कात्तिक २३ । काठमाडौं, डा. बाबुराम भट्टराई र भारतको बिहार राज्यका मूख्यमन्त्री नितिशकमुमारबीच टेलिफोन सम्बाद भएको छ । सम्बादमा नितिशकुमारले नेपाली सीमाना देखिएको समस्या समाधान गर्न पहल गर्ने बताएको भट्टराई निकट स्रोतले असनेपालन्यूलाई जानकारी दियो।
नितिशकुमारसँग भट्टराईको आइतबार राति टेलिफोन सम्वादमा भएको हो । फोनमा नितिशकुमारले यतिन्जेलसम्म निर्वाचनमा केन्द्रित हुनुपरेकाले सीमाको समस्यामा ध्यान नपुगेको जनाउँदै आफूले यो समस्या समाधानका लागि पहल थाल्ने बताएका थिए ।
‘यतिञ्जेलसम्म मैले निर्वाचनमा केन्द्रित हुँदा नेपाल–भारत सीमानामा देखिएको समस्याप्रति ध्यान दिन पाएको थिइनु, नितिशको भनाइ उधृत गर्दै बाबुरामका स्वकीय सचिव विश्वदीप पाण्डेले भने, ‘अब सीमामा देखिएको समस्या समाधानका लागि पहल लिन्छु ।’
टेलिफोन सम्बादमा भट्टराईले विहारका मुख्यमन्त्री नितिशकुमारलाई विधानसभा निर्वाचनमा उनी, उनको पार्टी र महागठबन्धनले पाएको सफलताप्रति बधार्इ र आगामी कार्यकालको पूर्णसफलताको अग्रिम शुभ–कामना दिएका थिए ।
उनले सम्बादका क्रममा मूख्यतया विहार र अन्य प्रदेशसँग जोडिएका सीमामा भारतीय पक्षका कारण सिर्जित समस्या समाधानका लागि पहल गर्न पनि आग्रह गरेका थिए ।
बिहार विधानसभा निर्वाचनमा नितिश–लालु र कांग्रेसको गठबन्धनले नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको गठबन्धनलार्इ लज्जास्पद हार चखाएपछि त्यसको राजनीतिक असर केन्द्रसम्म पनि पुग्ने अनुमानकाबीच नितिशको यो धारणा आएको हो ।








