६० वटा ट्यांकर तयारी अवस्थामा, १२ वटा शुक्रबार केरुङ जाँदै
काठमाडौं, चीनले केरुङमा पेट्रोल लिन नेपाली ट्यांकर पठाउन आग्रह गरेको छ । चीनको आग्रहअनुसार तेल लिन नेपाली १२ वटा ट्यांकर शुक्रबार केरुङतर्फ जाँदै छन् । चीनले १३ लाख लिटर पेट्रोल अनुदानमा दिन लागेको छ । सो तेल कहिले र कसरी नेपाल ल्याउने भन्नेबारे बुधबार नेपालस्थित चिनियाँ दूतातावासमा छलफल भएको थियो । दूतावासले अनुदानमध्येको सय टन (एक लाख लिटर) पेट्रोल लिन चीनको केरुङमा ट्यांकर पुर्याउन आग्रह गरेको छ, नयाँपत्रिका लेख्छ ।
सिएनपिसीले ल्हासासम्म पाइपलाइनबाट र त्यहाँबाट सिगात्सेसम्म ट्रेनमा हालेर नेपालका लागि पेट्रोल ल्याइदिनेछ । सिगात्सेबाट केरुङसम्म चिनियाँ ट्यांकरले तेल ल्याउनेछन् । केरुङमा चिनियाँ ट्यांकरबाट पम्पिङ गरी नेपाली ट्यांकरमा सोझै तेल खसालिने निगमका प्रवक्ता दीपक बरालले बताए।
चीनबाट तेल ओसार्न आयल निगमले १२ हजार लिटर क्षमताका ६० वटा ट्यांकर तयारी अवस्थामा राखेको निगमको थानकोट डिपो प्रमुख रविनकुमार शर्माले जानकारी दिए । ‘केरुङ–रसुवागढी नाका हुँदै चीनबाट पेट्रोल ल्याउन ४० ट्यांकर यसअघि नै तयार गरिसकेका थियौँ । बुधबार २० वटा ट्यांकर थप गरेका छौँ,’ शर्माले नयाँ पत्रिकासँग भने, ‘चीनले भन्नासाथ ती ट्यांकर केरुङ पठाउन सक्छौँ ।’
चीनबाट तेल ल्याउन आयल निगमलाई ट्यांकर जिम्मा लगाइसकेको ढुवानी व्यवसायीले जानकारी दिएका छन् । ट्यांकर ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले चीनबाट तेल ल्याउने प्रयोजनका लागि चालक र ट्यांकर नम्बरसहित विवरण निगमलाई उपलब्ध गराएको बताए ।
नेपालले चाइना नेसनल पेट्रोलियम कर्पोरेसन (सिएनपिसी)को सिगात्से डिपोबाट अहिले इन्धन ल्याउँदै छ । सिगात्सेबाट नेपालमा इन्धन ल्याउन तातोपानी नजिक पर्छ, तर सडक भत्किएकाले संभव छैन ।








