दशैंमा पनि मोर्चाको आन्दोलन यथावत, नाका ठप्प

imagesकाठमाडौँ, दशैं अवधिभर पनि मोर्चाको आन्दोलन यथावत रह्यो । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरूले दशैं मनाउँदै आन्दोलन गरिरहेको तराईका विभिन्न जिल्लामा रहेका हाम्रा सम्वाददाताहरू जानकारी दिएका छन् ।

आन्दोलन र नाकाबन्दीका कारण सबैभन्दा बढी असर तराई मधेसमै परेको छ । दुई महिना भन्दा लामो समय देखिको निरन्तरको बन्दबाट जनजीवन कष्टकर त बनेको छँदैछ करिव महिना दिनदेखिको नाकाको अवरोधका कारण उपभोग्य सामाग्रीको हाहाकार नै मच्चिएको छ ।

मोर्चाका कार्यकर्ताहरूले दशैंजस्तो महत्वपूर्ण पर्वमा पनि नाकामा अवरोध र बन्दका कार्यक्रम जारी राख्दा स्थानीयबासीहरू आक्रोशित बनेका छन् ।

उपभोग्यबस्तुहरू अभाव हुँदा उनीहरू सीमापारीबाट सामान खरिद गरेर ल्याउन बाध्य छन् भने मोर्चाको कार्यकर्ताले बाटैमा खोसिदिने हुन् कि भन्ने भय छ ।

मोर्चाका कार्यकर्ताले शुक्रबार लहानमा प्रदर्शन जारी राखे भने लहान पछिल्लो समय आन्दोलनको केन्द्र बन्न थालेको छ । संविधानमा असन्तुष्टि जनाउँदै अन्यत्र आन्दोलनको उभार उठिरहँदा लाहन भने शान्त थियो । तर, पछिल्लो समय अन्यत्र केही शान्त देखिएपनि लहान अशान्त बन्दै गइरहेको छ ।

बिहीबारबाट सरकारसँग मोर्चाको बार्ता सुरू भएसँगै तराईबासीमा केही उत्साह त सञ्चार भएको छ तर वार्ता परीणाममुखी हुने हो या होइन उनीहरूमा अन्यौल कायमै छ।

सम्बन्धित शिर्षकहरु