कात्तिक २ । काठमाडौँ, दक्षिणी छिमेकी भारतले तीन सातायता गरेको नाकाबन्दीले चरम इन्धन संकट बेहोरिरहेका बेला उत्तरी छिमेकी चीनले नेपालले औपचारिक रूपमा अनुरोध गरे सीमावर्ती तिब्बतको सिगात्सेबाट पेट्रोलियम पदार्थ आपूर्ति गराउन तयार रहेको बताएको आजको अन्नपूर्णपोष्ट दैनिकले लेखेको छ ।
एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग आइतबार भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले असल छिमेकीका नाताले नेपाललाई जस्तोसुकै संकटको घडीमा पनि सघाउन आफ्नो मुलुक तत्पर रहेको स्पष्ट पारेका हुन् । सिगात्सेमा रहेको पेट्रोल भण्डारण केन्द्रबाट वितरण हुने इन्धन नेपालतर्फ सहज रूपमा निर्यात गर्न सक्ने राजदूत ऊले बताएको खनाल निकट स्रोतले जानकारी दियो ।
‘नेपालको परराष्ट्र मन्त्रालयले लिखित रूपमा चीन सरकारलाई पत्राचार गर्नुपर्छ,’राजदूतलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सिगात्सेबाट केरुङ आउने इन्धन नेपाल सरकारले सहज रूपमा रसुवागढी हुँदै काठमाडौं भित्र्याउन सक्छ । यसमा हामी सघाउन तयार छौं ।’ एक दिनमा तिब्बतको ल्हासाबाट केरुङसम्म इन्धन ल्याइने गरेको राजदूतले बताएका थिए ।
खनालले दसैं मुखैमा आइसक्दा पनि भारतको नाकाबन्दी नहटेको र जनताले संकट भोगिरहेकाले चीनले नेपाललाई सहयोग गर्ने उपयुक्त अवसर रहेको बताएका थिए । अहिले अल्पकालीन रूपमा नेपाललाई इन्धन उपलब्ध गराइदिन र निकट भविष्यमा औपचारिक सम्झौता गरी पेट्रोलियम पाइपलाइनमा जान सकिने खनालको भनाइ थियो ।
भेटमा राजदूतले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता र द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता गरी व्यापारलाई सुदृढ बनाउने चीनको चाहना पनि सुनाएका थिए ।
उनले खनालको आग्रहबारे चिनियाँ नेतृत्वलाई अवगत गराउने बताए । खनालका विदेश मामिला सल्लाहकार मिलनराज तुलाधरले भेटका क्रममा नेपालको विद्यमान इन्धन संकट र नेपाल–चीनबीच कसरी व्यापार अभिवृद्धि गर्ने भन्नेबारे छलफल भएको जानकारी दिए । ‘इन्धन संकटबारे हाम्रो सरकारले स्पष्ट रूपमा आग्रह गरे चीन सहयोग गर्न तीव्र इच्छुक देखिन्छ,’ तुलाधरले भने ।
नेपाल र चीनबीचको दोस्रो ठूलो सीमा नाका रसुवागढीबाट चीनको केरुङ पुग्न २५ किलोमिटरमात्रै लाग्छ । रसुवागढीलाई अन्तर्राष्ट्रिय सीमा नाकाका रूपमा विस्तार गर्न चीन तयार रहेको चिनियाँ राजदूतले बताएका थिए । एक वर्षअघि रसुवागढी नाकालाई गतिशील बनाउने निर्णय दुई देशबीच भएको थियो ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीले चीनलाई तातोपानी र रसुवागढी नाका खुलाएर व्यापार सहज गरिदिन आग्रह गरिए पनि हालसम्म इन्धन आपूर्तिका लागि अनुरोध नगरिएको बताए । ‘सरकारले चीनलाई औपचारिक रूपमा इन्धन पठाइदिन भनेको छैन । परराष्ट्रमन्त्रीको भ्रमणमा समेत भारत इन्धन आपूर्ति गर्न तयार नभए चीनसँग यसबारे अनुरोध गर्न सकिन्छ,’ ती अधिकारीले भने ।
यसअघि गत शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका अधिकारीले नेपालको चाहनाअनुसार सहयोग दिन तयार रहेको बताएका थिए ।








