी छु । पदमा रहँदा ल्याएका केही महत्त्वपूर्ण कार्यक्रम लागू गर्न नपाउँदा पीडा हुने रहेछ । यदि, आफ्नो ‘भिजन’ लागू गर्न मात्रै पाएको भए सफल–असफल जे भए पनि चित्त बुझ्ने आधार हुन्थ्यो । गर्छु भनेर थालेको काम बीचैमा छोड्नुपर्दा कति दु:खी भइन्छ भन्ने कुरा मैले महसुस गरेको छु । र, अहिले जीवनको उत्तराद्र्धमा त्यही कुरा पीडा बनेर बल्झिरहन्छ । चारपटक अर्थमन्त्री बनेर राज्यको नीति–निर्माण गर्ने सौभाग्य नमिलेको होइन । तर, कुनै पनि बजेट कार्यान्वयनका लागि पूर्ण कार्यकाल पाइएन । आफ्नो ‘भिजन’मा कम्तीमा दुई वर्ष ढुक्कले काम गर्न पाए देश र जनताका लागि परिणाम दिन सक्थेँ भन्ने लाग्छ । अहिले मलाई थकथकी छ ।
०५१ सालमा मनमोहन अधिकारीजी प्रधानमन्त्री हुँदा मेरो राजनीतिक जीवनमा पहिलोपटक महत्त्वपूर्ण अवसर प्राप्त भयो । अर्थमन्त्री बनेँ । मंसिरमा सरकार गठन भयो । पुसमा पूरक बजेट पेस गरेँ । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम ल्याएँ । पूर्ण बजेट नल्याएसम्म ६ महिनाका लागि प्रत्येक गाविसलाई तीन–तीन लाखका दरले बजेट वितरण गरियो । त्यो कार्यक्रमको सफलता र चर्चाबारे मैले बोलिराख्नैपर्दैन । सन् २००४ को रिपोर्टमा विश्व बैंकले ०५१ सालको ‘आफ्नो गाउँ आफँै बनाऔँ’ कार्यक्रमलाई नेपालको ५० वर्षे इतिहासकै सबैभन्दा राम्रो कार्यक्रम भन्यो । तर, कार्यक्रम प्रस्तुत गर्दा कांग्रेस र राप्रपाले संसद्मै भन्नु–नभन्नु भनेका हुन् । गाउँमा कनिका छरेर भ्रष्टाचार गरेको आरोप लगाए । ०५२ सालको पूर्ण बजेटमा बजेट बढाएर प्रत्येक गाविसलाई पाँच–पाँच लाख दिलाएँ । त्यो कार्यक्रम विकासको मोडेलका रूपमा ल्याएको थिएँ ।
०५२ सालको पूर्ण बजेटमा वृद्धभत्ता, महिला कार्यक्रम र ‘नौ स’का कार्यक्रम ल्याएँ । तर, ‘नौ स’को मोडेल कार्यान्वयन गर्न पाइनँ । सडक, स्कुल, स्वास्थ्य, साक्षरता अभियान, साना घरेलु उद्योग, साना सिँचाइजस्ता कार्यक्रम ‘नौ स’मा थिए । प्रत्येक निर्वाचन क्षेत्रका लागि बजेट छुट्याएर नौवटा काम गर्नैपर्ने भन्ने कार्यक्रम थियो । यसमा आफ्नो गाउँ जनताले आफँै बनाउन सक्छन् र नेपालको समृद्धि हुन्छ भन्ने मेरो अवधारणा थियो । असारमा कार्यक्रम ल्याएँ, साउनमा बजेट पेस गरेँ । तर, भदौमा मन्त्री पदबाट हट्नुपर्यो । कांग्रेस र राप्रपाले अविश्वासको प्रस्ताव ल्याएर सरकार ढालिदिए । नेपालको नियति भनौँ या अरू केही, सरकार गिराउने–बनाउने खेल कहिल्यै सुध्रिएन । यो कुराले म निकै दु:खी छु ।
एउटा व्यक्तिले कुनै कार्यक्रम ल्याउँछ भने कम्तीमा दुई वर्ष त लागू गर्न पाउनुपर्यो नि । यसलाई अन्याय भन्छु म । एउटा विकासको मोडेल लागू गर्न पाइनँ मैले ।
०००
०६१ सालमा शेरबहादुरजी नेतृत्वको पुनस्र्थापित सरकारमा मलाई अवसर मिल्यो, उपप्रधानमन्त्री र अर्थमन्त्री बन्ने । ०५२ सालको बजेट कार्यान्वयन गर्न नपाएको थकथकी ममा थियो । त्यसैले ०५२ कै निरन्तरताजस्तो गरी ‘गाउँ–गाउँमा सहकारी, घर–घरमा रोजगारी’ कार्यक्रम ल्याएँ । म उत्साहले काम गरिरहेको थिएँ । बजेट कार्यक्रम निर्माणकै क्रममा डिएफ्आइडीसम्बन्धी ब्रिटेनका मन्त्री मलाई भेट्न आएका थिए । उनले एड्सविरुद्धको कार्यक्रम राख्छौ भने सहयोग गर्छौँ भने । मैले हुन्छ भनेँ । तर, मैले उनीसँग अर्को पनि प्रस्ताव गरेँ । नेपालमा अत्यधिक समस्या बनेको मातृशिशु मृत्युदर घटाउन कार्यक्रम ल्याउँदै छु, सहयोग चाहियो भनेँ । यो कार्यक्रमलाई सहयोग पनि जुट्यो । सबै सरकारी अस्पतालमा नि:शुल्क सुत्केरी र घर जाने वेला ६ सय रुपैयाँ बाटो खर्च दिने कार्यक्रम लागू गराएँ । अहिलेसम्म पनि त्यो कार्यक्रम लागू छ । यही सफल कार्यक्रमको नाममा ०६५ सालमा माधव नेपालले युएनबाट पुरस्कार थाप्नुभयो ।
केही कार्यक्रम तत्काल लागू गरेर प्रतिफल लिन सकिन्छ । तर, सबै कार्यक्रम त्यस्ता हुँदैनन् । ठूला योजनाका कार्यक्रम गर्न समय लाग्छ । ‘गाउँ–गाउँमा सहकारी घर–घरमा रोजगारी’ राम्रोसँग लागू गर्न पाइएन । केही महिनामै राजा ज्ञानेन्द्रले ‘कु’ गरेर सरकार विघटन गरिदिए । केही गर्छु भन्ने मेरो सोच त्यतिवेला पनि पूरा हुन पाएन । अहिले सम्झिँदा मलाई थकथकी लाग्छ ।
०००
०६७ सालमा फेरि उपप्रधानमन्त्री र अर्थमन्त्रीको अवसर पाएँ । झलनाथ खनालजी प्रधानमन्त्री हुनुहुन्थ्यो । एक दिन म साँझतिर मन्त्रीक्वाटर जाँदै थिएँ । एक्कासि रेडियोबाट खबर पाएँ, झलनाथजीले ऊर्जा र सिँचाइ मन्त्रालयको जिम्मेवारी पनि थपिदिनुभएछ । मलाई एकचोटि सोधेको पनि होइन । म छक्क परेँ । मन्त्री भएको पनि रेडियो सुनेर थाहा पाउनुपर्ने †
त्यसवेला लोडसेडिङको चरम समस्या थियो । मैले तत्काल योजना बनाएँ, ऊर्जा संकट समाधानमा लाग्छु । मेरो र पार्टीको इतिहास बनाउने मौका हो भन्ने ठानेँ । समस्या र समाधानका उपाय बुझ्नतिर लागेँ । तत्कालीन मुख्यसचिव माधव घिमिरे, ऊर्जासचिव शीतलबाबु रेग्मी र सचिवहरूले ठूलो साथ दिनुभयो । १० दिन त मन्त्रालयको अरू सबै काम छोडेर समस्या बुझ्न लागेँ । जलस्रोत र ऊर्जा मन्त्रालय तथा विद्युत् प्राधिकरणका माफियाको चक्करले धेरै कुरो बिगारेको रहेछ ।
लेडसेडिङ हटाउँदै जाने ‘आइडिया’ आयो । मैले लोडसेडिङ हटाउँदै जाने योजनासहितको खाका तयार पारेँ । ६ महिने, एक वर्षे गर्दै ०७१–७२ सम्ममा लोडसेडिङ पूरै अन्त्य गर्ने योजना बन्यो । मन्त्रालय र प्राधिकरणलाई आफ्नै ढंगले काम गर्न दिने, तर अर्को उच्चस्तरीय आयोग बनाउने भन्ने निर्णय गराएँ । माफियाकरण अन्त्यका लागि विद्युत् लाइसेन्स पाएकालाई समय तोकेर काम नगरे लाइसेन्स खारेज गर्ने चेतावनी दियौँ । विद्युत् उत्पादनका लागि बनाएको योजना र कार्यक्रम देखेर विदेशी राष्ट्रहरू पनि लगानी गर्न उत्साहित भए । एडिबीको संयोजनमा काठमाडौंमा अन्तर्राष्ट्रिय लगानीकर्ताको सम्मेलन गर्ने कार्यक्रम ल्याएँ । प्रधानमन्त्री झलनाथजीलाई जानकारी गराएरै तयारी गरिरहेको थिएँ । विद्युत् उत्पादनको योजना थाहा पाएपछि अमेरिकी राजदूतले प्रधानमन्त्रीलाई बधाई दिए । दक्षिण कोरियाका राष्ट्रपतिले हाम्रा राष्ट्रपतिलाई पत्र लेखे, लगानी गर्ने इच्छासहित । सबैतिरबाट शुभकामना आए ।
मैले झलनाथजीलाई भनेँ– मैले नखोजेको–नसोचेको ऊर्जा मन्त्रालयको जिम्मा दिनुभयो । अब काम थालेको छु, प्रक्रियामा प्रवेश गर्न दिनुस् । उहाँले सहमति जनाउँदै ढुक्क भएर काम गर्नुस् भन्नुभयो । तर, दुई दिनपछि रेडियोबाटै सुनेँ, मलाई ऊर्जामन्त्रीबाट हटाइएछ । मलाई निकै नमज्जा लाग्यो । दु:खी भएमध्ये पनि सबैभन्दा दु:खी त्यतिवेलै भएँ ।
तुरुन्तै झलनाथजीकहाँ गएँ । ‘यो के गर्या तपाईंले’ भनेँ । उहाँले ‘केही छैन, केही छैन, गोकर्ण विष्ट त तपाईंको भाइजस्तो हो, तपाईंले भनेको मानिहाल्छन् नि’ भनेर हल्का प्रतिक्रिया दिनुभयो । गोकर्णजीप्रति मेरो कुनै गुनासो नै होइन, उहाँले पछि राम्रै काम पनि गर्नुभयो । तर, जुन मान्छेको भिजन छ, त्यो पूरा गर्न त पाउनुपर्यो नि । मेरो कुरा यत्ति हो । मैले त्यति मिहिनेत गरेर योजना बनाएँ, तर काम गर्ने वेला हटाइदिने ? मैले मेरो योजनामा काम गर्न पाएको भए अहिलेको ऊर्जा संकटमा धेरै राहत मिलिसक्थ्यो भन्ने मलाई लाग्छ । त्यो योजना सम्झेर अहिले दु:ख लाग्छ । झलनाथजी, मेरो र पार्टीकोसमेत इतिहास बन्ने कामको अवसर खोसिदिनुभएकोमा झलनाथजीसँग सबैभन्दा दु:खी छु ।
०००
०६८ सालमा झलनाथजीकै पालामा मैले बजेट पेस गरेँ । ०६३ को संविधानले इंगित गरेका कुरालाई बजेटमा समावेश गरेँ, तीन माध्यमबाट विकास गर्ने कुरा । सरकार, निजी क्षेत्र र सहकारीको बेग्लाबेग्लै काम प्रस्ट पारेको थिएँ । अर्को कुरा, मैले विकास खर्च बढाएर ६० प्रतिशत पुर्याएको थिएँ । बढी बजेट खर्चिंदै आएको अन्य खर्च कटौती गरेर विकास बजेट बढाएँ । सरकारको मुख्य खर्च विकासमा जाओस्, पूर्वाधारमा जाओस् भन्ने थियो । स्वदेशी निजीदेखि विदेशी लगानीकर्तालाई मापदण्ड नै बनाएँ । सहकारी अवधारणाअन्तर्गत ग्रामीण महिलालाई उत्पादनमा लगाउने मोडेल पेस गरेँ । उत्पादनमूलक कामका लागि सहकारी चलाउँछन् भने गाउँका महिलालाई बिउ र पुँजी सरकारले दिने कुरा स्पष्टसँग कार्यक्रममै समेटेँ । तर, यी कार्यक्रम लागू गर्न पाइएन । असारमा कार्यक्रम ल्याएँ, साउनमा बजेट पेस गरेँ, भदौमा त सरकार ढलिहाल्यो । मेरो यसपटकको अवसर पनि काम गर्न नपाईकनै गयो । त्यसपछि बाबुरामजीको नेतृत्वमा बनेको सरकारले मेरा एउटै कार्यक्रमलाई पनि समेटेन ।
०००
संविधानमै दुईवटा कुरा लेख्न पनि मैले राजनीतिक जीवनमा ठूलो जोड गरेँ । तर, त्यो उद्देश्य पनि पूरा भएन । पहिलो थियो, महिलालाई स्थानीय निकायमा ५० प्रतिशत अधिकार दिने । संविधानमै यो कुरा लागू हुनुपर्छ भनेर लडेँ । तर, त्यो लागू भएन । हुन त, अहिले राष्ट्रपति महिला हुनुहुन्छ । तर, माथिबाट होइन, महिलालाई तलैबाट अधिकार दिए मात्र दिगो हुन्छ भन्ने मेरो बुझाइ हो । दोस्रो थियो, चुनाव खर्च राज्यले तोकिदिने । अहिलेकोजस्तो चुनाव गर्ने परिपाटीले देश कंगाल बन्छ । पार्टी र व्यक्तिले मनलाग्दी चन्दा लिने र दिन पाइने कुरा देशका लागि घातक छ । राज्यले तोकेरै चुनाव खर्च छुट्याउनुपर्छ भनेर मैले संसद्मा पनि कुरा उठाएँ । तर, कुनै जोड लागेन । यी दुई कुरा पूरा गर्न नसकेकोमा पनि म दु:खी छु ।नयाँपत्रिका








