संविधान कार्यान्वयन
भूकम्पपछिको पुनर्निर्माण
पछिल्लो समयमा देखिएका समस्या समाधान
नाकाबन्दीको सहजीकरण
समृद्धितर्फको यात्रा
सबैसँग मिलेर अगाडि बढ्ने
असोज २५ । काठमाडौँ, नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै मन्त्रिपरिषद् विस्तार गरी शान्ति, सुव्यवस्थासँगै विभिन्न रचनात्मक कामका साथ मुलुकलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सबै पक्षलाई साथ लिएर अगाडि बढ्ने चाहना व्यक्त गर्दै ओलीले मुलुकमा देखिएका केही चुनौतीको सामना गरेर अगाडि बढ्ने पनि बताए । आजको अन्नपूर्णपोष्ट दैनिकले लेखेको छ ।
संविधानको कार्यान्वयन, भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण, विभिन्न ठाउँमा देखापरेका समस्या समाधान, नाकाबन्दीको कारण भइरहेको असहज स्थितिको सहजीकरण, विकास निर्माणलाई अगाडि बढाएर समृद्धितर्फको यात्रा तीव्रताका साथ अगाडि बढाउने, सबैसँग मिलेर सबैको साथ र समर्थन जुटाएर अगाडि बढ्ने विषयलाई आफूले प्राथमिकताको सूचीमा राखेको ओलीले बताए । ‘शान्ति सुव्यवस्थासँगै विभिन्न रचनात्मक कामका साथ मुलुकलाई अगाडि बढाउन मेरो ध्यान हुनेछ । सबैको सहयोगको अपेक्षा पनि गरेको छु ।
सबैलाई साथ लिएर जाने चाहन्छु,’ प्रधानमन्त्री निर्वाचित भएलगत्तै ओलीले पत्रकारसँग भने, ‘केही अप्ठ्यारा देखिएका छन् । ती धेरै महत्वपूर्ण छैनन् । तिनलाई पूरा गर्न सकिन्छ ।’ एमाओवादी र राप्रपा नेपालसहित १६ वटा पार्टीले गरेको समर्थनका आधारमा आफू निर्वाचित भएको उल्लेख गर्दै ओलीले भने, ‘यस जिम्मेवारीलाई मैले अवसर, सम्मान र चुनौतीका रूपमा लिएको छु ।’
ओलीसँग प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै राष्ट्रिय समस्या समाधान गर्न लागिपर्ने धारणा व्यक्त गरे । ‘नयाँ प्रधानमन्त्रीलाई हाम्रो सहयोग हुन्छ ।
मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकासका निम्ति नेपाली कांग्रेसले त्याग गरेको हो,’ कोइरालाले पत्रकारसँग भने, ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवादका निम्ति हामी उभिएका हौं । त्यसमा हामी सधैं प्रतिबद्ध रहन्छौं ।’ कोइरालाले १६ बुँदे सहमति हुँदा ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति नभएको दाबी दोहोर्याए । नाकाबन्दी, भूकम्प, तराईमधेससहित राष्ट्रिय समस्या समाधान गर्न आफूहरूले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने उपसभापति रामचन्द्र पौडेलले बताए ।
ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्तावक बनेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय समस्या समाधान गर्न कांग्रेससहित सबै शक्ति मिलेर अगाडि बढ्नुपर्ने बताए । ‘यस्तो परिस्थितिमा प्रमुख शक्तिहरू एक ठाउँमा उभिनुपर्छ भन्ने थियो । कांग्रेससमेत प्रमुख राजनीतिक शक्तिहरू एक ठाउँमा उभिएर सरकारमा बसी संविधान संशोधनलगायत ऐनकानुन परिमार्जन गर्नुपर्ने थियो । अन्तिम समयसम्म हामीले हाम्रा तर्फबाट त्यस विषयमा पहल र प्रयत्न गर्यौं ।
मलाई दुःख छ, हाम्रो तर्फबाट धेरै मेहनत भएर पनि कताकता यो विभाजनको स्थिति आयो,’ दाहालले पत्रकारसँग भने, ‘यतिबेला यो विभाजन नेपालको आवश्यकता होइन । यद्यपि लोकतान्त्रिक प्रक्रियामा निर्वाचन हुनु सामान्य प्रक्रिया हो । जितहार हुन्छ । यसलाई सामान्य रूपमा लिएर राष्ट्रिय मुद्दामा कांग्रेससहित सबै शक्तिहरू एक ठाउँमा उभिनुपर्छ ।
राष्ट्रिय मुद्दामा एकता कायम गरेर शान्ति, स्थिरता र विकासतिर लैजाने मेरो प्रतिज्ञा छ ।’ दाहालले राष्ट्रपति निर्वाचनका बारेमा नयाँ शिराबाट छलफल गरिने पनि बताए । ‘राष्ट्रपतिका विषयमा अहिले छलफल भएको छैन । प्रधानमन्त्री र राष्ट्रपतिमा हाम्रो दाबी छैन भनेर हामीले पहिलेदेखि भनेका छौं । तर अहिले नयाँ परिस्थिति बनेको छ । यो परिस्थितिमा नयाँ शिराबाट कुरा हुन्छ,’ दाहालले भने ।


![cWoIf cf]nLclejfbg Joj:yflksf ;+;baf6 ##* dt k|fKt u/L #*cf}F k|wfgdGqLdf ljho ePkl5 g]skf Pdfn]sf cWoIf s]kL zdf{ cf]nL clejfbg ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2015/10/1444565484908_Pro_Ktm_-KP-Oli-New-pm-5-300x200.jpg)






