मनोज गजुरेलको यस्तो दुःख

मनोज गजुरेल, चल्तीका हास्य कलाकार । देश–विदेशका नेपाली समुदायमा उनको माग र व्यस्तता निकै देखिन्छ । कुनै सिजनमा त नेपाल उनका लागि ‘ट्रान्जिट’जस्तै बनिदिन्छ । विदेशका कार्यक्रममा माग भएपछि उनी नेपालमा बस्नै पाउँदैनन् । गजुरेलले ‘कमेडी’ गरेरै कमाएको पैसाले सुखीस्तरको जिन्दगी जिइरहेका छन् । उनलाई फ्यानको कमी छैन, पैसाको कमी छैन, नेपाली दर्शकमाझ सफल ‘कमेडियन’का रूपमा चर्चित नै छन् । बाहिरबाट हेर्दा सबैले सफल र सुखी जिन्दगी देख्छन्, गजुरेलको । तर, नयाँ पत्रिकाका प्रवीण देवकोटाले उनको जीवनको सबैभन्दा दु:खको एउटा पाटो खोतल्ने प्रयास गरे । उनले सुनाए, राम्रो अंग्रेजी नजान्दाको मर्म:

हुन त सरकारी स्कुल पढ्दैमा अंग्रेजी लेख्न–बोल्न जानिएन भनेर मैले भन्न मिल्दैन । मैले जस्तै गाउँमा ‘नेपाली मिडियम’कै स्कुल पढेर आएकाहरूको लोभलाग्दो अंग्रेजी देखेको छु । म अंग्रेजी भाषामा कमजोर हुनुको कारण बेमतलब हो भन्ने मेरै मूल्यांकन छ । अंग्रेजी नजानेकै कारण मैले आफ्नो कला संसारभरका दर्शकलाई देखाउन सकिनँ भन्नेमा मलाई सबैभन्दा दु:ख छ । आजको दिनमा मेरो जीवनको सबैभन्दा ठूलो पीडा भनेकै यही हो । विश्वको सम्पर्क भाषाको अज्ञानता मेरा लागि खड्किएको विषय हो ।

सोच्छु, यदि अंग्रेजी राम्रोसँग बोल्न सक्थेँ भने आज मैले नेपाली दर्शमाझ मात्रै साँघुरिनुपर्ने थिएन । मेरो कला नेपालीभाषीमाझ मात्रै कैद हुनुपर्थेन । अमेरिका, युरोप र अफ्रिकाका गोरा–काला सबै अंग्रेजीभाषी दर्शकलाई पेट मिची–मिची हाँस्ने गराउन सक्थेँ । सायद, अंग्रेजी भाषाको अभाव नभएको भए ती राष्ट्रका कमेडी क्लबहरूमा संसारभरका मान्छेहरूलाई हँसाइरहेको हुन्थेँ भन्ने लाग्छ । अहिले पनि नेपालीमा मात्रै नभएर धेरै भाषामा हँसाउने त गर्छु, तर त्यो त केवल रमाइलोका लागि जे मन लाग्यो, त्यही भाषा बोलेको न हो ।

हल्काफुल्का अंग्रेजी भाषा नआउने नै चाहिँ होइन । बोल्नका लागि बोल्ने अंग्रेजीको समस्या होइन । तर, ‘प्रोनाउनसिएसन’ ठ्याक्क मिलाएर बोल्न आउँदैन । मैले बोलेको न अंग्रेजी भाषीले सजिलै बुझ्न सक्छन्, न त उनीहरूको अंग्रेजी ‘टोन’ आफू सजिलै बुझ्न सक्छु । यसैकारण, मेरो त्यो सपना अपूरो छ । म दु:खी छु, तर हरेस खाएको छैन । प्रयासरत छु ।

०००
०६२ सालको कुरा हो । अमेरिकाका लागि भिसा अप्लाई गरेको थिएँ । अमेरिका जानका लागि त्यो नै मेरो पहिलो प्रयास थियो । त्यो समय नेपालमा मेरो निकै चर्चा पनि थियो । शासनसत्ता हातमा लिएका राजा ज्ञानेन्द्रबारे गरेको ‘कमेडी’ हिट भएको थियो । उनको बोलीको ‘क्यारिकेचर’ मात्रै होइन, वेशभूषा र शारीरिक बनोट पनि दुरुस्तै भएको भन्दै सबैतिरबाट प्रशंसा पाएको थिएँ ।

भिसा अप्लाई गरेको केही दिनमा अन्तर्वार्ताका लागि बोलाइयो । अमेरिकी दूतावास पुगेँ । अन्तर्वार्ता लिन बसेका त्यहाँका कर्मचारीले सुरुमै एउटा प्रश्न गर्‍यो, ‘ह्वाई चिकन क्रस द रोड ?’ अंग्रेजीमा सोधिएको त्यो प्रश्न सुनेर म अक्क न बक्क भएँ । उसले भन्न खोजेकै बुझिनँ । मसँग उसलाई दिने कुनै जवाफ नै भएन । त्यतिखेर मलाई निकै नै ग्लानि ‘फिल’ भयो, अंग्रेजी भाषामा आफ्नो कमजोरी देखेर । निकै तनाव भयो । उसले अरू पनि केही प्रश्न सोध्यो । मैले के–के जवाफ दिएँ, आफैँलाई याद भएन, तनावका कारण । ऊ मुसुमुसु हाँसिरहेको थियो । ठानेँ, ‘आज यसले उडायो मलाई ।’
त्यहाँबाट फर्किएँ । कुतूहलताले बाटोमा मन शान्त रहन पाएन । उसको प्रश्नको मतलब के थियो भन्ने जान्न चाहिरहेको थिएँ । अंग्रेजी भाषामा राम्रो दख्खल राख्ने एकजना साथीसँग बुझ्नतिर लागेँ । मैले आफ्नो कहानी सुनाएँ । ‘ह्वाई चिकन क्रस द रोड ?’ को नेपाली अर्थ रहेछ, ‘कुखुराले किन बाटो काट्छ ? मलाई झन् ग्लानि भयो । यति पनि नजान्ने म, कति कमजोर रहेछु अंग्रेजीमा । पछि अरू साथीहरूसँग पनि यस विषयमा कुरा गरेँ । थाहा हुँदै गयो, त्यो दिन उसले त्यस्तो प्रश्न गरेर मलाई व्यंग्य हानेको पो रहेछ । उसले ‘कुखुराले किन सडक पार गर्छ ?’ भनेर सोध्दा मैले ‘वारिबाट पारि जान, पारिबाट वारि आउन’ भन्ने जवाफ दिनुपर्ने रहेछ । सबैलाई नेपालीमा व्यंग्य हान्ने म, अंग्रेजी नजानेकै कारण जाबो त्यो गोरेको यति सानो व्यंग्यमा फस्नु मेरा लागि नमिठो पाठ बन्यो । मलाई लाग्यो, सायद उसले म कमेडियन भन्ने थाहा पाएपछि ‘मेरो दिमाग चाट्न’ त्यस्तो प्रस्न सोधेको थियो । जेहोस्, मभन्दा ऊ ठूलो जोकर हो भन्ने पुष्टि गरिदिएकै हो ।

०००
अन्तर्वार्ताको घटनाले खल्बलिएको मेरो दिमाग ठीक हुनै सकेन । सताइरह्यो त्यो घटनाले । अन्तत: म एउटा निर्णयमा पुगेँ, जसरी पनि अंग्रेजी भाषा सिकेरै छाड्छु । अंग्रेजी भाषा सिक्न इन्स्टिच्युटमै गएँ । ६ महिने भाषा सिकाइ ‘कोर्स’ नै गरेँ, डिल्लीबजारको अर्बिट इन्स्टिच्युटमा । यो ६ वर्षअघिको कुरा हो । अंग्रेजी बोल्न र बुझ्न धेरै ‘इम्प्रुभ’ भयो ।

०००
पछि न्युयोर्क जाँदा केही कमेडी क्लबहरूमा पुगेको थिएँ । त्यहाँका कमेडी क्लब भनेका हाम्रा यहाँका डान्स, दोहोरी क्लब भनेजस्तै हुन् । कमेडी क्लबहरूमा हँसाउनेहरू नै पछि ‘सेलेक्ट’ भएर टेलिभिजन सिरियलमा जाने हुन् । ती क्लबहरूमा अमेरिका र युरोपबाहेक चाइनिज, पाकिस्तानीलगायतले पनि राम्रो प्रस्तुति गरेको देखेँ । उनीहरूले गोराहरूलाई मज्जा दिइरहेका थिए । त्यतिखेर अझै मेरो मनमा लाग्यो, म पनि यहाँ आएर अंग्रेजीभाषीलाई हँसाउन किन सक्दिनँ ? मैले न्युयोर्कमै त्यो महत्त्वाकांक्षी सपना देखेँ । आज म त्यो सपना पूरा गर्न निरन्तर ‘प्राक्टिस’ गरिरहेको छु । र, लाग्छ, एक दिन सफल हुनेछु ।

०००
अहिले म अंग्रेजी बुझ्छु र बोल्छु पनि । तर, अंग्रेजी भाषीको मनैभित्रसम्म पुग्ने गरी भाषा पैदा गर्न आउँदैन । घरमा केटाकेटी मेरो अंग्रेजी सुनेर कहिलेकाहीँ जिस्क्याउँछन् पनि । उनीहरू र मेरो ‘टोन’मै फरक पर्दो रहेछ । म उनीहरूसँग पनि सिकिरहेको छु । निरन्तर ‘अनलाइन स्टडी’ पनि गरिरहेको छु । विश्वका चर्चित ‘कमेडियन’का कार्यक्रमहरू हेर्छु । जति बुझ्दिनँ, त्यति नै बुझ्ने प्रयास गरिरहेको छु । अंग्रेजीमा ‘कमेडी’ गरेर एक्लै रेकर्ड गर्दै ‘प्राक्टिस’ गरिरहेको छु । घरमै रहेका वेला बिहानको समय योगा सकिसकेपछि ‘रिहर्सल’ गर्ने गरेको छु । अब, मलाई अंग्रेजीको ‘भूत’देखि डर भने छैन । केवल, ती अंग्रेजीभाषी दर्शकको मनै छुने गरी अंग्रेजीमा कसरी हँसाउने भन्ने मात्रै चिन्ता छ । -नयाँ पत्रिका ।

सम्बन्धित शिर्षकहरु