-एन्गस डेटन
स्कटल्यान्डमा आवश्यक परेका बखत प्रहरीको सहयोग लिनुपर्दछ भन्ने संस्कारमा म हुर्किएँ । १९ वर्षमा जब म संयुक्त राज्य अमेरिकामा पहिलोपटक घुम्न गएँ, नजिकको हुलाक कार्यालय जाने बाटो कता होला भनी सोध्दा न्यूयोर्कको टाइम्स स्क्वायरमा व्यस्त ट्राफिक प्रहरीको धाराप्रवाह अश्लील शब्दबाट अवाक भएँ । भ्रममा परेर मैले रोजगारदाताको महत्वपूर्ण कागजात फोहोर फाल्ने भाँडामा छाडिदिएँ जुन हेर्दा हुलाकी वस्तु राख्ने स्थान (मेलबक्स) जस्तो देखिन्थ्यो ।
युरोपेलीहरुले अमेरिकीहरुको भन्दा सरकारमाथि बढी सकारात्मक किसिमबाट व्यवहार गर्दछन् । तर, अमेरिकीहरुका लागि संघीय, राज्य र स्थानीय राजनीतिक नेताहरुको असफलता र अलोकप्रियता साधारण कुरा हो । तैपनि, अमेरिकीहरुका विभिन्न सरकारहरुले कर उठाउँछन् र बदलामा सेवा प्रदान गर्दछन् जसको अभावमा उनीहरुको जीवन सहज छैन ।
अमेरिकीहरुले अन्य धनी मुलुकका नागरिकहरुझैं कानुनी र नियामक प्रणाली, सार्वजनिक विद्यालयहरु, बुढ्यौलीको स्वास्थ्य सेवा र सुरक्षा, सडक, प्रतिरक्षा र कुटनीति, तथा औषधिजस्ता अनुसन्धानमा राज्यको ठूलो लगानीका बारेमा सहजै स्वीकार गरिरहेका छन् । निश्चितरुपमा, सबैजसो सेवाहरु चाहेजति राम्रा छैनन्, र हरेक नागरिकले त्यसलाई समान किसिमबाट स्वीकार गरेको पाइन्न, तर अधिकांश मानिसले कर तिरेका हुन्छन्, र त्यो पैसा खर्च भएको तरिका बारेमा कसैले बिमती राखेमा एक किसिमले सार्वजनिक बहस आरम्भ हुन्छ । र, आवधिक निर्वाचनहरुले त्यस्ता नीतिमा परिवर्तन ल्याउन मद्दत गर्दछ ।
यो सबै यति स्वाभाविक लाग्छ कि केही भन्नु नै कठिन छ । तर विश्व जनसंख्याको ठूलो हिस्सा यस्ता खबरदारीका कामबाट पनि टाढा छ ।
अफ्रिका र एसियाका धेरै देशमा त कर उठाउने र त्यसको सही प्रयोग गर्ने क्षमता असाध्यै कमजोर छ । गरिब मुलुकहरुमा सरकार र शासित वर्गबीचको सम्झौता लगभग शून्य छ, र धनी मुलुकमा पनि यो पूर्ण भने छैन । न्यूयोर्कका प्रहरी भलै अभद्र थिए (र सेवा प्रदान गर्ने कार्यमा व्यस्त भएर हुनसक्छ), विश्वका अधिकांश भागमा प्रहरीले नै आमजनतालाई शिकार बनाइरहेका पाइन्छन्, पैसाका लागि बर्बाद गरिरहेका हुन्छन् वा शक्तिको आडमा जनतालाई कष्ट दिइरहेका हुन्छन् ।
भारतजस्ता मध्य आय भएका ¬मुलुकहरुमा पनि सार्वजनिक विद्यालय र सार्वजनिक स्वास्थ्य क्लिनिकहरुमा आमरुपमा सेवा उपलब्ध हुँदैन । निजी क्षेत्रमा अभ्यासरत चिकित्सकहरुले बिरामीहरुलाई जे पनि दिन सक्छन् – सुई, नसासम्बन्धी सुई, र एन्टीबायोटिक, तर राज्यले त्यसलाई नियमन गर्दैन, र धेरै त्यस्ता चिकित्साकर्मीहरु यी कार्यमा पूर्णरुपमा अयोग्य रहेको पाइएको छ ।
विकासशील मुलुकहरुमा बालबालिकाहरुको साधारण रोगबाट मृत्यु भइरहेको छ किनभने उनीहरुको जन्म नै गलत स्थानमा भएको छ – असाधारण, निरुपाय रोगबाट होइन बाल्यकालीन साधारण बिरामीबाट जसको उपचारका बारेमा हामीलाई झण्डै एक शताब्दीदेखि थाहा छ । नियमित मातृ तथा बाल स्वास्थ्य सेवा प्रदान गर्न राज्य सक्षम नहुँदासम्म बाल मृत्यु रोकिने छाँट छैन ।
यसैगरी, सरकारको क्षमता, नियमन र परिपालनाले सही किसिमबाट कार्य नगर्दासम्म कुनै पनि व्यवसायले सहीरुपमा सञ्चालन हुन पाउँदैन । नागरिक अदालतले राम्रोसँग कार्य नगर्दासम्म नवीन पेसा व्यवसायले आफ्नो प्रतिफलमा दाबी गर्न पाउने कुनै प्रत्याभूति रहँदैन ।
राज्यको क्षमताको अभाव नै विश्वभर गरिबी र अभावको एउटा प्रमुख कारक हो । सक्रिय र जनसहभागिताका आधारमा कार्य गर्ने प्रभावकारी राज्य संयन्त्रको अभावमा विश्वव्यापी गरिबी समाप्त गर्न आवश्यक देखिएको वृद्धिको सम्भावना ज्यादै कम रहन्छ । दुर्भाग्यवस, हाल विश्वका धनी मुलुकहरुले नै यो विषयलाई अझ खराब अवस्थामा पु–याइरहेका छन् । वैदेशिक सहायता – धनी मुलुकहरुबाट गरिब मुलुकहरुमा सहयोग स्थानान्तरण – लाई विशेष श्रेय दिनु पर्दछ, खासगरी स्वास्थ्य सेवामा किनभने यही कारण धेरै मानिस अहिले ज्यूँदा छन् । तर वैदेशिक सहयोगले स्थानीय क्षमताको विकासलाई बेवास्ता गरेको कुरालाई पनि विचार गरिनु पर्दछ ।
यो सर्वाधिक स्वाभाविक रुपमा प्रत्यक्ष वैदेशिक सहायता प्राप्त गर्ने र बजेट खर्च (कूल बजेटको आधाभन्दा बढी) को तुलनामा वैदेशिक सहयोगको प्रवाह बढी भएका मुलुकहरु खासगरी अफ्रिकामा देखिन्छ । यस्ता सरकारहरुले आफ्ना नागरिकहरुसँग करार गर्नु आवश्यक छ । यदि उनीहरु कसैप्रति जवाफदेही हुन्छन् भने दाताप्रति हुन्छन् । सरकारलाई उपेक्षा गर्ने र गरिब जनतासम्म सोझै सहयोग पु–याउने कुरा के हो ? निश्चितरुपमा, तात्कालीक प्रभाव राम्रै हुने सम्भावना रहन्छ, खासगरी त्यस्ता मुलुकहरुमा जहाँ सरकार–सरकार बीच सम्पन्न सहायता सम्झौताको रकम वास्तावमै गरिब जनतासम्म कमै पुगेको हुन्छ । र, आश्चर्यजनक रुपमा यो सानै रकम हो – धनी विश्वका बुढ्यौली उमेरका हरेक व्यक्तिबाट हरेक दिन करिब १५ अमेरिकी सेन्ट, तर प्रति दिन एक डलरभन्दा कम आम्दानी गर्ने गरिबीको रेखामुनि रहेकाहरुलाई माथि ल्याउने यो एउटा प्रयास हो ।
तैपनि यो समाधान पक्कै होइन । गरिब जनतालाई आफ्नो जीवन राम्रोसँग जिउन सरकारको जरुरत पर्दछ, र माखेसाङ्लोबाट सरकारलाई बाहिर राख्दा केही समय सुधार भएको देखिए पनि अन्तर्यमा समस्या यथावत रहन्छन् । गरिब मुलुकहरुले स्वास्थ्य सेवाहरुलाई सधैं विदेशी रकमबाटै सञ्चालन गर्नु मुर्खता हुन्छ । त्यस्तो सहायताले गरिब मानिसका सर्वाधिक जरुरी रहेका कुरालाई बेवास्ता गर्दछ ः कुनै पनि प्रभावकारी सक्षम सरकारले नै आज र भोलिका लागि सोच्दछ ।
हामीले गर्न सक्ने एउटै कुरा छ, गरिब राष्ट्रलाई अझ गरिब हुनबाट जोगाउन सरकारमाथि त्यस्ता कृयाकलापबाट टाढा रहनेगरी दबाब दिने । वैदेशिक सहायतामा कमी ल्याउनु एउटा कुरा हो, सँगै हातहतियारको व्यापारलाई सीमित गर्ने, धनी मुलुकसँगको व्यापार र अनुदान नीतिमा सुधार गर्ने, सहायतासँग नजोडिएको प्राविधिक सल्लाह उपलब्ध गराउने, र राम्रा औषधि निर्माण गर्ने कार्यलाई मुख्य प्राथमिकता दिइनु पर्दछ । पहिल्यैदेखि कमजोर रहेका मुलुकहरुलाई अझ कमजोर बनाएर हामीले गरिब जनतालाई मद्दत गर्न सक्दैनौ ।
(एन्गस डेटन सन् २०१५ को अर्थशास्त्र विधामा नोबेल पुरस्कार प्राप्त ख्यातीप्राप्त व्यक्ति हुनुहुन्छ । उहाँ अमेरिकाको प्रतिष्ठित प्रिन्स्टन युनिभर्सिटीमा अर्थशास्त्र र अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक हुनुहुन्छ ।)








