असोज १८ । काठमाडौँ, ईण्डियन आयल करपोरेसन (आईओसी)ले शनिबार साँझ नेपाललाई आवश्यकताअनुसार पेट्रोलियम पदार्थ दिने प्रतिबद्धता व्यक्त गरेर आइतबार भने झुक्याएको छ । प्रतिबद्धताअनुसार आईओसीले नेपाललाई पेट्रोलियम पदार्थ उपलव्ध गराएन ।
आइओसीका उच्च अधिकारीले शनिबार साँझ ६ बजे नेपाल आयल निगम (एनओसी) का कार्यकारी निर्देशक गोपाल खड्कालाई टेलिफोन गरी रक्सौल नाका बाहेक सिलगुडी, भैरहवा, विराटनगर, नेपालगञ्ज, बेतालपुर, कञ्चनपुरलगायतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न दिने प्रतिबद्धता व्यक्त गरेका थिए । खड्काका अनुसार आईओसीका अधिकारीले आइतबार भारतमा सार्वजनिक बिदा भएपनि डिपो खोलेर आवश्यकता अनुसार पेट्रेलियम पदार्थ दिने भन्दै ट्यांकर पठाइदिन नेपाली पक्षलाई आग्रह गरेका थिए ।
सोही अनुसार एनओसीले शनिबार राति नै सिलगुढी, रक्सौल र इलाहाबादस्थित आईओसीको डिपोमा एक सय आठवटा पेट्रोलियम ट्यांकर लोड गर्न पठाएको थियो । तर पठाइएका ट्यांकरको कुल क्षमताको १० प्रतिशत मात्र लोड गर्न आईओसी तयार भएपछि एनओसीले पेट्रोलियम पदार्थ ल्याउन अस्वीकार गरेको छ । समाचार आजका अन्नपूर्णपोष्ट दैनिकमा छ ।








