असोज १३ । काठमाडौँ, नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख चेङ ची जीले नेपालको हरेक अप्ठ्यारोमको सामना गर्न चीन साथमा रहेको बताएका छन् । भारतको अघोषित आर्थिक नाकबन्दीमा रहेको नेपाललाई ढाडस दिँदै उपप्रमुख चेङले अप्ठ्यारोमा नेपालसँग हातेमालो गरी अघि बढ्न चीन सदैव तयार रहेको बताएका हुन् ।
जनवादी गणतन्त्र चीनको ६६ औँ स्थापना दिवसका अवसरमा नेपाल मजदुर किसान पार्टीले मंगलबार भक्तपुरमा आयोजना गरेको प्रवचन कार्यक्रममा उनले भने, ‘नेपालको हरेक अप्ठ्यारोको सामना गर्न चीन साथमा छ । यसकालागि हातेमालो गरी अघि बढ्ने चीनको नीति नै छ ।’
उनले वैशाख १२ को भूकम्पपछि पनि चीनले नेपाललाई हरेक तहबाट सहयोग गरेको स्मरण गर्दै अहिलेको अप्ठ्यारोमा पनि चीनको साथ र सहयोग रहने स्पष्ट पारे ।
‘नेपालले संयुक्त राष्ट्रसंघमा निरन्तर गर्दै आएको समर्थन र एक चीन नीतिप्रति नेपालले एक्यबद्धता र प्रतिबद्धता जनाएर गुण गर्दै आएको छ,’ उपप्रमुख चेङले भने, ‘अब उक्त गुणको बदला तिर्ने समय आएको छ ।’
उनले ठूलो–सानो नभनी नेपालसँग समानताको आधारमा आद र सम्मान गर्दै आएको बताए । समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।








