कात्तिक २७ । काठमाडौं, पन्ध्र दिन भयो भारत मोतिहारीका सञ्जय पटेलको चुल्हो नबलेको । सडकमा साइकल गुडाएर कपडा बेच्दै जेनतेन गुजारा चलाउँदै आएका पटेल यतिबेला आफ्नै देशले नेपालबिरूद्ध लगाएको नाकाबन्दीको चर्को मारमा छन् । एक्लो ज्यान भए त जसोतसो बाँच्थे । तर, आफू सहित चार जनाको परिवारको लालनपालन गर्नुपर्ने उनी यतिबेला तनावमा मात्र छैनन् कल्पनै गर्न नसकिने समस्यामा पनि छन् । ‘फुको च्यूरो र दालमोठको भरमा छाक गुजारेको छु हजुर !’ उनले आफ्नो बेदना सुनाउँदै भने ।
पन्ध्र वर्ष नेपालबस्दा यत्ति दुःखी र पीडित कहिल्यै हुनुनपरेको बताउँदै उनी अगाडि थप्छन्, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी देश नेपालमा अमानवीय नाकाबन्दी मात्र गरेको छैन, हामी जस्ता निम्छराहरूको पेटमा लात हानेको छ र नेपालमा रहेका हजारौं गरिखाने श्रमजीवीहरूको चुल्हो निभाएको छ ।’
यत्ति सुनाइरहँदा उनी केही अधैर्य देखिए सम्हालिँदै भने, ‘आफूलाई निकै धार्मीक र ऋषी मन भएको बताउने मोदीको जाल र कपटको फन्दामा नेपाल पर्यो ।’ हुन पनि उनको पीडा बर्णन गरिसाध्य नै थिएन ।
त्यस्तै सितामणीका राघव साह पनि भारतले लगाएको नाकाबन्दीको प्रत्यक्ष मारमा आफू परेको बताउँछन् । ‘नेपाल र भारत छिमेकी देशमात्र होइन । दाजुभाई जस्तै पनि हो । दुई देशका जनता वर्षौंदेखि मिलेर बस्दै आएका छन् । तर यसमा फाटो ल्याउने काम भारतीय प्रधानमन्त्रीले गरे ।’ उनी पनि पटेल जस्तै नाकाबन्दीको चर्को मारमा छन् । ‘के गर्नु हजुर? जहान छोराछोरी पाल्न आएको म अहिले भोकभोकै बस्नु परेको छ । बजारमा केही किन्न पाईंदैन । पाइहालेपनि किन्नै नसक्ने महंगो छ । मोदीले नेपालीलाई मात्र होइन आफ्नै देशका दाजुभाइहरूको पनि समस्या बुझ्न सकेनन्’ उनले पनि गहभरी आँसु पार्दै भने ।
उनका अनुसार रोजगारीको सिलसिलामा नेपाल आएका भारतीयहरू नाकाबन्दीको चर्को समस्यामा छन् । उनीहरूको गाँस खोसीएको छ । चुल्होमा पानी छम्केर निभाइए सरह भएको छ । न फर्किएर आफ्नो देशमा जान सक्ने अवस्थामा छन्, न बसेर निर्धक्क चुल्हो बाल्न सक्ने अवस्थामा छन् । उनीहरू दोहोरो चेपूवामा परेका छन् ।
पटेल र साह त प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरू जस्तै रोजगारीको सिलसिलामा आएका भारतीय नागरिकहरू कति छन् भन्ने यकिन तथ्यांक त छैन तर जति छन् उनीहरू निकै मारमा परेका छन् ।
नाकाबन्दीका कारण बजारमा उपभोगीय बस्तुहरूको अभाव हुँदा उनीहरूमध्ये कतिपय एकछाक खाएर त कतिपय फुको चिउरा र दालमोठ खाएर बस्न बाध्य भएको बताउँछन् ।
राजधानीमा डेरा गरेर बस्नेहरू इन्धन समस्याका कारण र ठाउँ अभावका कारण दाउरामा खाना पकाउन सकेका छैनन् भने लोडसेडिङका कारण राइसकुकरमा पनि खान बनाउन सक्ने अवस्थामा देखिँदैनन् । जसका कारणा बनिबुतो गरेर छाक टार्नेहरू साँच्चै समस्यामा देखिन्छन् ।
त्यस्तै उनीहरूलाई अर्को समस्याले सताएको छ, त्यो हो तिहार लगत्तै आउने छठ पर्व । ‘छठमा त जसरी पनि घर जानु पर्ने तर गाडी पाईंदैन कसरी जाने?’ उनीहरू आफ्नो व्यथा पोख्छन् । बैशाख १२ को भूकम्पबाट थला परेको नेपाल उठ्नै लाग्दा आफ्नो देश भारतले लगाएको आर्थिक नाकाबन्दीका कारण उनीहरूको मन कुँडिएको छ । कतै दुई देशको सम्बन्ध बिग्रिएर आफ्नो रोजीरोटी गुम्ने हो कि भन्ने चिन्ता पनि छ । उनीहरू भन्छन्, छिमेकी हुनुको नाताले अप्ठ्यारोमा परेको नेपाललाई सहयोग गर्नुको साटो उल्टै घाँटी अँठ्याउँदा यसले दीर्घकालिन रूपमा असर पुर्याउँछ । दुई देशबीच झन् कटूता र बैमनस्यता बढाउँछ । बेलैमा समाधानको बाटो पहिल्याइएन भने भोलिका दिनमा झन् गम्भीर समस्या निम्तन सक्छ ।
‘तर, हाम्रो कुरा कसले सुनिदिने हजुर?’ उनीहरू भन्छन् । ‘नेपालको संविधान नेपालको लागि हो, यहाँका नेताहरूले बनाएको संविधान भारतका नेताले चित्त बुझाउनु पर्ने भन्ने हुँदैन’ उनीहरू भन्छन् । छिट्टो भन्दा छ्टिटो समस्या समधान भएर आफूहरूको चुल्हो बले हुन्थ्यो भन्छन् उनीहरू । तर, उनीहरूका कुरा कसले सुन्छ र । ‘नेपाली भन्दा बढी हामी भारतीय नै असन्तुष्ट छौं यो नाकाबन्दीबाट’ उनीहरू भन्छन् ।








