डेढ अर्बको औषधि ५ महिनादेखि विमानस्थलमै

medicine-660x330मंसिर ४ । काठमाडौं,  भूकम्पका घाइतेको उपचारमा सहयोग पुर्‍याउन भन्दै विभिन्न संघ–संस्थाले हवाई कार्गो गरी पठाएका करिब डेढ अर्ब मूल्यबराबरको औषधि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा थन्किएको छ । एक प्रतिशत भन्सार महसुल तिर्न नसक्दा ठूलो परिमाणको औषधि भन्सारमा थन्किएको हो । त्यसमध्ये करिब १० प्रतिशत औषधिको म्याद गुज्रिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ, नयाँ पत्रिका दैनिक लेख्छ।

भारतको नाकाबन्दीले बजार र अस्पतालमा अभाव हुन थालेपछि मन्त्रालयले औषधिको मौज्दात खोजी गर्ने क्रममा विमानस्थलमा रोकिएको औषधिबारे पुन: चासो देखाएको छ । रोकिएको औषधि शून्य भन्सार दरमा छुटाउने वा शुल्क तिर्ने भन्नेबारेमा अर्थ मन्त्रालयसँग छलफल गर्न लागेको उसले जनाएको छ ।

गत असार तेस्रो सातापछि भूकम्पपीडितलाई सहयोग पुर्‍याउन भन्दै अमेरिकी गैरसकारी संस्था होप प्रोजेक्ट युएसए र अन्य चारवटा संस्थाका नामबाट डेढ अर्बबराबरका महँगा औषधि नेपाल भित्रिएको थियो ।

त्यतिवेला भूकम्पकै लागि भनिए पनि २० असारपछि प्राप्त औषधिलाई सरकारले एक प्रतिशत भन्सार लिने निर्णय गरेको थियो । ढिलोगरी प्राप्त ती औषधि महसुल एक प्रतिशतको दरले डेढ करोड बढी तिर्नुपर्ने भएपछि मन्त्रालयको आपूर्ति महाशाखाले औषधि ल्याएको थिएन ।

बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित बैठकमा विमानस्थलमा ठूलो परिमाणमा औषधि रहेको पुनर्चर्चा चलेपछि उपसचिव राजीव पोखरेलसहित दुईजनालाई अवस्था बुझ्न पठाइएको थियो । स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठले विमानस्थलमा ठूलो परिमाणमा औषधि रहेको बुझिएपछि अवस्थाबारे जानकारी लिन प्रतिनिधि पठाएको बताए । उनले औषधिको अवस्था बुझेपछि त्यसलाई कसरी भन्सार छुटाउने भन्नेबारेमा छलफल हुने जानकारी दिए ।

उपसचिव पोखरेलले भन्सारको गोदाममा महँगो दरका औषधि तथा उपकरण भएको र त्यहाँ अहिले अभाव भएको भनिएका कतिपय औषधि पनि रहेको जानकारी दिए । उनका अनुसार भूकम्पमा तत्काल प्रयोगमा आउने भन्दै पठाइएका कतिपय औषधि तथा मल्हम भने म्याद गुज्रिसकेको छ । ‘हामीसँग भएको औषधिको विवरण हेर्दा करिब १० प्रतिशत औषधिको म्याद गुज्रिसकेको होजस्तो लाग्छ । अब बाँकी औषधिलाई कसरी प्रयोगमा ल्याउने भन्ने तयारी हुँदै छ,’ उनले भने ।

३० हजार सलाइन आपूर्तिको गोदाममा
ठूला सरकारी अस्पतालका प्रमुखहरूले औषधिसहित सलाइनको समेत अभाव भएको बताउँदै आएका छन् । तर, स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले आफ्नो गोदाममा अहिले पनि झन्डै तीस हजार बोतल नर्मल सलाइन सुरक्षित रहेको जनाएको छ । त्यस्तै, भिटामिन र ग्लुकोजसमेत १२ हजारभन्दा बढी गोदाममा मौज्दात छ ।

महाशाखाका निर्देशक डा. भीम टिंकरीले भूकम्पका वेला प्राप्त सहयोगबाट संकलित सलाइन, ग्लुकोजजस्ता अत्यावश्यक औषधिजन्य पदार्थ गोदाममा थन्किएको बताए । उनले ती औषधि आवश्यकताका आधारमा उपत्यकाका केन्द्रीय अस्पतालमा पठाउन सकिने जानकारी दिए । ‘टेकुमै रहेको हाम्रो अस्थायी गोदाममा भूकम्पपछि सहयोगमा आएका धेरै औषधि छन् । त्यसमध्ये अहिले बजारमा सर्टेज भएको भनिएका सलाइन तथा ग्लुकोजसमेत छ । अभाव भएका ठाउँमा यी औषधिले काम चलाउन सकिन्छ,’ टिंकरीले नयाँ पत्रिकासँग भने ।

भूकम्पका वेला राष्ट्रसंघीय निकायहरू युनिसेफ, डब्लुएचओले आपूर्ति व्यवस्था महाशाखाको पार्किङ क्षेत्रमा अस्थायी गोदाम निर्माण गरी विभिन्न राष्ट्र, संस्था तथा व्यक्तिबाट प्राप्त सहयोगको औषधि भण्डारण गरी राखेको छ । ती गोदाममा औषधिसहित उपचारका लागि प्रयोग हुने उपकरणसमेत रहेको महाशाखाले जनाएको छ ।

अस्पतालमा समस्या उस्तै
सरकारले औषधिको आपूर्ति सहज बनाएको र गोदाममा पर्याप्त रहेको दाबी गरे पनि अस्पतालहरूमा भने समस्या उस्तै देखिएको छ । औषधि तथा उपकरणको सहज आपूर्ति हुन नसक्दा अस्पतालहरूले पहिलेको तुलनामा उपचार संख्यामा कटौती गर्दै गएका छन् । बिरामीहरूसमेत पहिलेको तुलनामा अस्पतालहरूमा कमी देखिएका छन् ।

बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक डा. ज्योतेन्द्र शर्माले असहज परिस्थितिलाई पार लगाउन कम संख्यामा उपचार गर्नुपरेको बताए । ‘दैनिक हुने अप्रेसन ६–७ बाट ३–४ वटामा झारिएको छ । एन्जियोग्राम र एन्जियोप्लास्टी १८–२० वटाबाट घटाएर १२–१४ मा झारिएको छ । यसो गर्नुको कारण इमर्जेन्सीका लागि औषधि जोगाउनु र पछिसम्मका लागि उपचार निरन्तर दिन सकियोस् भन्नु हो,’ शर्माले भने ।

वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले समस्या यथावत् रहेको बताए । ‘पर्याप्त औषधि छैन । कतिपय लाइफ सेभिङ र आकस्मिक औषधिसमेत बजारमा छैन भन्दै मानिसहरू भौँतारिरहेका छन् । त्यसैकारण अप्रेसनलगायतका उपचार सेवामा कटौती गर्नुपरेको छ । सरकारले स्टक यति छ भनेको छैन । सप्लायरले पनि दिन्छु भन्न सकेको छैन । त्यसैले अवस्था ज्युँका त्युँ नै छ,’ उनले भने ।
यस्तो अवस्था त्रिवि शिक्षण अस्तपाल, पाटन अस्पताल, परोपकार प्रसूतिगृह, निजामती अस्पतालमा समेत रहेको सम्बन्धित अस्पतालका निर्देशकहरूले जनाएका छन् ।

अस्पतालको क्यान्टिनमा दाउरा
ग्यास नभएपछि अस्पतालका क्यान्टिनका भान्सामा दाउराको प्रयोग हुने गरेको छ । बाासबारीको सहिद गंगालाल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, प्रसूतिगृह
अस्पतालजस्ता ठूला सरकारी अस्पतालमा बिरामीका लागि खाना पकाउन दाउराको प्रयोग भइरहेको छ ।

एम्बुलेन्सलाई इन्धन, डाक्टरलाई छैन
अस्पतालका एम्बुलेन्सलाई इन्धन दिए पनि निजी गाडीहरूलाई इन्धन उपलब्ध गराइएको छैन । चौबीसै घन्टा अनकलमा रहने र जुनसुकै वेला अस्पताल आउजाउ गर्नुपर्ने डाक्टर तथा नर्सहरू पीडामा छन् । इन्धन नपाई अस्पतालका गाडी पर्खनुपर्दा ड्युटीमा असर पर्ने गरेको उनीहरूले बताएका छन् ।

प्लेनबाट ल्याइयो कामचलाउ ब्लड ब्याग
तेस्रो मुलुकबाट आयात गरिएका लाखौँ संख्याका ब्लड ब्याग सीमानाकामा थुनिएपछि ब्लड बैंकले कामचलाउ ब्लड ब्याग हवाईजहाजबाट झिकाएको छ । मधेस आन्दोलन र भारतको नाकाबन्दीले बजारमा ब्लड ब्यागको अभाव भएपछि रक्तदान कार्यक्रमसमेत प्रभावित भएको र अस्पतालमा भर्ना भएका बिरामीलाई रगत लैजान समस्या परेको थियो ।

३० हजार सलाइन आपूर्तिको गोदाममा
ठूला सरकारी अस्पतालका प्रमुखहरूले औषधिसहित सलाइनको समेत अभाव भएको बताउँदै आएका छन् । तर, स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले आफ्नो गोदाममा अहिले पनि झन्डै तीस हजार बोतल नर्मल सलाइन सुरक्षित रहेको जनाएको छ । त्यस्तै, भिटामिन र ग्लुकोजसमेत गरी १२ हजारभन्दा बढी गोदाममा मौज्दात छ । महाशाखाका निर्देशक डा. भीम टिंकरीले भूकम्पका वेला प्राप्त सहयोगबाट संकलित सलाइन, ग्लुकोजजस्ता अत्यावश्यक औषधिजन्य पदार्थ गोदाममा थन्किएको बताए । उनले ती औषधि आवश्यकताका आधारमा उपत्यकाका केन्द्रीय अस्पतालमा पठाउन सकिने जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु