नाकाबन्दी झन् कडा

गाडी नेपाल भित्रिएअसोज १८ । काठमाडौँ, भारतले सीमा नाकाको अवरोध सहज बनाउने आश्वासन दिए पनि इन्धन बोकेका गाडी पठाउन भने झन् कडाइ गरेको छ। आइतबार पूर्वी नाका काँकडभिट्टाबाट एउटा एलपी ग्यास ट्यांकर नेपाल भित्रिए पनि जोगबनी, रक्सौल, बेलहिया, रुपैडिहा र गौरीफन्टा नाकाबाट पेट्रोलियम पदार्थका कुनै पनि ट्यांकर नेपाल आएनन्।

भारतले अघोषित नाकाबन्दी हटाएको खबर सार्वजनिक भएपछि सहज आवागमन व्यवस्था मिलाउन आइतबार बिहानैदेखि विभिन्न नाकामा नेपाली भन्सार र सुरक्षा निकाय सक्रिय भएका थिए। तर, फाट्टफुट्ट मात्रै गाडी आएपछि उनीहरू निरास भए। भित्रिएका गाडीमा पनि इन्धन बोकेका खासै थिएनन्।

काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीले पूर्वी नाका काँकडभिट्टाबाट आइतबार ग्यासको एउटा बुलेट मात्र आएको जानकारी दिए।

नेपालमा नयाँ संविधान जारी भएसँगै असन्तुष्टि दर्साएको भारतले सीमामा लगाएको अघोषित नाकाबन्दीले नेपाली जनजीवन पूरै प्रभावित भएको छ। १० दिन लामो नाकाबन्दीले इन्धन अभाव चुलिएको छ। अधिकांश सवारीसाधन थन्किएका छन्। यस्तो अवस्थामा भारतीय राजदूतबाट शनिबार ‘सीमानाकामा देखिएको अवरोध सहज पारिने’ अभिव्यक्ति आएपछि आइतबारबाट आपूर्ति व्यवस्था सहज हुने आशा सबैतिर थियो। तर, सबैभन्दा अत्यावश्यकीय महŒवको इन्धन पठाउनै भारतीय पक्षले आनाकानी गरिरहेको छ।

‘हाम्रा ४० वटा ट्यांकर इन्डियन आयल कर्पोरेसनको सिलिगुढी डिपोमा तेल भर्न पालो कुरेर बसेका छन्,’ मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लय भण्डारीले आइतबार नागरिकसँग भने, ‘तर, तेल भर्न दिइरहेको छैन।’

काँकडभिट्टा नाकाबाट अन्य सामान भने भित्रिइरहेका छन्। आइतबार दिनभरिमा ६२ वटा मालवाहक साधन पानीट्यांकी हुँदै काँकडभिट्टा छिरेका छन्। ‘शनिबार ६९ र आइतबार ६२ वटा मालवाहक गाडी नेपाल भित्रेका छन्,’ मेची भन्सार प्रमुख भीमप्रसाद अधिकारीले भने।

नेपालमा अहिले नै नभई नहुने सामान भनेको इन्धन र ग्यास नै भएको मेची उद्योग वाणिज्य संघको भनाइ छ। संघका महासचिव वसन्त तिवारीले भने, ‘आलु, कोदो त नभए पनि हुने अवस्था छ तर चाहिने सामान आएको छैन।’

नाकामा ट्रान्सपोर्ट चालकको अवरोध

आयात–निर्यात नियमित गर्न नेपाल–भारत दुवैतिरका भन्सार अधिकारीले सहमति जनाए पनि भारतीय ट्रान्सपोर्टका चालकले ‘असुरक्षा’ को निहुँ झिक्दै सामान नाका कटाउन आनाकानी गरेका छन्। चालकले अटेरी गरेकै कारण आइतबार विराटनगर भन्सारबाट मार्बल, स्याउ र कोइलाका चारवटा कन्टेनरबाहेक थप सामान भित्रिएनन्।

नाका खुलाउन गरिएको पाँचबुँदे सहमतिमा ट्रान्सपोर्टका चालकलाई पूरै सुरक्षा दिने प्रतिबद्धता जनाइए पनि उनीहरू असुरक्षाकै निहुँ झिकेर सामान ल्याउन मानिरहेका छैनन्। पेट्रोलियम पदार्थ र ग्यास बोकेका गाडीका चालक ‘नभेटिएको’ भन्दै उनीहरूले अत्यावश्यक सामान आयातमा ढिलाइ गरिरहेको विराटनगर भन्सार कार्यालयका एक अधिकारीले बताए।

११ दिनयताको ‘अघोषित’ नाकाबन्दी खोल्ने भारतको संकेत आएलगत्तै जोगबनी नाकाका दुवैतर्फका सरकारी अधिकारीले आयात–निर्यात नियमित गर्न आइतबार अपराह्न पाँचबुँदे सहमति गरेका थिए। विराटनगर भन्सार कार्यालयमा छलफलपछि दुवै पक्षले पाँचबुँदे सहमतिमा हस्ताक्षर गरे। आयात–निर्यात नियमित हुने भएपछि नाकामा सुरक्षाकर्मी थपिएका थिए। सर्वसाधारण र रिक्साको बाक्लो ओहरदोहरलाई दुवैतर्फका सुरक्षाकर्मीले खुकुलो पारेका थिए। सामान बोकेका गाडीको आवागमनमा समस्या नहोस् भनेर नाकामा सुरक्षाकर्मी बढाइएको थियो।

सामान बोकेका गाडी ल्याउन विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेत आफैं जोगबनी भन्सार पुगेका थिए। सहमतिपछि सामान भित्रिने खबर पाएपछि मोरङका प्रजिअ गणेशराज कार्की विराटनगर भन्सार कार्यालय नै पुगे। तर, अचानक भरतीय ट्रान्सपोर्टका चालकले स्टार्ट भइसकेका गाडीको चाबी थुतेर सामान रोकेको खबर आयो। सहमतिपछि भारतीय जोगबनी भन्सारले मालवाहक गाडी जाँचको पुर्जा ट्रान्सपोर्टका चालकलाई थमाइदिए पनि उनीहरूले सामान ल्याउन नमानेका हुन्।

छलफलमा मोरङ प्रहरी प्रवक्ता डिएसपी प्रमोद खरेलले मालवाहक गाडी गन्तव्यसम्म पुर्या उन र अनलोड भएपछि नाकासम्म छाड्न प्रहरीले एस्कर्टिङ गर्ने बताइसकेका छन्। ट्रान्सपोर्ट गाडी र चालकको सुरक्षाका लागि विराटनगर भन्सार कार्यालयमा हेल्पडेस्क स्थापना गर्ने सहमतिसमेत भएको छ। ‘सामान बोकेका गाडी गन्तव्य पुर्या उन र नाकासम्म फर्काउन कुनै समस्या भए तत्कालै समाधानका लागि हेल्पडेस्क बनाइएको हो,’ छलफलमा सहभागी मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले नागरिकसँग भने, ‘गाडी वा चालकलाई सुरक्षासम्बन्धी कुनै समस्या आए एक घन्टामै समाधान दिने व्यवस्था मिलाएका छौं।’

छलफलमा जोगबनीका ट्रान्सपोर्ट एसोसिएसन अध्यक्ष पप्पु खान आफंै उपस्थित थिए। उनले लामो समयदेखि रोकिएका गाडीको विलम्ब–शुल्क तिर्नुपर्ने माग राखेका थिए। त्यसमा मोरङका उद्योगी–व्यवसायीले सहमति जनाए। जोगबनी भन्सार एजेन्ट संघ अध्यक्ष लक्ष्मण यादवले नाका खुलाउने सहमतिपछि सात दिनमै आयात–निर्यात सहज अवस्थामा आउने बताए।

दुवै देशका भन्सार, ट्रान्सपोर्ट, आयात–निर्यातकर्ताबीच नाका खुलाउने सहमति भए पनि विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटमा आन्दोलनरत संयुक्त मधेसी मोर्चाका नेता–कार्यकर्ताको अवरोध भने जारी नै छ। भन्सारबाट बजार प्रवेश गर्ने सडकमै पन्डाल टाँगेर धर्ना बसेका मोर्चा कार्यकर्ताले सामान आयातमा अवरोध गर्ने जनाएका छन्। ‘नाकाबन्दी हामीले गरेका हौं, जबर्जस्ती सामान ल्याउन खोजे स्थिति अप्रिय हुन सक्छ,’ संघीय समाजवादी फोरम मोरङका अध्यक्ष राजकुमार यादवले भने।

रक्सौलमा अवरोध यथावत

आन्दोलनरत मधेसकेन्द्रित दलहरूको सीमाकेन्द्रित धर्ना देखाउँदै रक्सौल नाकाबाट आइतबार पनि मालसामान र इन्धन भित्रिएनन्।

‘नाकाबन्दी भएको भए पो फिर्ता हुनु!’ एक जना भारतीय सुरक्षा अधिकारीले भने, ‘हामीले नियमित काम गरिरहेका छौं, अहिले त्यस्तो निर्देशन हामीलाई थाहा छैन।’ उनले आफूहरूका तर्फबाट आधिकारिक निर्देशनमा वा अन्य कारणले नाकामा कुनै अवरोध नगरिएको दाबी गरे।

‘आज पनि मैले रक्सौलस्थित भारतीय कस्टम प्रमुख रहेका असिस्टेन्ट कमिस्नर कमलेश कुमारसँग कुराकानी गरँे,’ वीरगन्ज भन्सार कार्यालय प्रमुख मित्रलाल रेग्मीले नागरिकसँग भने, ‘आफ्नो तर्फबाट कुनै व्यवधान नभएको र सीमामा जारी आन्दोलनकारीको धर्नाका कारण भन्सार कार्यालयमा काम गर्न नपाएको जवाफ आयो।’ सीमाबाट हुने व्यापारमा सहजीकरण गर्न सधैंजस्तो तयार रहेको भारतीय भन्सार अधिकृतले जवाफ दिएको पनि रेग्मीले बताए।

सीमामा आन्दोलनरत मोर्चाको धर्ना यथावत छ। गाउँगाउँबाट सहभागी थपिने जारी छ। ‘सहभागिता बढ्ने क्रम देखेर हामीले धर्नास्थललाई व्यवस्थित गरेका छौं,’ वीरगन्जको धर्नामा अगुवाइ गरिरहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘आन्दोलन सशक्त हुँदैछ। फिर्ता भएको छैन।’

आन्दोलनका कारण सीमापारि सयौं मालवाहक गाडी थन्किएका छन्। कच्चा पदार्थ र इन्धनको अभावमा कारखाना ठप्प छन्। खाना पकाउने एलपी ग्यास बोक्ने करिब साढे २ सय बुलेट सीमापारि रोकिएका छन्। डिजेल, पेट्रोल बोक्ने ६३ वटा नेपाली ट्यांकर पनि रक्सोलमा छन्।

बेलहियाबाट पेट्रोलियम पदार्थ भित्रिएन

बेलहिया नाकाबाट शनिबार डिजेलका छ र एलपी ग्यासका दुई ट्यांकर भित्रिए पनि आइतबार पेट्रोलियम पदार्थ बोकेका गाडी छिरेनन्। शुक्रबार र बिहीबार बेलहिया नाकाबाट अरू दिनको तुलनामा पेट्रोलियम पदार्थसहितका मालवाहक गाडी धेरै आएका थिए।

भारतीय सीमावर्ती क्षेत्रका सुरक्षा अधिकारीले नेपालमा मालबाहक गाडी सहज ढंगले आउने व्यवस्था मिलाउँदै जाने बताएका थिए। भैरहवा भन्सार कार्यालयमा भएको बैठकमा उनीहरूले नेपालको सुरक्षा अवस्थाप्रति आशंका हटेकाले अब समस्या नहुने बताएका थिए। उनीहरूको यो धारणाले नेपाली सुरक्षा अधिकारी उत्साहित थिए।

भैरहवा भन्सार कार्यालयमा भारतीय अधिकारीसँगको छलफलले सहज ढंगले आयात निर्यात गराउने निष्कर्ष निकालेपछि शनिबार भारतबाट पेट्रोलियम पदार्थसहितका मालवाहक धेरै गाडी आउने अपेक्षा नेपाली अधिकारीले गरेका थिए। शनिबार बिहानैदेखि धमाधम गाडी छिर्न थालेका थिए। दिउ”सोसम्म ६ वटा डिजेलका गाडी आएपछि सा”झसम्म यो संख्या बढ्न सक्ने अपेक्षा नेपाली अधिकारीको थियो। भारतीय सीमावर्ती अधिकारीसँग इन्धनलाई प्राथमिकता दिन अनुरोध गरेको र उनीहरूले सघाउनले प्रतिबद्धता जनाएकाले पनि धेरै गाडी आउने आशा गरिएको थियो। तर अपराह्नतिर गाडी आउन सुस्त भयो। आइतबार त झन् सहजै गाडी आएनन्।

भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रवीन्द्र प्याकुरेलका अनुसार दिउ”सो १ बजेसम्म ५५ गाडी नेपाल छिरेका थिए। १ बजेपछि आन्दोलनकारीले सीमा क्षेत्रमा प्रदर्शन गरेपछि उताबाट गाडी रोकिए। केही बेरको नाराबाजीपछि प्रहरीले आन्दोलनकारीलाई धपाएको थियो। पेट्रोलका तीन र एलपी ग्यासका छ गाडी भारतीय भन्सारमा जा”सपास गरेका छन्। ती गाडी रातिसम्म नेपाल छिर्न सक्ने भन्सार अधिकृत प्याकुरेलले जानकारी दिए।

नेपालगन्जमा कडाइ

नेपालगन्ज नाकाबाट आइतबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पेट्रोलियम पदार्थ बोकेका ट्यांकर तथा ग्यास बुलेट एउटै भित्रिन दिएनन्। इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु गिरीले पेट्रोलियम ट्यांकरभन्दा अन्य मालवाहक ट्रक र कन्टेनरलाई भारतीय पक्षले पहिलो प्राथमिकता दिएको बताए। उनका अनुसार आइतबार १६ वटा ट्रक तथा कन्टेनर नेपालगन्ज प्रवेश भएका छन्। ‘पेट्रोलियम पदार्थमाथि भारतको कडाइ अझै पनि यथावत नै रहेको देखियो,’ उनले भने, ‘हामीले सीमापारिका सुरक्षाकर्मीसँग यस विषयमा ध्यानाकर्षण गराउँदा पनि पेट्रोलियम ट्यांकरलाई पहिला छाड्न मानेनन्।’ भारतीय भूमिबाट प्रवेश भएका ट्रक र कन्टेनरमा आलु, सिमेन्ट, मार्बल, क्लिंकर छन्।

नेपालगन्ज नाकामा अवरोध कायमै रहेको नेपालगन्ज भन्सार कार्यालय प्रमुख राजेन्द्र हमालले बताए। ‘नाकाबन्दी खोल्ने भनेर हल्ला मात्र गरेको देखियो,’ उनले भने, ‘अरू दिनभन्दा आज त निकै कम गाडी सीमा प्रवेश भएका छन्।’

दैनिक एक करोडको हाराहारीमा राजस्व संकलन गर्ने भन्सार कार्यालयको राजस्व ह्वात्तै घटेको हमालले जानकारी दिए। अघोषित नाकाबन्दीपछि भन्सार कार्यालयले दैनिक १५ लाख हाराहारी मात्र राजस्व संकलन गरिरहेको उनले बताए।

एसएसबीले पेट्रोलियम ट्यांकर र ग्यास बुलेटका गाडी छाड्ने विषयमा आफ्नो निकायबाट कुनै निर्देशन नआएको जवाफ फर्काएको प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले जानकारी दिए। ‘पेट्रोलियम पदार्थ बोकेका ट्यांकर छाडिदिन अनुरोध गर्दा पनि उनीहरूले मानेनन्,’ लेखकले भने, ‘भारतीय पक्षले कुरा एउटा र काम अर्कै गरेको देखियो।’

धनगढीमा तेल आएन

बिहीबारयता धनगढी नाबाट तेल भित्रिएको छैन। बिहीबार दुई ट्यांकर तेल भित्रिएपछि तेल आयात ठप्प भएको नेेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढी प्रमुख शरद पौडेलले बताए। ‘२० वटा ट्यांकर पठाएका छौं तर हामीलाई तेल दिने भारतको मनथरा डिपोले लोड गरिदिएको छैन,’ उनले भने, ‘बिदाको दिन भनेर तेल नदिएको हुन सक्छ।’

यसअघि सामान्य अवस्था हुँदा बिदाको दिनबाहेक दैनिक २० ट्यांकर तेल सुदूरपश्चिम भित्रिने गरेको उनले बताए। भारीतय डिपाले चार दिनदेखि १० प्रतिशत ट्यांकर मात्र तेल दिइरहेको छ। पौडेलका अनुसार आइतबार तीन बुलेट ग्यास भित्रिएको छ।समाचार आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु