मोदीलाई अभिनन्दन गरौं

रामनाथ खनाल
समाचार टिप्पणी
भारतले लगाएको आर्थिक नाकाबन्दीका कारण मुलुक ४० दिनदेखी आक्रान्त बनेको छ । जनजीवन अस्तव्यस्त बनेको छ । इन्धन लगायत अत्यावश्यक बस्तु तथा सेवाको आपूर्ति ठप्प हुँदा मुलुकमा हाहाकार मच्चिएको छ । सहरी क्षेत्रमा मुस्किलले २० प्रतिशत गाडी गुडेका छन् भने लामो तथा छोटो दूरीका सवारी चढ्ने यात्रुहरूले त्यस्तै कष्ट बेहोर्न बाध्य भएका छन् । जोखिम मोलेरै भएपनि आफ्नो गन्तव्यमा पुगिरहेका छन् ।

रोजीरोटीको लागि विभिन्न पेशा व्यवसायमा आवद्ध सहरी क्षेत्रका मानिसहरू आफ्नो काम छोडेर ग्यास, मट्टितेल, डिजेल, पेट्रोल लगायत अत्यावश्यकीय चिजका लागि लामो लाइनमा बस्न बाध्य छन् । ग्यासको अभावमा सहरका चुल्होहरू बल्न छाडेका छन् भने बजारमा हाहाकार मच्चिएको छ ।त्यसकैको आडमा कालोबजारी गर्ने र सीमानाकाबाट ओसार पसार गरी अकुत कमाउन पल्किएकाहरूलाई यो महत्पूर्ण अवसर पनि भएको छ ।

मुलुकको आयात व्यवस्थामा भारतीय परनिर्भरताबाट सिर्जित यो समस्या छिट्टै समाधान हुने लक्षण देखिँदैन । इन्धन संकट टार्न नेपाल सरकारले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने तयारी गरेर सम्झौताको प्रक्रिया सुरू गरेता पनि त्यसले तत्कालै नागरिक समस्या समाधान गर्ने सम्भावना छैन । सरकारले कूल आवश्यकताको ३३ प्रतिशत पेट्रोलियम पदार्थ चीनबाट आयात गर्ने भनेर सम्झौता अगाडि बढाएको छ । र चीनले खरिद गरेर लैजान पनि भनिसकेको छ । तर, केरुङ्ग नाकासम्म पुग्ने बाटोको कठिनाईका कारण यथास्थितिमा इन्धन आयात निकै चुनौती र कष्टपूर्ण  देखिएको छ ।

इन्धन लगायतका अत्यावश्यकीय सेवा आयातमा भारतमा मात्रै भरपर्दा हुनसक्ने अप्ठ्याराको नजर अन्दाज गर्दै सरकारले विगत देखि गर्दै आएको लापरबाहीको प्रतिफल हो यो । अर्को भारतको नेपालप्रतिको दृष्टिकोण कस्तो छ ? र उसले नेपाललाई कुन नजरले हेर्छ भन्ने कुराको राम्रो दृष्टान्त पनि हो ।

अघिल्लो वर्ष प्रधानमन्त्रीमा निर्वाचित भएको केही समयपछि नेपाल भ्रमणमा आएका मोदीले युवादेखी बृद्धबृद्धासम्मको राम्रै मन जितेका थिए । त्यसबेलाको मोदीको व्यवहारबाट मानिसहरूको भारतबिरोधी मानसिकता र सोंचलाई पर हुत्याएको मात्र थिएन, मोदीको छवीलाई अझै उजिल्ल्याएको थियो । मोदीले व्यवस्थापिका संसद्मा गरेको भाषणबाट प्रभावित भएर उनको प्रशंसा गरेर नथाक्नेहरूको ठूलै जमात पनि तयार भइसकेको थियो ।

त्यती मात्र नभई संविधान निर्माणका लागि ‘ऋषी मन’ हुनुपर्ने भन्दै उनले नेपाली नेताहरूलाई संविधान निर्माणमा सवैको भावनाको प्रतिनिधित्व गर्न सुझाए । संविधानमा कमा र फूलस्टपको पनि अर्थ हुने र त्यसले राष्ट्र टुक्र्याउन सक्ने तर्फ सचेत रहन नेताहरूलाई उनले दिएको सल्लाह मनन योग्य पनि नभएको होइन ।

उनले नेपालको विकासका लागि भारत सधैं सँगै हिँड्न तयार रहेको भन्दै बहुसंख्यकको मन जिते । सम्बोधनको क्रममा नेपाली भाइहरू भोको रहँदा भारत कसरी टुलुटुलु हेरेर बस्न सक्छ भन्दै प्रश्न गरे र सहयोगको बचन समेत दिए ।

यसैगरी ‘पानी र जवानी पहाडमा रहन नसक्ने’ भन्दै आफ्नो कटु अभिप्सा प्रकट गर्दा पनि नेपाली नेता र संसद् सदस्यबाट परर्र ताली बज्ने र वाहवाह गर्ने अवस्था बन्यो । धेरैले सोचेका थिए, भारतीय जनता पार्टीसँगै मोदी एकाएक सत्तामा उदाएपछि भारतको पुरातनबादी नेपाल दृष्टिकोणमा कायाकल्प हुनेछ । भारतबाट नेपालले राम्रै सहयोग प्राप्त गर्ने छ । तर परिणाम देख्न एक वर्ष पनि कुर्नु परेन ।

संविधान निर्माणमा असन्तुष्टि जनाउँदै  र आफ्ना कुरा नसुनिदिएको रीस पोख्न भारतले नेपालमा युद्धको शैलीमा आर्थिक नाकाबन्दीको बाटो अपनाउँदै मोदीले आफूनो असली अनुहार छर्लङ्ग देखाए । नेपाली नागरिक भोको रहेको हेर्न नसक्ने बताउने मोदीले चरम संकट बेहोर्न बाध्य पार्ने शैलीमा नाकाबन्दी गर्न पुगे । र अरुलाई ऋषी मन बनाउन सुझाउने मोदीले आफ्नो कलुषित मनोकांक्षा नाकाबन्दी मार्फत राम्रैसँग छरपष्ट पारे ।

नेपाल– भारत सम्बन्धका उतार– चढावबारे अनभिज्ञ यो पुस्ताले भारतको असलीयत राम्रैसँग जान्ने मौका पाए । यो घटनाले बहुसंख्यक नेपालीहरुलाई भारतबिरोधी कित्तामा उभिन जवरजस्ती बाध्य पारेको छ । त्यस्तै भारतसँग विगतमा भएको बाणिज्य लगायत पारबहन सन्धी सम्झौता भंग गर्दै त्यसको विकल्प खोज्नका लागि भारत आफैंले मार्ग प्रशस्त गरिदिएको छ ।

यो नाकाबन्दीबाट विगतदेखि भारतबाट हेपिँदै आएका हामीलाई अन्य मुलुकबाट बस्तु आयातका लागि बाटो खुलेको मात्र छैन, उनीहरूसँग सम्बन्ध विस्तारका लागि मार्ग प्रशस्त पनि भएको छ । यसर्थ मोदी धन्यवादका विशेष पात्र भएका छन् ।  अर्को, ९८ प्रतिशत भन्दा बढी व्यापारघाटा व्यहोरिरहेका र बाणिज्य सन्धीमार्फत ठगिएका मात्र होइन नेपालको आन्तरिक मामलामा भारतबाट पटक पटक हस्तक्षेप बेहोरेका हामीलाई भारतसँग पर बस्ने यो उपयुक्त अवसर पनि हुनसक्छ । त्यस्तै हामीमा बढ्दै गएको परनिर्भरताको न्यूनिकरण र आन्तरिक स्रोत साधनको उपयोगका लागि पनि यो अर्को कोसे ढुंगा सावित हुन सक्छ ।

यस्तै चीनसँग दीर्धकालका लागि इन्धन सम्झौता  गर्ने र तेस्रो मुलुक भएर ग्यास लगायतका बस्तु आपूर्तिका लागि पनि यो नाकाबन्दीलाई सुअवसरको रुपमा उपयोग गर्न सकिन्छ । त्यसो भयो भने भारतको परनिर्भरताबाट हामीले बास्तबमै उन्मुक्ति पाउने छौं ।

‘ठेस लागेपछि दैलो देख्ने’ हाम्रो बानी हो । अतः भारतले लगाएको आर्थिक नाकाबन्दीबाट पाठ सिकेर यहाँको आन्तरिक स्रोत साधान परिचालन गर्न, परनिर्भरता अन्त्यका लागि विशेष योजना बनाउन, इन्धन लगायतका अत्यावश्यकीय चीजको कम खपत र बैकल्पिक उर्जा प्रवद्र्धनमा विशेष ध्यान पुर्याउन सक्ने हो भने हामीले फड्को मार्न सक्छौं । नाकाबन्दीले ठूलो पाठ पढाएको छ । मोदी साधक बनेका छन्, अभिनन्दन गरौं ।

सम्बन्धित शिर्षकहरु