असोज २७ ।काठमाडौँ, नेपाली कांग्रेसले महत्वपूर्ण पदहरू राष्ट्रपति, सभामुख, उपराष्ट्रपति र उपसभामुखमा पनि आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने भएको छ ।
बुधबार पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको कांग्रेस पदाधिकारीको बैठकले लोकतान्त्रिक पक्रियालाई सरिक हुँदै ती पदमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको हो ।
कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुका अनुसार कांग्रेसले सबै पदमा उम्मेद्वारी दिने निर्णय गरेको छ । बडुले भने, ‘यसका लागि हिजो प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा संसदमा सहयोग गर्ने सबै राजनीतिक दलहरू तथा अन्य दलहरूसँग पनि परामर्श भएको छ, केहीसँग छलफल गर्दै छौं । सबैसँग सल्लाहा गरेर पार्टी अघि बढ्ने निर्णय भएको छ।’
साथै पदाधिकारी बैठकको प्रधानमन्त्री निर्वाचनमा सहयोग गर्ने सबै राजनीतिक दल र समुदायलाई धन्यवाद दिएको छ।








