मंसिर ८ । काठमाडौं, नेपालले चीनसँग थप इन्धन अनुदानका रूपमा उपलब्ध गराउन आग्रह गरेको छ । भारतको नाकाबन्दी अझै केही समय लम्बिने देखिएपछि नेपाल सरकारले चीनसँग थप इन्धन अनुदानका रूपमा उपलब्ध गराउन आग्रह गरेको हो ।
भारतीय नाकाबन्दीले इन्धन आपूर्ति असहज भएपछि आपत्कालीन रूपमा सहयोगका लागि भन्दै चीनले हजार मेट्रिकटन अर्थात् १३ लाख लिटर पेट्रोल नेपाललाई दिइसकेको छ ।
यसैगरी, नेपालले चीनसँग ग्यास ल्याउन बुलेट पनि अनुदानमा उपलब्ध गराइदिन आग्रह गरेको छ । नेपालसँग ग्यास ढुवानीका लागि एउटा पनि बुलेट नभएकाले अनुदानका रूपमा बुलेट उपलब्ध गराइदिन आग्रह गरेको हो । वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले पाँच हजार मेट्रिकटन खाना पकाउने ग्यास, २६ लाख लिटर पेट्रोल र २६ लाख लिटर डिजेल अनुदानका रूपमा उपलब्ध गराइदिन चीनसँग आग्रह गरिएको जानकारी दिए । ‘अनुदानमा थप इन्धन उपलब्ध गराउन चीनलाई आग्रह गरेका छौँ,’ सचिव उपाध्यायले संसद्को लेखा समितिको सोमबारको बैठकमा भने, ‘चीनले यसबारे केही प्रतिक्रिया दिइसकेको छैन ।’
चीनले अनुदानमा दिएको तेल केरुङ नाका हुँदै काठमाडौं ल्याइसकिएको छ । सचिव उपाध्यायले चीनले दिएको पेट्रोलमध्ये केही वितरण भइसकेको जानकारी दिए । चीनले अनुदान दिएको पेट्रोल बिक्रीबाट उठेको रकम छुट्टै खातामा राखिएको उनको भनाइ थियो ।
वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले नेपालसँग ग्यास आयातका लागि एउटा पनि बुलेट नरहेकाले ५–१० वटासम्म खरिद गर्न लागिएको बताए । ‘चीनसँग पेट्रोलियम पदार्थ कारोबारको व्यापारिक सम्झौता गरेका छौँ, तर चीनसँगका नाका जोड्ने सडकको अहिलेको पूर्वाधारमा १० टनभन्दा माथिका बुलेट गुड्न सक्ने अवस्था छैन,’ उनले भने, ‘ग्यास बुलेट अनुदानमा उपलब्ध गराइदिन चीनलाई आग्रह गरेका छौँ, प्रक्रिया ढिला हुने भएकाले ५–१० वटा किन्ने प्रक्रियामा छौं ।’
चीनमा २४ टन क्षमताका बुलेट प्रयोगमा छन् । चीनबाट ग्यास ल्याउँदा १० टनभन्दा माथिका बुलेट नेपालतर्फको सडकले नधान्ने भएकाले सोहीअनुसारका बुलेट सरकारले किन्न लागेको हो । मन्त्री पुनले सर्वसाधारणलाई समानुपातिक र न्यायोचित रूपमा इन्धन वितरणका लागि छुट्टै सफ्टवेयर प्रयोग गर्न लागिएको जानकारी दिए ।
नेपालले माग्यो अनुदानमा थप इन्धन
पाँच हजार मेट्रिकटन ग्यास, २६ लाख लिटर पेट्रोल र २६ लाख लिटर डिजेल अनुदानका रूपमा उपलब्ध गराइदिन नेपालको आग्रह ।
चीनले इन्डक्सन चुलो अनुदान दिँदै
चीनले १० हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराउने भएको छ । अनुदानको चुलो अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याइदिने चीनले जानकारी दिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले बताए । यो सहयोग चीनले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक–प्राविधिक सहायताअन्तर्गत रहेको उनको भनाइ छ ।
‘टोकन प्रणालीमार्फत इन्धन बिक्री गर’
संसद्को सार्वजनिक लेखासमितिले टोकन प्रणालीमार्फत पूर्वजानकारी दिएर इन्धन बिक्रीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । दैनिक इन्धन आयात र बिक्रीको विवरण सार्वजनिक गर्न वाणिज्य मन्त्रालय र आयल निगमलाई निर्देशन दिएको समितिका सभापति जनार्दन शर्माले बताए । ‘यस्तो व्यवस्था गरिएमा पारदर्शिता कायम हुन्छ,’ उनले भने ।
निगमका हाकिम छानबिनको दायरामा
पेट्रोलियम पदार्थ वितरणमा अनियमितता आरोपमा आयल निगमका तीन डिपो प्रमुखलाई वाणिज्य मन्त्रालयले छानबिनको दायरामा ल्याएको छ । निगमका क्षेत्रीय कार्यालय नेपालगन्जका उपनिर्देशक श्रीचन्द्र श्रेष्ठ, भैरहवा डिपोका दिनेशकुमार यादव र बिर्तामोड डिपोका वासुदेव भण्डारीलाई केन्द्रीय कार्यालयमा हाजिर गराई छानबिनको प्रक्रिया अगाडि बढाइएको छ । वितरण प्रक्रियामा अनियमितता गरेको र सन्तोषजक कार्यसम्पादन नगरेको जनगुनासोपछि उनीहरूलाई काठमाडौं तानिएको मन्त्रालयले जनाएको छ । नयाँ पत्रिकाबाट ।








