सिन्धुपाल्चोकबासी भन्छन्, भूकम्पभन्दा निर्दयी छ सरकार

A Nepalese woman sits with her son near their house, destroyed in last week's earthquake, in Pauwathok village, Sindhupalchok district, Nepal, Saturday, May 2, 2015. Life has been slowly returning to normal in Kathmandu, but to the east, angry villagers in parts of the Sindhupalchok district said Saturday they were still waiting for aid to reach them. In the village of Pauwathok, where all but a handful of the 85 houses were destroyed, three trucks apparently carrying aid supplies roared by without stopping. (AP Photo/Manish Swarup)

रामनाथ खनाल, न ओत लाग्ने गतिलो छाना छ, न आङ ढाक्ने कपडा नै छ । गत वैशाख १२ गतेको विनासकारी भूकम्पको सर्वाधिक चपेटामा परेको सिन्धुपाल्चोकका भूकम्प पीडित यस्तै दुःख र पीडाकोबीच जीवन व्यतीत गरिरहेका छन् । सिन्धुपाल्चोकको ठोकर्पामा मात्रै सात बढीले ज्यान गुमाइसकेका छन् भने जिल्लाका माथिल्लो हिमाली क्षेत्रमा सयौं पीडितहरू बिरामी परेको खबरहरू आउन थालेको छ ।

सरकारले दिएको १५ हजार र संघसंस्थाले उपलव्ध गराएको जस्तापाताले जेनतेन टहरा ठड्याएका उनीहरू अहिले तुषारो र शितसँग निर्मम पौंठेजोरी खेलिरहेका छन् । बलियाबांगा त जसोतसो बाँचिरहेका छन्, महिला, केटाकेटी र बयोबृद्धाको अवस्था दयालाग्दो बन्दैगइरहेको छ । ‘जस्ताको छानबाट तपतपी शित चुहिन्छ, भएका ओढ्ने ओच्छ्याउने भूकम्पमा पुरिइहाले कसरी जाडो काट्ने हो ?,’ सिन्धुकोटका रामबाबु नेपालले भने, ‘सरकारले प्रकोपपीडितका लागि केही गरिदिएन।’

त्यस्तै थकनीका राम तामाङले पनि जाडोले सुत्केरी, बालबच्चा र बयोबृद्धा जोगाउनै मुस्किल भएको पीडा सुनाए ।
‘बलियाबांगा त जेनतेन बाँच्लान्,’ उनले भने, ‘महिला, बालबालिकाका लागि जाडो अभिषाप भयो ।’

सिन्धुपाल्चोक भोटेचौरका कृष्ण चौलागाईंले पनि जाडोले भूकम्प पीडितको अवस्था दयनीय हुँदै गएको बताए । उनका अनुसार जिल्लाका अधिकांश ठाउँमा बालबालिकाहरू विरामी पर्न थालेका छन् भने सुत्केरी, अपांगता भएका, महिला र बयोबृद्धाहरूको अवस्था पनि दिनप्रतिदिन विग्रँदैछ । सरकारले न्यानो लुगा किन्न दिने भनेको १५ हजार रूपैंया पनि समयमा उपलव्ध गराउन नसक्दा पीडितहरू चपेटामा परेका हुन् ।

अधिकांश तामाङ र गुरुङ जातीको बाहुल्यता रहेको हैबुङको अवस्था झनै टीठ लाग्दो छ। त्यसो त थकनीको माथिल्लो भागका तामाङ बस्तीको पीडा पनि वर्णन गरेर साध्यै छैन । ‘भूकम्प भन्दा पनि सरकार निर्दयी देखियो,’ हैबुङका प्रेम तामाङले भने, ‘भूकम्प गएको नौ महिना वित्न लागिसक्दा पनि पुनर्निर्माणको केही काम हुन नसक्नु यो भन्दा बिडम्बना अर्को के हुन्छ?’
शित र तुषाराका कारण महिला बालबालिकामा समस्या देखिन थालिसकेको थकनीकी सशीकला अर्यालले जानकारी दिइन् । थकनीकी महिला स्वास्थ्य स्वयम्सेविका समेत रहेकी उनले गाविसमा अधिकांश सुत्केरी र नवजात शिशु मारमा परेको बताइन ।
‘गाविसका सवै प्रशुती आमा र बच्चा तथा पाँच बर्ष मुनिका बालबालिकामा जाडोका कारण विभिन्न समस्या देखिन थालेको जानकारी आउन थालेको छ’, उनले भनिन्, ‘यसको रोकथामका लागि स्वास्थ्य चौकीमा कुनै औषधि र सामग्री छैन ।’

भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकका अधिकांश बस्तीहरू अझै खण्डहर छन् । भग्नावशेषहरू पन्छाइएका छैनन् भने पीडितहरू जस्ता या पालको सामान्य टहरा बनाएर दैनिकी गुजारा गरिरहेका छन । बालबच्चाहरूमा कुपोषणको समस्या समेत देखिन थालेको छ ।
त्यस्तै सिन्धुपाल्चोकका अधिकांश विद्यालयहरूको अवस्था पनि उस्तै छ । संघसंस्थाहरूले बनाएका टीएलसी पनि बिग्रन थालिसकेका छन् ।
‘संघसंस्थाले बनाएका टीएलसी बिग्रन थालिसकेका छन्,’ श्रीकृष्ण उच्च माध्यामिक विद्यालयका शिक्षक रामप्रसाद खनालले भने, ‘सरकारले विद्यालय पुनर्निर्माणका लागि आवश्यक पहल नदेखाउँदा विद्यालयमा पठनपाठन गर्न नै समस्या उत्पन्न भएको छ ।’
अहिले उनीहरूको एउटै माग छ, सरकाले दिने रकम छिट्टै देओस् नत्र आश्वासनमात्र नदेओस्।

सम्बन्धित शिर्षकहरु